गुरुहरुको नैतिक विचलन

श्रावण २, २०७७



घोराहीमा रहेको महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनरत आंशिक शिक्षकहरुले क्याम्पस प्रमुखको कार्यकक्षबाट कुर्सी निकालेर तोडफोड, तालावन्दीका साथै आगजनी गरेको घटनाले यतिवेला विभिन्न तहमा आलोचना भइरहेको छ । क्याम्पसमा आगजनी र तोडफोड जस्ता क्रियाकलाप विगतमा पनि नभएका होइनन् तर यसपटक भएको घटना भने अन्य भन्दा बेग्लै खालको भएकाले पनि सर्बत्र चर्चा र आलोचना भएको छ ।

विद्यार्थी र तिनका संगठनहरुले यसखालका अनेकानेक घटना गरिरहेका थिए तर शिक्षकहरुले नै पदिय मर्यादा र जिम्मेवारी भुलेर क्याम्पस प्रमुख जस्तो सम्मानित व्यक्तिको कुर्सी तोडफोड गर्दै जलाउनु आफैमा निन्दनीय कार्य हो । लोकतन्त्रमा विरोध गर्ने अधिकार हरेकलाई छ । यो लोकतन्त्रको सुवास पनि हो । तर विरोध गर्ने अधिकार छ भन्दैमा आफ्नो पदीय मर्यादा नाँघेर मनलाग्दो तरिकाले विरोध गर्नु उचित मान्न सकिदैन ।


शिक्षक समाजको त्यस्तो व्यक्ति हो जसलाई गल्ति गर्ने छुट समेत छैन । कुर्सी जलाउँनेहरुले तत्काल सार्वजनिक रुपमा माफी मागेर अगाडि बढ्ने साहस राखुन् ।


आंशिक प्राध्यापकहरुका आफ्ना आफ्ना समस्या हुन सक्छन् । सम्वन्धित पक्षले उनीहरुका समस्याका बारेमा सुनुवाई नगरेको पनि हुन सक्छ । तर हामीकहाँ तोडफोडलाई नै अन्तिम विकल्प सोच्ने निम्छरो प्रवृत्ति हावी देखिन्छ । न्यायका लागि ढोका खोल्ने अदालत छ या त्यो भन्दा अगाडी समाज छ । सरकार छ ।

हरेकसँग सहकार्य र समन्वय गर्ने धेरै आधारहरु हुन सक्छन । सबैलाई ख्याल नगरेर शिक्षक जस्तो समाजमा सम्मानित व्यक्तिले आफ्नै संस्थाको नेतृत्व गर्ने व्यक्तिको कुर्सीमा आगजनी गर्नु नैतिकता विहिन काम हो । समाजलाई मार्ग निर्देश गर्ने व्यक्तिलाई किमार्थ यतिसम्मको तल्लोस्तरको काम गर्ने छुट छैन । जसका बानी व्यवहारलाई समाजले अनुसरण गरिरहेको हुन्छ तिनैले दायित्व भुलेर तोडफोडमा उत्रनु भनेको निकै दुखपूर्ण कुरा हो ।


आन्दोलनको तरिका अमिल्दो भयो भने त्यसले माग जायज हुँदाहुँदै पनि समाधान हुने बाटो नभेटाउँन सक्छ । अहिले आंशिक शिक्षकले राखेका माग जायज हृुँदाहुँदै पनि उनीहरुको आन्दोलनका बारेमा जनतामा आक्रोश देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा उनीहरुलाई गाली गरेर लेखिएका केयौ स्टाटसहरु छन् । यसले आन्दोलनलाई बलियो होइन थप कमजोर र लज्जीत वनाएको छ । सामाजिक मर्यादालाई ख्याल गर्न नसक्दाको परिणती अहिले शिक्षकहरु विवादित भइरहेका छन् । शिक्षक समाजको त्यस्तो व्यक्ति हो जसलाई गल्ति गर्ने छुट समेत छैन । कुर्सी जलाउँनेहरुले तत्काल सार्वजनिक रुपमा माफी मागेर अगाडि बढ्ने साहस राखुन् ।

प्रतिक्रिया दिनुहोस