काठमाडौं उपत्यकामा २४ भदौसम्म निषेधाज्ञा

खबरशाला संवाददाता  |  भदौ १७, २०७७

तुलसीपुर । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ। तर, योपटकको निषेधाज्ञाको स्वरूपमा केही परिवर्तन हुनेछ।

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले निषेधाज्ञा एक साता बढाएर २४ भदाै राति १२ बजेसम्म जारी राख्ने निर्णय गरेको हो।

केही खुकुलो हुनेगरी निषेधाज्ञाको स्वरुप फेर्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले हिमालखबरसँग बताए। यसबारे केहीबेरमा औपचारिक सूचना सार्वजनिक गरिने उनले बताए। 

योपटकको निषेधाज्ञा केही सहज पारिने भएको छ। भन्सार छुट भएर आएका मालवाहक सवारीलाई उपत्यकामा प्रवेश गर्न दिने, टेक अवे, स्टार्ट अप र होम डेलिभरी सेवा स्वास्थ्य मापदण्ड पालना गरेर सञ्चालन गर्न दिने र खाद्यान्य पसलहरू बिहान ११ बजेसम्म सञ्चालन गर्न दिइने भएको छ। 

यसअघि टेक अवे, स्टार्ट अप र होम डेलिभरी सेवा सञ्चालनमा रोक लगाइएको थियो भने खाद्यान्न पसलहरू बिहान ९ बजेसम्म खोल्न दिइएको थियो। उपत्यका प्रवेश गर्ने सवारीमा कडाई गरिएको थियो। 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार विकास निर्माणसँग सम्बन्धित सामग्री बिक्रीवितरण गर्ने पसललाई पनि निश्चित समय तोकेर खोल्ने दिने निर्णय भएको छ। 

काठमाडौं उपत्यकाका स्थानीय तहका प्रमुखहरूले आजै मात्र निषेधाज्ञालाई थप एक साता कडाई गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई सुझाव दिएका थिए।

उनीहरूले उनले अहिले बिहान पसल खोल्न दिँदा भीडभाड बढेको र त्यसले झन् संक्रमणको जोखिम बढाएको भन्दै यसमा पनि कडाई गर्न भनेका थिए। 

काठमाडौं उपत्यकामा ३ भदौ रातिदेखि निषेधाज्ञा जारी छ। कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गरिएको थियो। 

यद्यपि, उपत्यकामा संक्रमण भने घटेको छैन। पछिल्लो २४ घण्टामा काठमाडौंमा ३५० जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जना कोरोना संक्रमित थपिएका छन्। 

प्रतिक्रिया दिनुहोस