जनतामा सुरक्षाप्रतिको स‌ंवेदनशिलता बढिरहेको छ

खबरशाला संवाददाता  |  भदौ ०४, २०७७

तुलसीपुरमा शान्ती सुरक्षाको अवस्था पछिल्लो २ महिना यता सुदृढ हुँदै गएको छ । यस विचमा विभिन्न आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरुको पहिचान र कानुनी कारबाहीका प्रक्रिया समेत अगाडी वढेको छ । लामो समय असुरक्षित महसुस गरेका यहाँका जनताले पछिल्लो समय केही सन्तोषको सास फेरेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरमा प्रमुखका रुपमा डिएसपी शिववहादुर सिंह आएपछि यहाँको अवस्थाका विस्तारै सुधार आएको हो । शान्ती सुरक्षाको जिम्मेवारीलाई नागरिकस्तरमा पु¥याउनका लागि तुलसीपुरका विभिन्न टोलमा टोल सुरक्षा समिति गठन गरिएको छ । यसै विषयमा राप्ती समाचार संवाददाता नन्दनी रोकाले डिएसपी शिववहादुर सिंहसँग गरेको कुराकानी ।

टोल सुरक्षा समिति भनेको के हो र किन गठन गर्नुको औचित्य के होला ?


सामान्य रुपमा सबैभन्दा पहिले टोल सुरक्षा समिति के हो भन्दा पनि किन गठन गरियो भन्ने सन्दर्भमा जानकारी दिन चाहन्छु । मैले ईलाका प्रहरी कार्यालय तुलसीपुरमा दुई महिना पहिले आउने क्रममा विभिन्न समुदाय, टोलमा रहेका विभिन्न व्यक्तित्वसंग भेटघाट कार्यक्रम सञ्चाचलन गरे जसमा मैले अहिलेसम्म ६२ ओटा कार्यक्रमहरु सञ्चालन गरिसकेको छु । मैले गरेका कार्यक्रमहरु वडा स्तरीय बढी रहेकाछन् ।

फरक फरक वडा, टोल र समुदायमा पुगेर त्यहाँका स्थानीयसंग भेटघाट गर्ने क्रममा मैले वडा समुहबाट नै विभिन्न समस्याहरु पाए । जसमा महिला हिंसा, लागुऔषध, चोरी डकैती,गुन्डागर्दी,वेश्यावृत्ति र ट्राफिक उल्लंघन जस्ता विभिन्न अपराधिक समस्याहरु देखिसके पछि हामीले निश्चित स्रोत साधन र जनशक्ति भाको कारणले गर्दा विभिन्न क्षेत्र हेरेर रणनीति बनायौं ।


सबै नागरिक प्रहरी हुनुपर्छ, हामीसंग भाको सानो जनशक्तिले सबै नागरिकलाई सुरक्षित पार्न नसक्ने अवस्थामा समाजमा रहेका समस्याहरुलाई समाजमा नै रहेका मानिसहरुले समाधान गर्नु पर्छ भन्ने सोचमा हामीले जनचेतना सम्बन्धि कार्यक्रम जस्तै महिला हिंसा,जुवातास ,लागुऔषध जस्ता विभिन्न अपराधिक गतिविधिका विषयमा छलफल गर्दै जादा जनता पनि प्रहरीको सहयोग गर्ने पक्षमा रहेको पायौं । जसले गर्दा अहिले हामीले टोल सुरक्षा समितिबाट भरपुर सहयोग पाउनुका साथै सामान्य समस्याहरु पनि टोल सुरक्षा समितिबाट नै समाधान हुदै आइरहेको छ ।


यसमा बस्ने पदाधिकारी को को हुन् ?


टोल सुरक्षा समितिमा बस्ने पदाधिकारीको संख्या यति नै हुनुपर्छ भने छैन । हामीले सकारात्मक सोच भएका १० देखि १५ जना राखेका छौं । सानो टोल छ भने सानो समिति गठन गरेका छौं भने ठूलो टोल छ भने ठूलो समिति नै गठन गर्ने गरेका छौं । जसमा त्यो टोलमा रहेका पत्रकार,स्थानीय वडाले सम्मान गर्ने व्यक्ति,महिला,अध्यापक र शिक्षित वर्गहरु यसमा पदाधिकारी रहेका छन् ।


अहिलेसम्म कति ठाँउमा गठन भयो ?


हामीले यसलाई १९ ओटा वडा मै गर्ने सोचमा छौं तर हामीले अहिले १७ ओटा वडामा लगभग सकिसकेको अवस्था छ । १७ ओटा वडामा हामीले ५ सय ४४ ओटा वडा सुरक्षा समिति गठन गरि सकेका छौं । ५ र ६ वडामा टोलको संख्या धेरै छ जसलाई व्यवस्थितगर्दै लगेका छौं लगभग ६०० संख्यामा सुरक्षा समिति गठन हुन्छ होला जस्तो मलाई लाग्छ ।


यसले गर्ने काम के हो ?


यो टोल सुरक्षा समितिले गर्ने काम भनेको विशेषगरी समानमा अथवा टोल भित्र हुने सामान्य सामाजिक साँस्कृतिक र अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्ने न्यूनीकरण गर्ने,प्रहरीको सहयोग लिइएर कानुन बमोजिम कार्यवाही गर्ने,जघन्य अपराधको अनुसन्धान गर्ने काम प्रहरीले समाजमा शान्ति सुरक्षालाई पार्ने स्थिति तयार पार्नका लागि जुन तरिका अपनाएको छ त्यो तरिका वा विधिलाई मध्यजनर गर्दै प्रहरीलाई सहयोग गर्ने काम यसले गर्दछ ।


टोल सुरक्षा समिति गठन गर्दा के कस्ता प्रतिक्रियाहरु आए ?


अहिलेसम्म प्रतिक्रियाहरु एकदमै सकारात्मक छ । अहिले सम्म नगरेको काम इलाका प्रहरी कार्यालय तुलसीपुरले गरेको छ भन्ने खालको उत्साहप्रद प्रतिक्रिया पाएका छौं । उहाँहरुको विश्वास साथ र सहयोगले हामीमा थप ऊर्जा प्रदान गरेको छ । नेपाल प्रहरी एउटा संस्था मात्र भएन अब जनता सहितको नेपाल प्रहरी भयो भन्ने विश्वास अहिले जेष्ठ नागरिक,महिला,युवा लगायत सबैले प्रहरी हाम्रो लागि हो हामीलाई राम्रो बाटो तिर लैजाने संस्था रहेछ भन्ने महसुस भाको छ ।
विशेष गरी अहिले महिला दिदी बहिनीहरुले एकदमै सुरक्षित भाको महसुस गरि राख्नु भाको छ । यो समिति गठन गरिसके पछि विशेष गरी जांड रक्सी खाएर महिला तथा घरेलू हिंसा गर्ने जस्ता विभिन्न अपराधिक गतिविधिहरु नियन्त्रण हुन्छ भन्ने भलाई लाग्छ ।


कोरोना नियन्त्रणका सन्दर्भमा जनताले खुला पनि चाहेका छन् , संक्रमण पनि नफैलियोस भन्नका लागि कसरी मिलाउनु भएको छ ?


अहिले कोरोना महामारीको बेलामा करेना तुलसीपुरमा मात्र नभएर पुरै विश्व नै त्रसित छ । विशेष गरी तुलसीपुर क्षेत्रमा जनताहरुसंगको समन्वय गरेर स्थानीय सरकार,नेपाल प्रहरी,नागरिक समाज,युवा क्लव र अन्य संघ संस्थाहरु हामी सबैले मिलेर कोरोना विरुद्धको लडाइमा लडिरहेका छौ । त्यो अवस्थाले गर्दा नै अहिले नेपाल भरिमा तुलसीपुर नै सबैभन्दा कम कोरोना संक्रमित रहेको उपमहानगरका रुपमा रहेको छ ।

त्यसैगरी हामीले आफैले पसल पसलमा पुगेर सम्झाउने गरेका छौं भने अर्कोतिर सवारी चालक र यात्रुहरुलाई पनि मास्क सेनिटाइजरको प्रयोग, सुरक्षा सम्बन्धि जानकारी समेत दिने गरेका छौ । त्यसैगरी अहिले जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । जसमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म समय तोकेको छ र अहिले चाडपर्वको समयले गर्दा हामीले जनताले र हामीले शतप्रतिशत कार्यान्वयन गरीरहेका छौं ।


यहाँ आएदेखि सुरक्षा सुधारका कामहरु के के हुन् ?


यो दुई महिनाको अवधिमा हामीले स्टेप बाई स्टेप काम गरिरहेका छौ । सबै अपराधिक गतिविधिलाई एक ठाउँमा राखेर सबभन्दा बढि कसलाई प्राथमिकतामा दिने र त्यसका समाधानका उपाय के के छन् त भनि योजना बनाएर अगाडि बढ्यौं । जसमा मैले ६ ओटा अपरेशनहरु शुरु गरे ।

लकडाउनलाई सबैले पालना गर्नु पर्छ, सबै नागरिक जिम्मेबार हुनुपर्छ भन्ने विषयमा हामीले काम गरेको अवस्था छ र प्रहरी विभागलाई सकरात्मक ढंगले अगाडि बढाउने,लागु औषध सम्बन्धि,गुन्डागर्दी सम्बन्धि,घरेलू हिंसा,महिला हिंसा लगायत ट्राफिक सिस्टम सम्बन्धि कामहरु लगभग सफल भएको अवस्था छ ।


स्थानीय सरकारबाट के कस्तो सहयोग पाउनु भएको छ ?


अहिले हामीले स्थानीय सरकारबाट भरपुर सहयोग पाएका छौं । मैले अहिले १९ ओटा वडा अध्यक्ष लाई बोलाएर उहाँहरुसंग कुरा गरेको छु । अहिले नेपाल भरिमा सायद यो तुलसीपुर उपमहानगरपालिका नै यस्तो ठाँउ होला जहाँ अवैध मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ । यो सबै उहाँहरुको साथ र सहयोगले मात्र सफल भएको हाे ।


गाँजाखेती, घरेलू मदिरा उत्पादन नियन्त्रणमा के कस्ता समस्या देखा परेका छन् ?


यो क्षेत्रमा समस्या त धेरै देखा परेका छन् । गाँजालाई रोपेर एउटा व्यवसायका रुपमा नै लिने प्रवृत्ति रहेको छ जसलाई अहिले कानुनी दायरामा ल्याउने गरेका छौं । त्यसैगरी मदिरा हाम्रो सामाजिक र सास्कृतिक पक्षसंग जोडिएको हुनाले हामीले घर भित्रै देविदेवतालाई चढाउनका लागि रोक लगाएका छैनौ तर मदिरा उत्पादन गरेर बजारमा ल्याएर बिक्री गर्नेलाई कारवाही गर्ने गरेका छौं ।


सामान्य जनताले आफुलाई परेको समस्या कसरी प्रहरीलाई भन्न सक्छ ?


अहिले हाम्रो प्रत्येक टोललाई जोड्ने गरी विभिन्न ठाँउहरुमा प्रहरी पोस्टहरु रहेका छन् । अहिले जुनसुकै ठाँउमा जस्तो सुकै परिस्थति जनताले जुनसुकै प्रहरी पोस्टमा गएर निवेदन दिन सक्ने अवस्था छ । चाहे त्यो मौखिक होस् लिखित होस् चाहे त्यो फोनको निवेदन नै किन नहोस हामीले त्यसलाई सुनेर अनुसन्धान गर्छौं र कारबाही पनि गर्छौ । त्यसैगरी अहिले हामीले घर घरमा प्रहरी युनिटको नम्बर दिएका छौं संगै प्रत्येक समाज, टोलमा प्रहरीको नम्बर राख्नुपर्छ र कुनै समस्या परेको बेला फोन गर्नुपर्छ भन्ने जानकारी उहाँहरुलाई दिएका छौं ।

अन्तमा‍‍‍
अन्तमा यस ईलाका प्रहरी कार्यालयको तर्फबाट म के अनुरोध गर्न चाहन्छु भने दिन प्रतिदिन बढ्दै गइरहेको कोरोनाको यस महामारीको बेलामा जनताहरु आफै नै सजग हुनुपर्ने अवस्था छ । प्रहरी कहिले आउँला र प्रहरीले मास्क लगाउँ भनेर मात्रै मास्क लगाउने अन्य बेला भएको मास्क पनि खल्तीमा हाल्ने प्रवृत्तिलाई त्यागेर सामाजिक दुरी कायम गराै, मास्क र सेनिटाइजरको उचित प्रयोग गराै सचेत र सजग बनौं

प्रतिक्रिया दिनुहोस