अस्पताल डुल्दाडुल्दै चितवनमा तीन सङ्क्रमितको मृत्यु

रासस  |  भदौ १६, २०७७

तुलसीपुर । चितवनमा अस्पताल चहार्दै भरतपुर अस्पताल पुगेका तीन कोरोनाभाइरस सङ्क्रमितको सोमबार मृत्यु भएको छ। जिल्लाका मेडिकल कलेज र अन्य अस्पतालले सघन उपचार कक्ष (आईसीयु) अभाव भएको र पीसीआर परीक्षण गर्नुपर्ने भन्दै अन्तिम अवस्थामा सरकारी अस्पताल पठाएका उनीहरुको अस्पताल पुगेको केही समयमै मृत्यु भएको हो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार मृत्युपछि स्वाब सङ्कलन गरिएका उनीहरु तीनै जनामा कोरोना सङ्क्रमण देखिएको छ। परीक्षणको नतिजा राति अबेर आएको थियो। भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगन्नाथ तिवारीका अनुसार मृत्यु भएका तीनै जनामा कडा निमोनिया देखिएको थियो।

बिहान ७ बजे अस्पताल ल्याइपुर्याएकी खैरहनी नगरपालिका–१३ की ५५ वर्षीया महिलाको दिउँसो १ बजे आकस्मिक कक्षमै मृत्यु भएको थियो। भरतपुरका दुवै मेडिकल कलेज पुर्याए पनि भर्ना नलिएपछि ती महिलालाई भरतपुर अस्पताल ल्याइएको उनका आफन्तले बताएको तिवारीले जानकारी दिए।

त्यस्तै भरतपुर–११ का ६५ वर्षीय पुरुषको चितवन अस्पतालमा एक्सरे गरेपछि भरतपुर अस्पताल पठाइएको थियो। दिउँसो २ः३० बजे भरतपुर अस्पतालको आकस्मिक कक्षमा आइपुगेका उनको ३ बजे मृत्यु भएको तिवारीले बताए।

भरतपुर–११ कै अर्का एक १८ वर्षकी युवतीलाई सबै परीक्षणपछि नारायणी सामुदायिक अस्पतालले भरतपुर अस्पताल पठाएको थियो। तिवारीका अनुसार दिउँसो १ बजेतिर भरतपुर अस्पताल ल्याएकामा उनको पनि ३ बजे मृत्यु भएको हो।

गम्भीर बिरामीलाई सामुदायिक अस्पतालमा सिटिस्क्यानदेखि सबै परीक्षण गरेपछि आईसीयु खाली नभएको भन्दै अन्त्यै लैजान भनिएको थियो। त्यसपछि बिरामीका आफन्तले मेकिडल कलेज लगेका थिए। त्यहाँ पनि आईसीयु नभएको भन्दै फिर्ता गरेपछि सरकारी अस्पताल लगिएको थियो।

भरतपुर अस्पतालका २० वटा आईसीयु सबै बिरामीले भरिएको छ। आइतबार राति पनि एक जना बिरामीलाई यहाँका अस्पताल डुलाउँदा डुलाउँदै कसैले भर्ना नलिएपछि बिहान मृत्यु भएको थियो। चिकित्सक सङ्घ चितवनका पूर्वअध्यक्ष प्रा डा कृष्ण पौडेल अहिले अस्पतालहरुले भर्ना नलिँदा बिरामीले उपचार नपाएको बताए।

चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा हरिशचन्द्र न्यौपाने बिरामी आकस्मिक कक्षमा आएपछि समन्वय गरेर नपठाउँदा समस्या भएको बताए। आफूले कलेजको खर्चमा एप तयार गरिदिने बताएको भन्दै उनले त्यसमा शय्या खालि भए÷नभएको हेरेर एक अस्पतालबाट अर्कोमा पठाएमा समस्या नहुने उनको भनाइ छ।

भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारी सिफारिसदेखि उपचारसम्ममा समस्या भएको स्वीकार गर्छन्। सरकारी संयन्त्रले सरकारी अस्पतालमा बिरामी पठाउनुपर्ने भन्दै बिरामी बोक्ने एम्बुलेन्सले आईसीयु र भेन्टिलेटर भन्दै हिँड्दा समस्या उत्पन्न भएको उनको बुझाइ छ।

जिल्ला प्रशासन कार्यालय चितवनले बिरामीले उपचार नपाउने गुनासो बढेपछि सोमबार सूचना जारी गरेको छ। प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अस्पतालले बिरामी प्रेषण गर्दा पठाउन लागिएको अस्पतालमा शय्या खाली भए नभएको यकिन गरेर मात्र पठाउनुपर्ने, आईसीयु खाली नभएको अवस्थामा बिरामी आकस्मिक कक्षमा भर्ना गरेर उपचार  प्रक्रिया शुरु गरेर मात्र अन्यत्र पठाउनुपर्ने भएमा सम्बन्धित अस्पतालले नै समन्वय गर्नुपर्ने बताए।

प्रशासनले सूचनामा एम्बुलेन्स चालकले व्यक्तिगत स्वार्थका लागि अस्पतालहरु घुमाएमा कारवाही गर्ने, सबै अस्पतालको सघन उपचार कक्ष र भेन्टिलेटर भरिएको र खाली रहेको सङ्ख्या दैनिकरूपमा बेलुका ५ बजे सार्वजनिक गरी जिल्ला प्रशासन पठाउनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस