प्रभावशाली मन्त्रीकाे परामर्शमा प्रधानमन्त्री

खबरशाला संवाददाता  |  श्रावण १२, २०७७


तुलसीपुर । पार्टीका प्रमुख नेताहरुसहित स्थायी समितिका बहुमत सदस्यले आफ्नो राजीनामा मागेपछि चर्को दबाबमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनयता आफ्नो मन्त्रिपरिषदका प्रभावशाली मन्त्रीहरुसँग छुट्टाछुट्टै परामर्श गरिरहेका छन्।

उनले मन्त्रिपरिषदमा रहेकामध्ये स्थायी समिति सदस्य र पार्टीभित्रको शक्ति संघर्षमा समेत निर्णायक भूमिका खेल्नसक्ने मन्त्रीहरुसँग गम्भीर छलफल गरेका हुन्।

प्रधानमन्त्री ओलीले शुक्रबार पर्यटनमन्त्री योगेश भट्टराई, शनिबार कृषिमन्त्री घनश्याम भुसाल र आइतबार ऊर्जामन्त्री वर्षमान पुनसँग बालुवाटारमा बोलाएर लामो छलफल गरेका छन्।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसहित पार्टी सचिवालय तथा स्थायी समितिका बहुमत सदस्यहरुले ओलीलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीको जिम्मेवारी राम्रो पूरा गर्न नसकेको आरोप लगाउँदै राजीनामा माग गरिरहेका छन्।

उनीहरुले प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये कम्तीमा एक पद छाड्न दबाब दिइरहेका छन्।

प्रधानमन्त्री ओलीले विशेष महत्व दिएर भेटघाट गरेका भुसाल र भट्टराई पूर्वएमालेतर्फ नेपाल र खनाल पक्षका हुन् भने पूर्वमाओवादी पुन प्रचण्डनिकट नेता हुन्। अहिले प्रचण्ड, नेपाल र खनालले ओलीबिरुद्ध गठबन्धन बनाउँदा उनी पार्टी समितिहरुमा समर्थन जुटाउनुपर्ने तीब्र दबाबमा छन्।

‘प्रधानमन्त्रीले पछिल्लो परिस्थितिबारे परामर्श गर्न बोलाउनु भएको थियो। सरकार सञ्चालनको विषयमा र पार्टीमा अहिले देखिएको समस्याबारे छलफल भयो,’ एक मन्त्रीले भने।

जारी स्थायी समितिको असार १६ गते भएको बैठकमा १८ जनाले धारणा राख्ने क्रममा अधिकांशले ओलीले सरकार तथा पार्टी चलाउन नसकेको भन्दै राजीनामा माग गरेका थिए।

त्यसपछि बैठक बस्न र राम्रोसँग छलफल नै हुन सकेको छैन। बैठक तय भएपछि पनि अन्तिम समयमा बैठकहरु पटक पटक स्थगित गरिएको छ।

तीव्र दबाबमा परेका ओलीले स्थायी समिति बैठक सकेसम्म पन्छाउन खोजेको आरोप लाग्दै आएको छ। यसबीचमा आठौं पटक बैठक स्थगित भैसकेको छ। साउन ६ गतेको बैठकमा पनि प्रधानमन्त्री अनुपस्थित रहे।

केही मिनेट मात्रै चलेको सो बैठक बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग गर्दै टुंगिएको थियो।

यसअघि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग भएको छलफलमा यसपछिका बैठकमा आफ्नो पक्षबाट स्थायी समिति सदस्यहरुले धारणा राख्ने बताएका थिए।

सचिवालायका तीनसहित नौ जना स्थायी समिति सदस्य ओलीको मन्त्रिपरिषदमा छन्। पछिल्लो समयमा ओलीले मन्त्रिपरिषदमा रहेका स्थायी समितिका सदस्यहरुलाई आफ्नो पक्षमा बोल्न लगाउने नभए उनीहरुलाई ‘न्युट्रलाइज’ गर्ने प्रयासमा रहेको एक नेताले बताए।

‘पछिल्ला भेटबारे बुझ्दा प्रधानमन्त्रीले मन्त्रीहरुलाई कुनै ठोस प्रस्ताव राख्नुभन्दा पनि मन जित्न खोजेको देखिन्छ,’ पछिल्ला भेटबारे जानकार एक स्थायी समिति सदस्यले बताए।

मन्त्रिपरिषदमा रहेका पुन, भुसाल, भट्टराई, वनमन्त्री शक्ति बस्नेत, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, आपूर्तिमन्त्री लेखराज भट्ट स्थायी समिति बैठकमा बोल्न बाँकी नै छ।

पूर्वमाआवादी नेता भट्ट खुलेरै ओलीको समर्थनमा देखिइसकेका छन्। ज्ञवाली ओलीनिकट नै हुन्।

यी नेताहरु स्थायी समितिमा ओलीको पक्षमा उभिएमा अहिलेको शक्ति संघर्षमा उनलाई केहि राहत पुग्नेछ भने प्रचण्ड–नेपाल पक्षलाई दबाब सिर्जना हुनेछ।

पार्टीको विवाद चरम अवस्थामा पुगेपछि ओलीले असार २० गते मन्त्रीहरु, राज्यमन्त्री र सल्लाहकारहरुलाई समेत राखी पार्टीको बिबादमा अब सबैले आआफ्नो कित्ता प्रष्ट पार्नुपर्ने बेला आएको भन्दै उनीहरुलाई समेत त्यसो गर्न आग्रह गरेका थिए।

सो बैठकमा प्रधानमन्त्रीले पार्टी भित्रैबाट आफू र राष्ट्रपतिबिरुद्ध षडयन्त्र भएको भन्दै कित्ता प्रष्ट पार्नुपर्ने अवस्था आएको बताएका थिए।

स्थायी समितिको अर्को बैठक मंगलबारका लागि तय भएको छ।

प्रतिक्रिया दिनुहोस