गुहारखोला दोहनको चरम रुप : रातभरी डम्पिङ्ग, दिनभरी विक्री

खबरशाला संवाददाता  |  भदौ १, २०७७


तुलसीपुर । सरकारले नदीजन्य पदार्थको टेण्डर नखोल्दै खोलाको दोहन सुरु भएको छ । तुलसीपुर उपमहानगरपालिकाका गुहारखोलासंग जोडिएका तुलसीपुर बजार क्षेत्रदेखि दक्षिण तिरका विभिन्न स्थानमा तस्करहरुले रातभर खोला दोहन गरेर गिट्टी र बालुवा उत्खनन् गरेर डम्पिङ्ग गरेको पाइएको छ ।

‘रातभर सुत्न सकिने अवस्था छैन स्थानीय प्रहरीलाई फोन गर्दा उल्टै तस्करको फोन आउँछ’ वडा नम्वर १२का एक स्थानीयले वताए ।


उनले खोला आसपासका प्रहरी चौकीको मिलोमतोमा तस्करी गरिएको आरोप समेत लगाए । ‘हामीले केयौपटक प्रहरीलाई भन्यौ तर रातभर गाडी चल्न र चोरी हुन वन्द भएन ’ उनले भने ।


यसैबिच तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को हरिपौरीमा लुकाएर डम्पिङ्ग गरिएको अवस्थामा बालुवा र ढुँगा उपमहानगरपालिकाले नियन्त्रणमा लिएको छ । डम्पिङ्ग गरेर राखिएको अवस्थामा उपमहानगरपालिकाको टोलिले सो फेला पारेको थियो । फेला पारेको बालुवा र ढुँगा उपमहानगरपालिकाले तुलसीपुर बहुप्राविधिक शिक्षालयमा स्टोर गरेको छ ।


अवैध तवरले राखिएको नदीजन्य पदार्थ नियन्त्रणमा लिँदा तस्करहरुले केही अवरोध समेत सृजना गरेका थिए । उनीहरुले खुलेआम तस्कर गर्न पाउनुपर्ने भन्दै नगरप्रमुख पाण्डेलाई अभद्र व्यवहार गरेका थिए । नगरप्रमुख पाण्डेले भने तस्कर गर्ने कसैलाई पनि नछाड्ने जानकारी गराएका थिए । ‘गलत काम गर्ने छुट कसैलाई पनि दिइने छैन’ उनले डम्पिङ गरिएकाे सबै ठाउँबाट उठाइने पनि जानकारी दिए ।


नदीजन्य पदार्थ तस्करीमा नेपाली काँग्रेस र नेकपाका युवा नेताहरुको संलग्नता रहेको पाइएको छ । ‘सबैको छानबीन गरेर कारबाही प्रक्रिया अगाडी वढाइनेछ’ नगरप्रमुख पाण्डेले भने । अनुगमनका क्रममा वडा नम्बर १२ का अध्यक्ष सुर्यबहादुर डाँगी , वडा नम्बर १० का अध्यक्ष कुमार लामिछाने र वडा नम्बर ११ का वडाध्यक्ष चित्रबहादुर वलीकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस