सं‌क्रमण फैलिएपछि बाँकेमा आजदेखि निषेधाज्ञा

खबरशाला संवाददाता  |  श्रावण १८, २०७७

तुलसीपुर – समुदायमा कोरोना फैलिन थालेपछि स्थानीय प्रशासनले बाँकेमा आजदेखि ३ दिनसम्म निषेधाज्ञा लगाउने निर्णय गरेको छ।

बिहीबार एकैपटक २७ जनामा कोरोना देखापरेपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आपतकालिन बैठकले उक्त निर्णय गरेको थियाे ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदायस्तरमै कोरोना देखापरेकाले आइतबारदेखि तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी रहने जानकारी दिए।

नेपालगञ्जको व्यस्त बजार त्रिभुवनचोकको मिठाई पसल र सेवाग्राहीको भीडभाड हुने आन्तरिक राजश्व कार्यालयमा गरी एकैदिन २७ जनामा कोरोना देखापरेपछि स्थानीय प्रशासन झस्किएको छ।

भारतबाट फर्किएका र क्वारेन्टिनमा बसेका व्यक्तिलाई मात्रै कोरोना देखिने गरेकोमा पछिल्लो दिनमा नेपालगञ्जमा घरमा बसेका, पसलमा काम गर्ने, सरकारी कार्यालयका कर्मचारी, एनजिओकर्मीमा कोरोना देखापरेको छ।

प्रतिक्रिया दिनुहोस