बच्चालाई काेराेनाबाट यसरी जाेगाउनुहाेस्

खबरशाला संवाददाता  |  भदौ १६, २०७७

जतिजति कोरोना संक्रमण फैलँदै गइरहेको छ, उतिउति यसबाट बच्ने उपायको खोज पनि वैज्ञानिकहरुले गरिरहेका छन्। मास्क, स्यानिटाइजर, हातधुने, नुहाउनेलगायतका कार्यको सही उपयोग गर्नेबारे पनि विशेषज्ञहरुले सुझाउँदै आइरहेका छन्।

कतिपय मानिसहरु अन्य व्यक्तिको सम्पर्कमा पुग्दासाथ अत्यधिक स्यानिटाइजर प्रयोग गरिहाल्छन्। कोहीकोही त केहिछिन बाहिर गएर आउँदासाथ नुहाउने र कपडा फेर्ने पनि गर्छन्। आफ्ना बच्चाहरु बाहिर खेल्न गएर फर्केपछि स्यानिटाइजर लगाइदिने वा नुहाइदिने काम गरिन्छ। केही सबै आवश्यक छन् त ? कि हामी अलि बढी नै त्रसित त भइरहेका छैनौं ? यी प्रश्नहरुको जवाफ खोज्नु आवश्यक छ। विशेषगरी यो महामारीको चपेटाबाट बच्चालाई जोगाउनु जरुरी छ।

पछिल्लो समय गरिएको एक अनुसन्धानले बढीमात्रामा स्यानिटाइजरको प्रयोग हानिकारक हुने देखाएको छ। त्यसमा पनि बच्चाको हात र अन्य अंगमा स्यानिटाइजर धेरै प्रयोग गर्दा प्रतिकूल असर पर्न जाने अनुसन्धानकर्ताले बताएका छन्। बच्चाहरुको छाला कमलो हुन्छ, त्यसमा कडा स्यानिटाइजर पटकपटक दल्दा खुइलिने वा अन्य असर गर्न सक्छ।

बच्चालाई स्यानिटाइजर प्रयोग गर्न दिने कि नदिने र दिने भए कति मात्रामा दिने ? सकेसम्म बच्चालाई घरमै राख्नु उपयुक्त हुने विशेषज्ञहरु बतउँछन्। बाहिर गएर कुनै अपरिचित वस्तु छोएको छ भने कमभन्दा कममात्रामा स्यानिटाइजर लगाउनुपर्छ। बच्चालाई आफैं स्यानिटाइजर प्रयोग गर्न नदिई अभिभावकले निगरानी गर्नुपर्छ। बच्चालाई स्यानिटाइजर लगाउँदासाथ कुनै चिज खान दिनु वा अन्य वस्तु छुन दिने गर्नु हुन्न। स्यानिटाइजर दलको हात मुख, नाक वा आँखामा नलैजान भन्नुपर्छ।

कोरोना भाइरसले हरेक व्यक्तिमा एकैखालको असर गर्दैन। कतिपय मानिसमा संक्रमण हुँदा पनि कुनै असर परेको देखिँदैन। यो व्यक्तिको इम्युनिटीमा भर पर्छ।

कतिपय देशले अहिले विद्यालयमा पढाइ नियमित गरेका छन्। विद्यालय जाने बच्चाका बारेमा विशेष ध्यान दिनुपर्ने विशेषज्ञहरु बताउँछन्। बच्चालाई मास्क लगाइदिने, हात धोइदिने, सामाजिक दूरीका बारेमा सिकाउने काम अभिभावकले गर्नुपर्छ।

कोरोनाको डर छ, त्यसैले मानिसहरु कतै बाहिर गएर फर्केपछि नुहाउने र कपडा फेर्नेसम्म पनि गर्छन्। विशेषज्ञहरुका अनुसार कतै गएर आउँदासाथ नुहाउनु र सबै कपडा फेरिहाल्नु आवश्यक छैन। तर सुरक्षाका लागि बाहिर गएर फर्केपछि मन तातो पानीले हातगोडा र मुख धुनु राम्रो मानिन्छ। अलि धेरै नै मानिसको सम्पर्क वा भीडमा गएर आएको छ भने कपडा फेर्नु ठीक हुन्छ। बच्चालाई खोक्दा र हाच्छ्युँ गर्दा रुमाल अथवा टिस्यु पेपरले नाकमुख छोप्न सिकाउनुपर्छ।

बच्चाका लागि के गर्दा उचित ?

बाहिरी मानिसको सम्पर्कमा जान नदिने

बाहिरका खानेकुरा खान नदिने

हरिया सागपात, ड्राईफ्रुट्स, दुग्धजन्य पदार्थ, ताजा फलफूल खान दिने

समयसमयमा मिश्री हालेको तातो पानी पिउन दिने

बाहिर पठाउनै परेमा मास्क, पन्जा, स्यानिटाइजर साथमा दिइपठाउने

 घर फर्केपछि हातगोडा र मुख धुने र कपडा फेरिदिने

सकेसम्म घरबाहिर जान नदिने

(एजेन्सीको सहयोगमा)

प्रतिक्रिया दिनुहोस