४५ दिनमा देउखुरी आइसोलेसन सेन्टरको खर्च ४० लाख

खबरशाला संवाददाता  |  श्रावण १६, २०७७

तुलसीपुर । दाङको देउखुरीमा रहेको राप्ती प्राबिधिक शिक्षालयमा रहेको देउखुरी कोरोना विशेष आईसोलेसन सेन्टरको करिव डेढ महिनाको अवधिमा ४० लाख खर्च गरेको छ । आइसोलेसन सेन्टर व्यवस्थापनदेखि कोरोना संक्रमितहरुको उपचारका लागि उक्त रकम खर्च गरेको आइसोलेसन सेन्टर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

देउखुरीका लमही नगरपालिका, राप्ती गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिका मिलेर गएको जेठको ३० गतेदेखि सञ्चालनमा आएको थियो । देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टर संचालनको निम्ति संकलन गरिएको रकमको हिसाब खर्च सार्वजनिक गरिएको हो ।

जसमा सिसि क्यामेरा र विद्युत् उपकरण खरिद, वायरिङ प्लम्विङमा ७ लाख ९८ हजार ४ सय ७८ रुपैँया खर्च भएको जनाएको छ । त्यसैगरी सुरक्षा व्यवस्थापनका लागि पर्खाल तथा टिनको तारवारका लागि २ लाख ४९ हजार ७३ रुपैँया, अस्पताल व्यवस्थापन तथा सामाग्री खरिदमा १ लाख २८ हजार ६ सय १५ रुपैयाँ, ल्यापटप प्रिन्टर खरिदमा १ लाख ५० हजार, मेडिकल उपकरण औषधी खरिदमा १ लाख ९२ हजार १ सय २० रुपैयाँ, खाना तथा घर भाडा खर्चमा २ लाख १९ हजार ५० रुपैँया, आईसोलेशन खाजा खर्चमा १ लाख ९९ हजार ३ सय २०, ईन्धन खर्चमा ३६ हजार गरि कुल ४० लाख खर्च भएको जानकारी दिएको छ ।

राप्ती गाउँपालिकाको कोरोना विपद् व्यवस्थापन समितिले थप ३० हजार १ सय ९२ रुपैँया बढी खर्च भएको बताएको छ । हालसम्म लमही नगरपालिकाभित्र १५ जना, राप्ती गाउँपालिका २७ जना, गढवा गाउँपालिकाका २९ जना र राजपुर गाउँपालिकाका १५ जना कोरोना भाइरस विरामीहरु निको भएर घर फर्किएको देउखुरी कोरोना आईसोलेशन सेन्टरका प्रमुख डाक्टर पुष्प भुषालले जानकारी दिएका छन् ।

उनका अनुसार अव लमहीका ३ जना, राप्तीका ३ जना, गढवाका ७ जना र राजपुरका ३ जना गरि १६ जना कोरोना भाइरसका विरामीहरुको सेन्टरमा उपचाररत रहेका छन । देउखुरी कोरोना विशेष आइसोलेसन सेन्टरले खर्च रकम सार्वजनिक गरेपनि घोराही आइसोलेसन सेन्टर तथा कोरोना विशेष अस्पतालले भने गरेका छैनन् । तर देउखुरी कोरोना विशेष आईसोलेशन सेन्टर संचालनका लागि प्रदेश सरकारले उपलब्ध गराउने भनेको दश लाख रुपैया नपठाएको समेत जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस