साेमबारबाट केहि दिन झरी पर्ने

खबरशाला संवाददाता  |  श्रावण ११, २०७७

काठमाडौं : मनसुन सक्रिय भएसँगै सोमबारबाट पुनः मौसम सक्रिय हुने भएको छ । वर्षा गराउने मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक आउने भएकाले सोमबार साँझबाट मुलुकका धेरैजसो स्थानमा मौसम पुनः सक्रिय हुने देखिएको मौसमविद्ले जनाएका छन् ।

यस्तै आज आइतबार पनि देशैभर आँशिक देखि सामान्य बदली रही केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आजै राती प्रदेश १ र सुदुर पश्चिम  प्रदेशका एक वा दुई स्थानमा  मेघगर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत  सम्भावना रहेको छ। 

यस वर्ष नेपालमा गतजेठ ३० गते रातिबाट मनसुन सक्रिय भएको थियो । त्यसै दिन मुलुकका विभिन्न क्षेत्रमा वर्षा भएको थियो भने पर्वतलगायत केही स्थानमा वाढी पहिरोले जनधनको समेत क्षति भएको थियो । त्यसयता पटकपटक ठाउँठाउँमा भारी वर्षा भयो । गतअसार २५ देखि २९ सम्म न्यूनचापीय रेखा नेपाल नजिक आउँदा मुलुकका अधिकांश क्षेत्रमा भारी वर्षा भएको थियो । सोही वर्षाका कारण म्याग्दी, कास्की, जाजरकोट र सिन्धुपाल्चोकमा ठूलाठूला पहिरो खसेर जनधनको क्षति भएको थियो । 

यही साउन ४ देखि ६ गतेसम्म पुनः न्यूनचापीय रेखा नेपाल नजिक पर्दा मनसुनी वर्षा भएको थियो । यसले मुलुकका धेरै ठूला नदीहरुमा बहाव ह्वात्तै बढ्न गई नारायणी, कोशीलगायत नदी खतराको तहसमेत पार गर्दा ठाउँठाउँमा डुबानसमेत भएको थियो भने कतिपय स्थानमा पहिरो खसेर जनजीवन प्रभावित बनाएको थियो । सबै मनसुनी वर्षा आउनुपूर्व नै सरकारले जोखिमको चेतावनी दिँदै सतर्कता अपनाउन भने पछि अकस्मात खसेको पहिरोले धेरै मानिसको ज्यान लियो ।

यसपटक आगामी सोमबारदेखि अरब सागरबाट समेत पर्याप्त जल वाष्पयुक्त हावा भित्रिने सम्भावना रहेको र न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोदिनको रातिदेखि सक्रिय हुने मनसुन केही दिन रहने जनाइएको छ । त्यसले मुलुकका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा र केही स्थानमा भारी वर्षा गराउने सम्भावना छ । 

 नदी र खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेतको जोखिम रहन सक्ने जनाइएको छ । 

प्रिमनसुनको समयदेखि नै भारी वर्षा भएकाले यसपटक जमिन पूर्णरूपमा गलेको, भूकम्पका कारण धाँजा फाटेको ठाउँबाट पानी पसेर भित्र चलायमान गराएको भूगर्वविदको भनाइ छ । भूगर्वविद् शिव बाँस्कोटा पहिले गएका पहिरो सक्रिय हुनसक्ने तथा जमिन गलिसकेकाले थोरै पानी पर्दासमेत अन्य क्षेत्रमा समेत पहिरो खस्नसक्ने तथा नदीमा एक्कासी बाढी बढ्ने भएकाले थप सतर्कता अपनाउनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस