कोरोना अनुकुलता, अबको आवश्यकता

नवल जिएम  |  श्रावण १, २०७७

विश्व यतिवेला कोभिड १९ ले आक्रान्त छ । सानातिना देश मात्रै होइन विश्व हल्लाउनेसम्मको ल्याकत राख्ने देशहरु समेत कोभिडको प्रकोपबाट घुँडा टेक्न बाँध्य भएका छन् । यसको प्रकोपको अबस्थामा कहिलेसम्म हुने हो भन्ने कुराका बारेमा हामीले सहजै भन्न सक्ने अवस्था छैन । यसकारण अवको गोरेटो भनेको हरेक क्षेत्रलाई कोरोना अनुकुलन वनाएर अगाडी वढ्नु नै हो ।


मानव अनुकुलताः


बितेको केही महिनादेखि कोरोना भाइरसको प्रकोप विश्वभरी देखापरेको छ । रकेटको गतिमा विकासको यात्रामा अगाडी वढिरहेको विश्व यतिवेला कछुवा गतिमा घस्रिरहेको छ । लाखौं मान्छेको मृत्यु भइसकेको छ भने करोडमा कोभिड–१९ संक्रमित भइसकेका छन् । जीव बैज्ञानिकहरुको मत छ कुनै पनि जीवजन्तु बाँच्नको लागि आफ्नाे वरीपरीको वातावरणको अनुकुलतामा जीवजन्तुले आफुलाई बदल्नुपर्दछ ।

अर्थात वातावरण अनुकुल शरिरको विकास गर्नु नै अनुकुलन हो । जुन जीवजन्तुहरुले वातावरण अनुकुल आफूलाई बदल्न सक्दैनन् उनीहरु लोप भएर जान्छन् । हिमालमा पाइने चौरी गाईले चिसोसँग जोगिनका लागि आफ्नो शरिर बाक्लो भुत्लाले ढाकेको हुन्छ, छेपारोले शत्रुबाट बाँच्न वातावरणको रङसँग मेलखाने गरि आफ्नो रङ फेरिरहेको हुन्छ । यी अनुकुलनका उदाहरणहरु हुन । कोरोना भाइरस नयाँ प्रकारको भाइरस भएकोले हाम्रो शरिरमा भएको रोग प्रतिरोधात्मक क्षमताले यसलाई पहिचान गर्न सकिरहको छैन,जसले गर्दा रोग प्रतिरोधात्मक प्रणाली नै कोरोना भाइरसविरुद्ध लड्न नसकेपछि मृत्यु र संक्रमितको दर बढ्दै छ ।


विस्तारै कोरोना भाइरसलाई हाम्रो शरिरको रोग प्रतिरोधात्मक प्रणालीले चिन्न सक्यो भने हामी भन्छौं हाम्रो शरिर अब कोरोना अनुकुलन भयो वा कोरोना अनुकुल भयो । हाल विकास भइरहको कोरोना भ्याक्सिनहरुको कार्य पनि मानव शरीरको रोगप्रतिरोधात्मक क्षमतालाइ कोरोना भाइरस विरुद्ध लड्न सक्ने बनाउनु हो । भ्याक्सिनको आविष्कार भएर बजारमा आउनु सकेन भने वा ढिलो भएमा मानिसहरुको हताहत हुने संख्या उल्लेख्यरुपमा बढ्न सक्छ । हामी के कुरामा प्रष्ट हुनु पर्दछ भने अब कोरोना भाइरसको आगमन भइसके पछि हाम्रो शरीरले यससँग अनुकुलन प्राप्त नगरी अर्को उपाय देखिदैन । यसैलाई मानव शरिरको कोरोना अनुकुलन भनिएको हो ।

आर्थिक अनुकुलनः


विश्व अर्थतन्त्र कोरोना भाइरसको कारणले तहसनहस भएको सबैलाई थाहा छ । अमेरिका जस्तो शक्तिशाली देशमा करोडौं मान्छेले जागिर गुमाएको, कुल ग्राहस्थ उत्पादन घटेर १ प्रतिशतको हाराहारी पुगेको तथ्यले के देखाउदछ भने कोरोनाभाइरसको खराबअसर मानव स्वास्थ्यभन्दापनि अर्थतन्त्रमा डरलाग्दो देखिन्छ । अवकोरोना अगाडिको अर्थतन्त्र र कोरोना पछिको छ । अर्थतन्त्रमा ठूलो भिन्नता देखा पर्ने छ । कोरोना पछिको अर्थतन्त्रले आफूलाई कोरोनासंग (अनुकुलन ) गराउदै अगाडी बढाउनु पर्ने देखिन्छ ।


खासगरि कोरोना पछि होटेल, टुरिज्म,यातायात, शिक्षाजस्ता उद्योगहरु पूर्ण रुपमा धाराशायी भएका छन् । यी उद्योगहरु पुनः संचालनमा आउनकालागि कोरोनासँग अनुकुलन हुनेगरि आफूलाई विकास गर्नुपर्ने देखिन्छ । जस्तै: होटेल व्यवसायमा सरसफाइ अझ बढी चाहिने भयो, धेरै भिडभाडदेखि अलि टाढा रहनु पर्ने भयो, सम्भव भएसम्म विभिन्न कामहरु अनलाईनबाट हुने भयो ।

यात्रा गर्दा सक्दो दुरी कायम गर्नुपर्ने देखियो । भनिन्छ अब पृथ्वीमा कोरोना अगाडीको वातावरण कहिले पनि फर्किने छैन । सबै व्यवसायी÷सिस्टमले आफूलाई कोरोना अनुकुलनमा बदल्दै जानुपर्ने देखिन आउँछ । देशको अर्थतन्त्र वा मान्छेले आफ्नो अर्थतन्त्रलाई कोरोना अनुकुलन बनाउदै जाने जीवित रहने छन् बाँकी अरु लोप हुँदै जानेछन् । विश्वमा रहेको कोरोना सृजित आर्थिक चुनौतिलाई सामना गरेर आफुलाई अनुकुल बनाउँदै लैजानु पक्कै पनि सजिलो काम छैन ।


शैक्षिक अनुकुलन:


विश्वमा कोरोना आगमनपछि व्यापक रुपमा प्रभावित क्षेत्र भनेको शैक्षिक क्षेत्र पनि हो । लाखौं र करोडौं वालवालिकाहरु विद्यालय जान नपाएर घरमै बस्नुपर्ने अवस्था खडा भएको छ । कोरोना अगाडी विद्यालय शिक्षा जुन तौरतरिकाले चलेको थियो ,त्यो तरिकामा मात्र विद्यालय चलाउन कोशिस गर्नु अब कोरोना अनुकुलन भित्र पर्दैन ।

अब कोरोना प्रकोप कम भएपछि पनि विद्यालय चलाउने तौरतरिकाहरु फेरिने छन् र फेर्नुपर्छ । विद्यालय शिक्षामा सुचना प्रविधिको प्रयोग अनिवार्य हुदै जानेछ । विद्यार्थी सङ्ख्या कक्षामा कम राख्नुपर्नेछ । शिक्षण–सिकाईमा अनलाईन साधनको व्यापक प्रयोग हुनेछन् ।

यस प्रकार विद्यालयले आफूलाई वदल्नु नै शिक्षामा कोरोना अनुकुलन भनि बुझ्नुपर्दछ । यो तरिकाले विद्यालय व्यवस्थापन गर्न नसक्ने चाहे त्यो सरकारी होस वा प्राइभेट विस्तारै लोप हुँदै जाने देखिन्छ । अभिभावकले विस्तारै आफूलाई नँया वातावरणमा वदल्दै जानुपर्दछ , विद्यार्थीहरु अभ्यस्त बन्दै जानुपर्ने हुन्छ र शिक्षकहरु यस्ता अनेक उपायहरु खोज्दै जानु पर्ने वाध्यता हाम्रो अगाडी आएको छ ।

खास गरेर सरकार हाम्रो अभिभावक भएको नाताले यसबारेमा बढी सोच्नुपर्दछ र गर्नुपर्दछ । अर्कमण्य अवस्थामा चुपचाप केही पनि नगरेर बस्नुभन्दा कोरोना अनुकुलन विद्यालय कसरी बनाउने भनेर अध्ययन,अनुसन्धान र लगानी केन्द्रित गर्नुपर्ने मुख्य दायित्व सरकारले लिनुपर्ने देखिन्छ ।

लेखक गाेरखा ग्रुपका सिइओ हुन् ।

प्रतिक्रिया दिनुहोस