दाङ प्रहरीलाई अर्काे सफलता, अफिम सहित ४ जना पक्राउ

खबरशाला संवाददाता  |  श्रावण १०, २०७७

तुलसीपुर । प्रहरीले दाङमा ६ किलो बढी लागुऔषध अफिमसहित ४ जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सूचनाका आधारमा देउखुरीको राप्ती गाउँपालिका–१ भालुवाङमा रहेको दक्षिणकाली सोल्टी होटेल बसेर लागुऔषध कारोवार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी गणेश चन्दले जानकारी दिएका छन् ।

पक्राउ परेका अभियुक्तहरुलाई शनिवार जिल्ला प्रहरी कार्यालय दाङले पत्रकार सम्मेलनको आयोजना गरि सार्वजनिक गरेको हो ।  उनीहरुको साथबाट ६ किलो ९६७ ग्राम अवैध लागुऔषध अफिम नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा रोल्पा जिल्ला सुनछहरी गाउँपालिका वडा नं. ५ निवासी ३५ बर्षीय दुजबहादुर रोका, सुनछहरी गाउँपालिका–२ निवासी ३२ बर्षीय लालमन घर्तिमगर, सोही ठाउँ निवासी ३२ बर्षीय हर्कबहादुर घर्तिमगर र सोही ठाउँ निवासी २२ बर्षीय लालसिंह विकलाई पक्राउ गरेको प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् ।

प्रहरीले लागुऔषध अफिमसहित उनीहरुको साथबाट लु १ च ६१७१ नम्वरको सेतो रङको बलेरो जिप,लु ४० प ९८०६ नम्वरको २२० सिसिको पल्सर मोटरसाईकल र विभिन्न कम्पनीका ५ थान मोवाइल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालतबाट लागुऔषध मुद्धामा १० दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन । पत्रकार सम्मेलनको सहजीकरण प्रहरी नायव उपरिक्षक सुमित खड्काले गरेका थिए । प्रहरीले पछिल्लो समय लागुऔषध नियन्त्रणलाई कडाई गरेको छ । जसअन्तर्गत जिल्लाका विभिन्न स्थानमा अवैध गाजालाई नष्ट गर्ने काम भैरहेको समेत प्रहरी प्रमुख सिंहले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस