अनलाइनबाटै यसरी बुझाउनुहोस्, भ्याट विवरण

खबरशाला संवाददाता  |  भदौ २१, २०७७

काठमाडौं । मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाताले आफ्नो खरिद बिक्री र त्यसको मूल्य अभिवृद्धि कर सम्बन्धी हिसाब उल्लेख गरी तोकिएको कर कार्यालयमा विवरण पेश गर्नुपर्छ ।

भ्याट विवरण स्वयम् कार्यालयमा उपस्थित भई कर अधिकृतसमक्ष पेश गरी भेरिफाई गराउन सकिन्छ । आन्तरिक राजस्व कार्यालय वा करदाता सेवा कार्यालय नभएका जिल्लाका करदाताले सम्बन्धित जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा भ्याट बुझाउन सक्ने व्यवस्था छ ।

त्यसैगरी हुलाकमार्फत् रजिस्ट्री गरी पठाएर वा इन्टरनेटबाट समेत भ्याट विवण इन्ट्री गरी भेरिफाई गर्न सकिन्छ । यी विभिन्न तरिकाले भन्दा इन्टरनेटबाट भ्याट विवरण गर्ने तरिका बढी प्रभावकारी छ ।

भ्याट विवरण सकेसम्म करदाता आफैंले बुझाउने गर्नुपर्छ । कारणवश आफूले बुझाउन सक्ने अवस्था नभएमा अधिकार प्राप्त प्रतिनिधिमार्फत् बुझाउन सकिन्छ । इन्टरनेटबाट भ्याट विवरण बुझाउँदा लागत र समय समेत बचत हुन्छ ।

विद्युतीय माध्यमबाट भ्याट विवरण पेश गर्ने प्रक्रिया

वेब ब्राउजर प्रयोग गरी www.ird.gov.np पेज लोड गर्नुहाेस् ।

हेम पेजमा भएको ‘ट्याक्स पोर्टल’मा क्लिक गर्नुहोस् ।

त्यसपछि प्राप्त हुने स्क्रीनमा भ्याट फोल्डरको प्लस (+) चिन्हमा क्लिक गर्नुहाेस् ।

त्यसपछि ‘भ्याट रिटर्न इन्ट्री मेनु’मा क्लिक गर्नुहाेस् ।

सब्मिशन नम्बर लिने फारममा आवश्यकता अनुसारको बक्समा प्रयोगकर्ताको नाम अर्थात् युजरनेम, पासवर्ड, स्थायी लेखा नम्बर, इमेल ठेगाना र सम्पर्क नम्बर टाइप गरी ‘रजिस्टर’ बटनमा क्लिक गर्नुहोस् ।

सम्बिशन नम्बर प्राप्त गरेपछि उक्त सम्बिसन नम्बर आफूले राखेको युजरनेम तथा पासवर्ड टिपेर राख्नुहोस् । पछि पुनः विवरण खोल्नुपरेमा उक्त विवरण आवश्यक हुन्छ ।

त्यसपछि ‘प्रोसिड’मा क्लिक गर्नुहोस् । अब भ्याट ईन्फर्मेशन फर्म खुल्छ ।

सो फारममा आवश्यकता अनुसार वर्ष, अवधि आदि छनौट गर्नुहोस् ।

खरिद बिक्री खाताको आधारमा कारोबार र भ्याटका अंकको साथै फारममा भर्नुपर्ने सम्पूर्ण विवरणहरु समावेश गरी विवरणलाई सेभ गर्न ‘सेभ’ बटनमा क्लिक गर्नुहोस् ।

यसरी सेभ गरिएको विवरणमा भरेका कुराहरु सब्मिट नगरेसम्म परिवर्तन र थपघट गर्न सकिन्छ ।

यदि भरेको विवरणमा केही हेरफेर वा थप गर्नुपर्ने भएमा सुरुबाट भ्याट फोल्डरको प्लस (+) चिन्हमा क्लिक गरी ‘भ्याट रिटर्न लगईन मेनु’मा गई सब्मिशन नम्बर लिँदा राखेको युजरनेम र पासवर्ड टाइप गरी ‘लगईन’ बटनमा क्लिक गरी खुलेको फारममा आवश्यकता अनुसार हेरफेर र थप गरी विवरणलाई पूर्ण बनाउनुहाेस् ।

आफूले उल्लेख गरेका विवरण सबै रुजु गरी ठीक भएको यकिन भएमा फारमको अन्त्यमा भएको आफूले पेश गरेको विवरण सत्य र पुरा भएको प्रमाणित गर्दछु भन्ने स्वघोषणामा क्लिक गरी त्यसपछि ‘सबमिट’ बटनमा क्लिक गरी विवरण सबमिट जानकारी प्राप्त गर्नुहोस् ।

यसरी सबमिट भइसकेपछि प्रिन्ट बटनमा क्लिक गरी विवरण प्रिन्ट गरेर सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा गएर विवरण भेरिफाई गर्न सक्नुहुन्छ ।

तपाईंले पेश गर्न चाहनुभएको विवरण भेरिफाई नभएसम्म विवरण पेश भएको मान्यता नहुने भएकाले आफूले पेश गरेको विवरण तोकिएको म्यादभित्रै सम्बन्धित कार्यालयमा गएर वा सेल्फ भेरिफिकेशन पासवर्डको माध्यमबाट भेरिफाई गर्नुपर्ने हुन्छ ।

विवरण तथा कर दाखिला सम्बन्धी अझै जानकारी लिन चाहनुहुन्छ भने यहाँ क्लिक गर्नुहोस् ।

प्रतिक्रिया दिनुहोस