मेट्रो कलेज तुलसीपुरको गौरबपूर्ण योजना

श्रावण २८, २०७७


तुलसीपुर । शिक्षा क्षेत्रका सरोकारवालाहरुले तुलसीपुर मेट्रो कलेज यस क्षेत्रको गौरबपूर्ण योजना भएको वताएका छन् । तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि कलेजले महत्वपूर्ण भुमिका खेल्न सक्ने उनीहरुको भनाई छ । तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि तुलसीपुर बहुप्राविधिक शिक्षालय मेट्रो कलेजको स्थापना गरेको हो ।


‘सञ्चालन गर्न निकै कठिन हुन्छ तर पनि निरन्तर लाग्ने हो भने सफल हुन सकिन्छ ’ कलेज सञ्चालन समितिका सदस्य भिष्म केसीले वताए । उनले एकैपटक धेरै विषय सञ्चालन चुनौतिपूर्ण हुने समेत औल्याए । ‘हामीले सञ्चालन गर्ने पाँच वटै फ्याकल्टीलाई एकै पटक सञ्चालन गर्दा धेरै चुनौति आइपुग्छन् तर निरन्तर लागिरहनुपर्दछ’ उनले सुझाव दिए ।


गत शैक्षिक सत्रमा वन विज्ञान विषय अध्यापन गराउँदै आएको कलेजले यो वर्ष विभिन्न चारवटा प्राविधिक विषय अध्यापन गराउँन लागेको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीको सहकार्यमा यसै शैक्षिक सत्रबाट मेट्रो कलेजमा अध्यापन हुने गरी प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटिइभिटिको १ सय ८० औ सभाले आगामी शैक्षिक सत्रबाट बाली विज्ञान, फुड एण्ड डेरी, इलेक्ट्रीकल एण्ड इलेक्ट्रोनिक र मेकानिकल इन्जिनियरिङ्ग विषय थप गर्ने निर्णय गरेको छ ।


कलेज सञ्चालक समितिको बैठकमा बोल्दै सदस्य भागवत पौडेलले प्राविधिक विषयको माग बढेको भएपनि विद्यार्थीहरुलाई त्यसको समयमै जानकारी नहुँदा समस्या आएको वताए । शिक्षा समिति संयोजक देवराज विकले मुनाफारहित ढँगले कलेज सञ्चालन भएको वताउँदै मसुदायले अपनत्व महसुस गर्नुपर्नेमा जोड दिए । समितिका सदस्य एवम् वडाध्यक्ष सुर्यवहादुर डाँगीले भौतिक संरचना तत्काल निर्माणमा सबैको ध्यान जानुपर्ने वताए ।


कलेज सञ्चालक समितिका अध्यक्ष एवम् नगर प्रमुख घनश्याम पाण्डेले सबैको सहकार्यबाट कलेज सञ्चालन गर्नुपर्ने बताए । उनले तुलसीपुरको मृुहार परिवर्तन गर्ने योजनाका रुपमा कलेज सञ्चालनको योजना अगाडी वढेको वताए । ‘पाँचहजार विद्यार्थीले अध्ययन गर्ने गरी भौतिक संरचना निर्माणको काम अगाडि वढाएका छौ । ’ उनले वताए ।


छलफल कार्यक्रममा उपप्रमुख माया शर्मा, शिक्षा महाशाखा प्रमुख भाष्कर गौतम, वडाध्यक्ष नवराज लामिछाने लगायतले सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस