इन्टरनेट मर्मत २४ घण्टाभित्र नगरे सेवा शुल्क फिर्ता दिनुपर्ने

श्रावण ०८, २०७७

काठमाडौं । अब इन्टरनेट सेवाप्रदायकले अवरुद्ध सेवा समयमै मर्मत नगरे ग्राहकलाई सेवा शूल्कमा छूट दिनुपर्ने भएको छ । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा सञ्चालन सम्बन्धी विनियमावली जारी गर्दै नयाँ व्यवस्था लागु गरेको हो । 

नयाँ व्यवस्थाअनुसार  इन्टरनेट सेवाप्रदायक कम्पनीले सेवाग्राहीसँग सम्झौता २४ सै घण्टा सेवा उपलब्ध गराउने शर्तमा आफ्ना ग्राहकसँग सम्झौता गर्नुपर्नेछ । इन्टरनेट तथा ईमेल सेवा अवरुद्ध भएमा त्यसको सूचना प्राप्त भएको २४ घण्टाभित्र मर्मत गर्नुपर्नेछ ।

निर्धारित समयभित्र मर्मत गर्न नसकेमा ग्राहकलाई मर्मत गर्न नसकिएको अवधिभरको सेवा शूल्क छूट दिनुपर्ने व्यवस्था विनियमावलीको अनुसूची ५ मा राखिएको सम्झौताको शर्त तथा बन्देजमा उल्लेख छ । यसरी अवरुद्ध सेवा सञ्चालन गर्दा लाग्ने लागत समेत कम्पनी आफैंले व्यहोर्नुपर्नेछ ।

त्यसका साथै प्राविधिक कारण वा मर्मतको कारण सेवा अवरुद्ध हुने भएमा सेवाप्रदायकले ग्राहकलाई तीन दिन अगावै जानकारी दिनुपर्ने व्यवस्था समेत गरिएको छ । शर्त अनुसार सेवाप्रदायकले सेवा दिन नसकेको खण्डमा नियामक नेपाल दूरसञ्चार प्राधिकरणमा उजुरी दिन सकिनेछ । 

विनियमावली दूरसञ्चार क्षेत्रको नियमनकारी निकायको रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणको बोर्ड बैठकले गएको असार ५ गते पारित गरी कार्यान्वयनमा ल्याइसकेको छ ।

प्रतिक्रिया दिनुहोस