प्रदेश ५ मा सबैभन्दा धेरै ट्राफिक नियम उल्लंघन दाङमा

खबरशाला संवाददाता  |  श्रावण १०, २०७७

तुलसीपुर । प्रदेश ५ को १२ जिल्ला मध्ये प्रदेशभरमा सबैभन्दा धेरै ट्राफिक नियम मिचेर उठ्ने राजस्व दाङमा संकलन भएको छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख प्रेमप्रसाद रेग्मीले दिएको जानकारीअनुसार बितेको आर्थिक वर्षमा नियमविपरीत सवारी साधन बढी कारबाहीमा परेसँगै राजस्व पनि बढी संकलन भएको हो। 

दाङमा बन्दाबन्दीको समयमा पनि १६ लाख बढी राजस्व संकलन भएको छ। कोरोना भाइरसको संक्रमण देखिएपछि नेपालमा चैत ११ गतेबाट लकडाउन भएको थियो।

त्यसयता जिल्लामा नियम विपरीत सञ्चालन भएका २ हजार ५ सय ६३ वटा सवारी साधन कारबाहीबाट १६ लाख ३० हजार ५ सय रुपैयाँ राजस्व संकन भएको प्रमुख रेग्मीले बताए। 

चैत र वैशाखमा पूर्ण बन्दाबन्दी थियो त्यति कारबाहीमा परेनन्, असारयता सवारीसाधन चलाउन केही खुकुलो भएपछि कारबाहीमा पर्न सुरु गरे प्रमुख रेग्मीले भने। असार महिनामा एम्बुलेन्स, रिजर्भ गाडीसमेत कारबाहीमा परेको उनले बताए। 

उनका अनुसार बढी भाडा असुल्ने एम्बुलेन्स, रिजर्भमा हिँडेका गाडी तथा मापसे गरेर सवारी साधन चलाउने, ओभर स्पिड चलाउनेलाई दाङको ट्राफिक प्रहरीले कारबाही गरेको छ।
 

प्रतिक्रिया दिनुहोस