काेराेनाले पुरा भएन राजस्व लक्ष्य

खबरशाला संवाददाता  |  भदौ १३, २०७७

तुलसीपुर, १३ भदौ । आन्तरिक राजश्व कार्यालय दाङले २ अर्ब ४५ करोड ८८ लाख २९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कोरोनाको कहरबीच राजश्व कार्यालयले विभिन्न शीर्षकबाट ८१.८८ प्रतिशत अर्थात २ अर्ब ४५ करोड बढी राजश्व संकलन गरेको कर अधिकृत लक्ष्मणमान श्रेष्ठले जानकारी दिए ।

कार्यालयले आर्थिक बर्ष २०७६÷७७ मा ३ अर्ब ३० लाख ५४ हजार राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । जो लक्ष्यभन्दा ५४ करोड ४२ लाख कम राजश्व संकलन भएको हो । कोरोनासँगै लकडाउन तथा कर असुलीको लक्ष्य बढी भएका कारण लक्ष्यमा पुग्न नसकेको पनि आर्थिक बर्ष २०७५÷७६ को भन्दा राजश्व संकलन बढी भएको श्रेष्ठले जानकारी दिए ।

आर्थिक बर्ष २०७५ ÷७६ भन्दा कोरोनाको कहरसँगै कार्यालयले ३१ करोड ७३ लाख ४६ हजार बढी राजश्व संकलन गरेको उनले बताए । कार्यालले सबैभन्दा बढी आयकर शीर्षकबाट राजश्व असुली गरेको छ । सबैभन्दा कम स्वास्थ्य सेवा करबाट उठेको छ । आयकरबाट १ अर्ब ८४ करोड ९ लाख ९७ हजार रुपैयाँ र स्वास्थ्य सेवा करबाट २५ हजार रुपैयाँ राजश्व उठाएको छ । त्यस्तै मूल्य अभिवृद्धि करबाट ९६ करोड ९१ लाख ६४ हजार राजश्व संकलन गरेको छ । यसमा लक्ष्य भन्दा बढी कर असुली गरेको हो ।

त्यस्तै अन्तः शुल्कबाट ३० करोड ७६ लाख ५९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालयले व्याज करमा ३ करोड ७१ लाख ६८ लाख, घरबहाल करमा ५ करोड ९२ लाख ८४ हजार र शिक्षा करमा ५ लाख ३१ हजार रुपैयाँ राजश्व संकलन गरेको कार्यालयले जनाएको छ । ‘केही प्रतिशत कोरोनाको कारणले पनि होला त्योमात्र होइन लक्ष्य पनि बढी लिएकाले लक्ष्य अनुसार कर असुुली भएन आर्थिक बर्ष २०७५÷७६ भन्दा गएको आर्थिक बर्षमा कर भने धेरै उठाउन सफल भएका छौ’, कर अधिकृत श्रेष्ठले भने ।

सल्यान र प्यूठानमा सेवा कार्यालय सञ्चालन

यसैबीच आन्तरिक राजश्व कार्यालय दाङ तुलसीपुरले सल्यान र प्यूठानमा सेवा कार्यालय यस आर्थिक बर्षदेखि सञ्चालनमा ल्याएको छ ।

करदाताहरुको सहजताका लागि सल्यान–रुकुमका जनतालाई सहजताको लागि सल्यानको श्रीनगरमा र रोल्पा र प्यूठानका करदाताहरुको सहजताको लागि प्यूठानको चकचकेमा सेवा कार्यालय साउन महिनादेखि सञ्चालनमा ल्याएको कर अधिकृत श्रेष्ठले जानकारी दिए ।

योसँगै अब सानो कामले पनि करदाताहरु तुलसीपुरसम्म आउनुपर्ने बाध्यता भने टरेको छ । यसले गर्दा तुलसीपुरमा हुने भीडभाड पनि कम भएको छ । सो सेवा कार्यालयबाट अडिटर अनुसन्धानबाहेक अन्य सेवाहरु त्यहीबाट लिन पाउने छन् । एक जना कर अधिकृतसहितका कर्मचारी राखेर सेवा कार्यालय सञ्चालन गरेको कर अधिकृत श्रेष्ठले बताए । गाेरक्षबाट

प्रतिक्रिया दिनुहोस