पेट्रोलियम पदार्थको मूल्य बढ्यो

खबरशाला संवाददाता  |  श्रावण ३२, २०७७

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले ३२ साउनको राति १२ बजेबाट लागू हुने गरी डिजल, पेट्रोल र मट्टीतेलको मूल्य प्रतिलिटर रु.१ ले बृद्धि गरेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए।

उनका अनुसार अरु खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने बढेको छैन। ‘‘भारतीय आयल कर्पोरेसनले पठाएको नयाँ मूल्यसूची अनुसार भाउ बढेर आएकोले हामीले पनि बढाएरै कारोबार गर्ने गरी मूल्य बढाएका हौ’’, उपाध्यायले भने । उनका अनुसार बढेको मूल्य आज रातिदेखि लागू हुनेछ।

१ भदाै (सोमबार)देखि कारोबार हुने मूल्यमा हालको भन्दा अब रु.१ बढाएर कारोबार हुने पनि उपाध्यायले बताए। नयाँ मूल्य अनुसार अब डिजल र पेट्रोलको प्रतिलिटर मूल्य ९१ र १०५ रुपैयाँ पुगेको छ। हाल पेट्रोल प्रतिलिटर रु.१०४, डिजल र मट्टीतेल प्रतिलिटर रु.९० रहेको छ।

प्रतिक्रिया दिनुहोस