लकडाउनपछि हाेटल खुले, ग्राहक छैनन्

खबरशाला संवाददाता  |  श्रावण १६, २०७७

तुलसीपुर । लकडाउनका क्रममा बन्द भएका होटलहरु बिहीवारबाट सञ्चालनमा आएका छन् । सरकारले साउन ७ गतेबाट लकडाउन खोले पनि होटल भने स्वास्थ्य सुरक्षाका उपाय अपनाएर साउन १५ गतेबाट मात्र सञ्चालनमा ल्याउन निर्णय गरको थियो । सोही निर्णयअनुसार दाङका होटलहरु सञ्चालन भएका हुन् ।

झण्डै चार महिनापछि खुलेका होटलहरु अब बिस्तारै आर्थिक कारोवार गर्ने अपेक्षा गरेका छन् । स्वास्थ्य सुरक्षाप्रति उच्च सतर्कता अपनाएर होटल सञ्चालनमा ल्याएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताए । होटल सञ्चालनमा आए पनि कारोवार न्यून रहेको उनको भनाइ छ ।

कोरोनाको जोखिम अझै टरिनसकेका कारण स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर होटलहरुले सेवा दिन थालेको अध्यक्ष डाँगीले बताए । १ सय २४ दिनपछि दाङका होटलहरु सञ्चालनमा आए पनि सेवाग्राहीहरुको भने निकै पातलो उपस्थिति रहेको होटल सञ्चालकहरुले बताएका छन् ।

लामो दूरीका यातायातहरु सञ्चालनमा नआएका कारण पनि होटलमा सामान्यरुपमा चिया, कफी तथा खाजाका लागि निकै न्यून मात्रामा मानिसहरु आउने गरेको सञ्चालकहरु बताउँछन् । लामो समयसम्मको लकडाउनका कारण होटलहरु पूर्णरुपमा बन्द रहेको कारण आर्थिक मारमा परेका छन् । जिल्लामा १ हजार ३ सय७० बढी होटलहरु समितिमा आवद्ध रहेको अध्यक्ष डाँगी बताउँछन् । जिल्लाका होटलहरुमा करिब २ हजार ९ सय जनाले रोजगार प्राप्त गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस