कानून विनाकाे सीमा सुरक्षा

प्रकाश रेग्मी “राजन”  |  श्रावण ०१, २०७७

प्रकाश रेग्मी “राजन”

नेपाल र भारतको सीमानामा काँडेतारको व्यवस्था गर्नुपर्ने आम नेपाली जनताको आवाज उठीरहेको बेला कानुनी व्यवस्थाको अपर्याप्तता महशुस गरिएको छ । भारतीय सीमा सुरक्षा बल (एसएसबी)लाई जति कानूनी अधिकार सम्पन्न बनाईएको छ त्यस्तो नेपालको सीमा सुरक्षा फौजलाई छुट्टै कानूनी अधिाकारको व्यवस्था छैन । यसै सन्दर्भमा नेपालको संविधान बमोजिम परमादेश जारी गरी उचित उपचारका साथै संवैधानिक हकको प्रचलन गराई पाउँ भन्ने माग सहित असार ७ गते सर्वाेच्चमा रिट निवेदन दर्ता भएकोछ । कोभिड १९ को माहामारीको जोखिम दिनप्रतिदिन बढ्दै गईरहेको छ । तैपनि अधिवक्ता सुबाश विश्वकर्मा, अधिवक्ता शालिकराम सापकोटा समेतले अदालतमा उपस्थित भै सीमानाको सुरक्षा संबन्धी कानून तत्काल बनाई सीमानाको रक्षा गरियोस भनि रिट दिएका छन् ।उक्त रिटमा नेपालसरकार प्रधानमन्त्री तथा मन्त्रीपरीषदको कार्यालय समेतलाई विपक्षी बनाइएको छ । सम्मानित सर्वाेच्च अदालतले सरकारका नाममा असार १२ गते नै कारण देखाउ र अग्राधिकार को आदेश जारी गरिसकेको छ ।नेपाल र भारत बिच रहेको खुला सीमानालाई यथाशिघ्र सीमाना सुरक्षा सम्बन्धी कानून निर्माण गरेर मात्र सीमाना व्यवस्थापन गर्न सकिन्छ । नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वतन्त्रता, स्वाधिनता तथा राष्ट्रियहित को रक्षा गर्नु रिट निवेदनको मुख्य आशय हो ।

पृथ्बी नारायण शाहले भनेका थिए, नेपाल दुई ढुंगाको तरुल हो । दुई विशाल मुलुक चिन र भारतका बीचमा नेपाल अवस्थित छ । नेपालको उत्तरमा चिनको सीमाना छ भने दक्षिण, पूर्व र पश्चिममा भारतको खुला सीमाना रहेको छ । खुला सीमानाका कारण नेपाल भरत बीच आवागमनमा सुविधाहरु नभएका होइनन् । आर्थिक रुपमा सहजता, सांस्कृतिक र धार्मिक हिसाबले चारधाम यात्रा, रोटी–बेटीको रगतसँगकोे आपसी सामाजिक संबन्धहरु पनि छन् । नेपाल र भारतबीच पारिवारीक सम्बन्ध छ भन्दा फरक नपर्ला । दुवै देशमा कहिलेकाँही संकट पर्दा एकअर्काेमा सहयोगीको भावना नरहेको पनि पाईदैन । मानवीय व्यवहार, स्वास्थ सेवा, उपचार, शिक्षा, दैनिक उपभोग्य खाद्यबस्तुको खरिदबिक्रि एकै आगन जस्तो पनि भैरहेको छ । स्थानिय श्रमिकहरुको आपूर्ति केहि हदसम्म दुवैतर्फ सहज भएको पनि छ । तर खुला सीमाना हुनुको बिडम्बना नेपालका २३ वटा जिल्लाको ७१ स्थानमा ६०,६६२ हेक्टर जग्गासीमाना तथा दशगजा क्षेत्र भारतिय अतिक्रमणको चपेटामा गुज्रीरहेका छन् । यसबाट के देखिन्छ भने नेपालकोभूमी भारतको मिचाहा प्रवृतिमा परिहेको छ ।

नेपाल कहिल्यै कसैको औपनिवेशिक र पराधिन भएन । पूर्खाहरुले मूलुक भरी छरीएर रहेका बाइसे, चौबिसे राज्य एकताको सूत्रमा बाँधे । छरिएर रहेका सामन्ती राजा रजौटाहरुलाई एकीकृत गरेर नेपाल राष्ट्रको निर्माण गरेका थिए । पूर्खाले स्वाधिन, अखण्ड राष्ट्रका नेपाली नागरीकहरुलाई भूमीको रक्षा गर्ने सार्वभौमसत्ता र राजकीयसत्ताको जिम्मेवारी सुम्पियका छन् । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सार्वभौमसत्ताको प्रतिकुल हुनेगरी आजसम्म संविधान वा अन्य कुनै कानून बनेका छैनन् र बन्ने पनि छैनन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता, स्वाधिनता, स्वाभिमान नेपालीका पहिचान हुन् । नेपालीको हकहितको रक्षा, सीमानाको सुरक्षा, आर्थिक समुन्नती र समृद्धि नै स्वाधिन नेपालको निर्माणमा एक जुट हुनु पर्ने आजको लोकतान्त्रिक गणतन्त्रको सहि अभ्यास ठहरिने छ ।

विश्वका सवै राष्ट्रको सार्वभौमसत्ता र अखण्डताको हैसियत समान हुन्छ । ठूलो देशको ठूलो र बलियो सार्वभौमसत्ता, अखण्डता हुने तर सानो देशको निर्वल सार्वभौमसत्ता र अखण्डता हुन्छ भन्न मिल्दैन । सवै राष्ट्रहरुको स्वतन्त्रता, स्वाधिनता, सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हित बराबर हुन्छ । सानो राष्ट्र होस वा ठूलो राष्ट्र सबैलाई सार्वभौमसत्ता र अखण्डता उत्तिकै प्यारो हुन्छ । ठूलो राष्ट्रका जनताले जति आफनो देशलाई माया गर्दछन त्यति नै सानो देशका जनताले पनि आफनो देशलाई माया गर्दछन । त्यसैले हामी जहाँ रहेपनि हाम्रो देश नेपाललाई माया नगर्ने र नेपालको अस्तित्व नखोज्ने कोही छैनौं । नेपालमा सीमाना संरक्षण सम्बन्धी कानुन बनाएर मात्र सीमानाको रक्षा, राष्ट्रिय हितको संरक्षण गर्न सकिन्छ । भुपरिवेष्ठीत देश नेपालकोसीमानाको रक्षा रसंरक्षणका लागी उपयुक्त कानुन बनाएर सार्वभौमसत्ता, अखण्डता र राष्ट्रिय हितको रक्षा गर्न सकिन्छ । समान आकांक्षा, राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रियहित तथा समृद्धिप्रति आस्थावान रहि एकताको सुत्रमा आवद्ध सवै नेपाली जनता समष्टीमा एक राष्ट्र मानिएको छ । नेपाल स्वतन्त्र अविभाज्य ,सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघिय लोकतान्त्रीक गणतन्त्रात्मक राज्य भैसकेको छ ।

भारतको खुला सीमानाको कारणलेसांगठनिक अपराधहरु र सीमानामा आंतककारी गतिविधि मौलाएको छ ।सीमाक्षेत्रमा हातहतियार एवं बिस्फोटक पदार्थको अवैध कारोवार निरन्तर भैरहेको छ । नेपाली चेलीबेटीहरुको बेचविखनको केन्द्रबिन्दु नै भारत बनेको छ । संयुक्त राष्ट्रसंघ महिला विकाश कोष, माईती नेपालको सर्वेक्षणलाई हेर्दा नेपाली महिला भारतमा विक्री भैरहेका छन् । नेपाली चेलीबेटीहरु भारतका विभिन्न देहव्यापारका केन्द्रहरु र रेडलाईट गल्लीहरुमा नारकिय जिवन बिताइरहेका छन । भारतीय बाटो हुँदै अन्य मुलुकमा समेत नेपाली महिलाहरुको बेचविखन हुन पुगेको अवस्था छ । तेश्रो देशका व्यक्तिहरु शरणर्र्र्थीको रुपमा घुसपैठ गर्ने गरेका पनि छन् । भारतीय नागरिकले नेपाल र नेपाली नागरिकले भारतमा बसाई सराई गर्ने र नागरीकता लिने क्रम चलेकै छ । निर्वाचन हुदाँ वारी बाट पारी, पारी बाट वारी गर्ने अवस्था विद्यमान छ । नक्कली शैक्षीक प्रमाणपत्रहरु खरीद बिक्रि,मालसामानको खुला तस्करी, राजस्व छली तिब्ररुपमा चलेको देखिन्छ । नेपाल र भारतको खुला सीमानाको कारणले विशेषगरी नेपालको राष्ट्रिय सुरक्षामा गम्भीर असर परेको देखिन्छ ।

छिमेकी देश भारतले अतिक्रमण गरेकासुदुर पश्चिम देखि सुदुर पूर्वसम्मका क्षेत्र छन् । नेपालका अतिक्रमित भूमीहरुमा दार्चुला(व्यास लिपुलेक–कालापानी–लिम्पीयाधुरा) कन्चनपुर(बह्मदेव बजार, टनकपुर व्यारेज, शारदा व्यारेज, वनबासा तटबन्ध, रौतेली विचवा,झिलमिला शुक्लाफाँटा वन्यजन्तु आरक्षणक्षेत्र, फटिया गाँउ, परासन प्याराताल), कैलाली(फुलवारी लालबोझी), वर्दीया(खैरीचन्दनपुर खैरीगाँउ चौगुर्जी),बाँके(होलियो धोरढोर), दाङ्ग(कोइलावास), कपिलवस्तु(कुष्णनगर), रुपन्देही(मर्चवार क्षेत्र), नवलपरासी(सुस्ता), चितवन(वाल्मिकी आश्रम क्षेत्र, माडी कल्याणपुर, पर्सा(ठोरी जानकीटोला मितेरी पुलरौतहट,जोकाहा जमुना जयनगर), सर्लाही(त्रिभुबननगर संङ्ग्रामपुर), महोत्तरी(सम्सी, सिसवा कटैया), सिरहा(माडर ठाँडी र भाटी बलान), सप्तरी(देउरी,बनिनिया भुतहिधार,छिन्नमस्ता सखडा, लालापट्टी गोविन्दपुर, तिलाठी,कुनौली,गोवारगाढाविष्णुपुर शिवनगर,गोबरगाढा), सुनसरी(कप्तानगंन्ज साहेबगन्ज), मोरङ्ग(रानी जोगबनी रंङ्गेली, बरडन्गा बक्राहा), झापा(कोरोबारी पाठमारी, महेशपुर मेची किनार ज्यामिरगढी काँकडभित्ता भान्साखोला नकलबन्दा, बाहुनडाँगी), इलाम(श्रीअन्तु गोख माने भन्ज्याङ माइमजुवा, सन्दकपुर पर्यटकीय स्थल, तुम्लिम देखि कालपोखरी सम्म), पाँचथर(प्राङ्बुङ, च्याङथापु), ताप्लेजुङ्ग(तिम्बुङपोखरी पूर्वी डाँडा, कालीखोला काबेली खोला याम्फुदिन लेलेप कञ्चनजङ्घा आधार शिविर) आदि रहेका छन् ।

नेपाल र भारतबीचको सीमानामा अवस्थित जंङ्गे सीमाना खम्बाबाट भारत तर्फ दशगजा र नेपाल तर्फ अर्को दशगजा गरी बिसगज चौडा भुमीको भाग लाई छोडेर दशगजा क्षेत्र कायम गर्ने व्यवस्था गरिएको छ । दसगजा क्षेत्र मानवरहित भुमि हो । नेपाल र भारतसीमानामा छुट्याएको जंगे पीलर र सहायक पीलरहरुको अवस्थाः नापी विभागको अभिलेख लाई हेर्दा नेपाल भारत सीमा खम्बाको संख्या ८,५५३ एकिन गरिएकोमा ९१६ अंग्रेजका पालामा गाडीएका जंगे पीलर स्तम्भ र ५२७६ खम्बा जमिनमा बनाइएको पाईन्छ । ३,२७७ सहायक स्तम्भहरु निर्माण गर्न बाँकी रहेकोमा १,६३८ सहायक स्तम्भहरु विभिन्न नदी तथा खोला, खहरे, नालाको पानीमा पर्ने भएकोले निर्माण गर्न नसकेको देखिन्छ । गाडिएका खम्बाहरु मध्ये १३२५ सीमाखम्बा गायव पारिएको छ ।

यी मध्ये धेरै जसो उखेलेर फालिएको छ भने कतिपय खम्बाहरु पानीले बगाएको छ । जलाशय भित्र जंगे सीमाना खम्बाहरु डुबेका छन । यी मध्ये १८९ खम्बा जीर्ण अवस्थामा रहेका छन । करिब १९५६ खम्बा मर्मत गर्नुपर्ने छन ।सन् १८१६ को सुगौली सन्धीदेखि हाल सम्म मुल सीमास्तम्भहरु नेपाल भारत सीमानामा सिमांकन गर्न सकिएको छैन । समयको हिसाबले हेर्दा दुई शताव्दी सम्म पनि सीमाविहिनताको अवस्था रहेको छ । जसले गर्दा राती सुत्दा नेपाली भोलिपल्ट उठ्दा भारतीय हुने समस्या नेपाल भारत सीमानामा ज्यू का त्यूँ छ ।

नेपाली जनताले राष्ट्रीय लोकतान्त्रिक अग्रगामी परिवर्तनकालागी पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संर्घष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई स्मरण गर्न सकिन्छ । यसको उपलव्धी भनेकै हामी सार्वभौमसत्ता संम्पन्न नेपाली जनताको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता राष्ट्रिय एकता स्वाधीनता र स्वाभीमानलाई अक्षुण्ण राखी जनताको सावैभौम अधिकार स्वायत्तत्ता र स्वशासनको अधिकार लाई आत्मसात गरी संविधानसभाले मूल कानूनसंविधान बनायोे । यही संविधानको निष्ठा र मार्गदर्शनमा संपूर्ण नेपालीहरु आफनो सार्वभौमिकत्ता र भौगोलिक अखण्डताको रक्षा गर्न सक्षम रहेकाछन् ।

नेपालको संविधान २०७२ को धारा ३ बमोजिम नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक बिशेषतायुक्त, भौगोलिक विविधतामा रमणीय मुलुक हो । नेपालको संविधानको धारा १७ मा संघिय एकाई बिचको सु–सम्बन्ध नेपालको सुरक्षामा आँच पु्याउने कार्यहरु संविधान द्धारा रोक लगाउने भनिएको छ । त्यसैगरीे धारा ५१(क)मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधिनताको संरक्षण गदै राष्ट्रिय एकता अक्षुण्ण राख्ने राष्ट्रिय एकता र राष्ट्रिय सुरक्षा सम्बन्धी निती हुनेछ भनिएको छ ।

धारा २६७ को मा नेपालमा कुनै कारणले गम्भीर संकट उत्पन्न भएमा राष्ट्रिय सुरक्षा परिषद नेपाल सरकारको सिफारिशमा राष्ट्रपतिबाट नेपाली सेना परिचालनको व्यवस्था गरीएको छ ।

नेपालको मुलुकी फौजदारी संहिता, २०७४ को दफा ४९ विदेशी राज्य, सरकार वा संगठित शक्ति संग मिलि कुनै प्रकारको षड्यन्त्र गर्न, दुरुत्साहन गर्न, उद्योग गर्न हुदैन भन्ने सार्वभौमसत्ता, अखण्डता तथा सीमानारक्षा सम्बन्धी व्यवस्था छ । नेपालको सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय स्वधिनता, स्वतन्त्रता र राष्ट्रियहित संरक्षण गर्ने सीमाना अतिक्रमणको कानूनलाई सामान्य प्रकृतिको कसूर ठानिएको छ ।नेपाली नागरिकले आफनो देशको सीमाना अतिक्रमण गर्दैन, सीमास्तम्भ हटाउदैन, परिवर्तन गदैन ।

विदेशी नागरिकले सीमास्तम्भ अतिक्रमण गरेमा, हटाएमा वा परिवर्तन गरेमा यो ऐनको बहुक्षेत्रिय प्रयोग गरी कसुरमा सजाय हुनेछ भन्ने व्यवस्था पनि मुलुकी फौजदारी संहीतामा उल्लेख गरिएको छैन । छिमेकी राष्ट्रले सीमा अतिक्रमण गरेमा, गर्न लगाएमा, सीमाना हटाएमा, हटाउन लगाएमा, परिवर्तन गरेमा प्रस्तुत ऐन बमोजिम सजाय गर्न मिल्दैन । यो गम्भीर प्रकृतिको कसूर हो भनि मूलुकी अपराध संहिता २०७४ मा समेत व्यवस्था गरिएको छैन । तसर्थ विद्यमान कानूनमा सीमानारक्षा र राष्ट्रियहितको संरक्षण गर्न बलियो आधारको कमि देखिन्छ ।

सशस्त्र प्रहरी ऐन, २०५८ को दफा ६ मा शसस्त्र प्रहरीले नेपालको सीमा सुरक्षा गर्ने भनि व्यवस्था छ ।सशस्त्र प्रहरी ऐन २०५८ मा सशस्त्र प्रहरीको संचालन संवन्धमा सशस्त्र प्रहरीको १२ वटा काम मध्ये नेपालको सीमा सुरक्षा गर्न भनि तोकिएको छ । शसस्त्र प्रहरी विशेष सीमा सुरक्षा प्रहरी नभएर सशस्त्र संघर्ष, बिद्रोह, पृथकताबादी , आतंककारी गतिविधि नियन्त्रण गर्न, दैवी प्रकोप र माहामारीबाट पीडितको उद्धार गर्न, गंम्भीर प्रकृतिका अपहरण तथा अशान्ती नियण्त्रण गर्न, सार्वजनिक महत्वका भवन स्मारकहरुको सुरक्षा, नेपाल सरकारले सुरक्षा दिनुपर्ने भनि तोकेका व्यक्तिहरुको सुरक्षा गर्ने लगायतका कामहरुका बिच सीमारक्षागर्ने जिम्मेवारी समेत शसस्त्र प्रहरीलाई सुम्पीएको छ ।

शसस्त्र प्रहरी माईतीघर मन्डलामा उभिएर हुलदंगा नियन्त्रण गर्न पानीको फोहोरा फाल्ने देखि लिएर विशिष्ट व्यक्तिहरुको चौकिदारी र सीमाको रक्षालाई एउटै विषय भित्र राखिएको छ । शसस्त्र प्रहरीलाई सीमानाको रक्षा गर्ने भनिएपनि भंन्सार कार्यालयको रक्षाका लागी मात्र राखिएको सीमा क्षेत्रमा रहेका भंन्सार कार्यालय भित्र मात्र शसस्त्र प्रहरीको केन्द्रिकरण नै छ । शसस्त्र प्रहरीलाई दिईएको जिम्मेवारीले नेपालको सीमाको रक्षा गर्न असफल भैरहेको छ ।

सैनिक ऐन, २०६३ को दफा ४ मा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाको लागि नेपाली सेनको स्थापना गरिनेछ भनि व्यवस्था गरीएको छ । नेपालको संविधानको धारा २६६ ले नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेनाको परिचालन वा नियन्त्रण गर्नका लागी प्रधानमन्त्रीको नेतृत्वमा सात सदस्यीय सुरक्षा परिषदको संविधानमा व्यवस्था गरीएको छ ।

नेपालको राष्ट्रिय सुरक्षा नीति २०७३ मा सार्वभौमसत्ता, अखण्डता तथा सीमानारक्षा सम्बन्धी व्यवस्था राष्ट्रिय नीतिको अवलम्बन गरीएको छ । राष्टिय सुरक्षा नीतीमा सीमा तथा अध्यागमनको प्रभावकारी नियमन, व्यवस्थापन र नियन्त्रण गर्ने सम्बन्धमा जनचेतना अभिवृद्धी गर्न, जरुरी छ । संविधानको मर्म सिद्धान्त तथा व्यवस्था संगत हुने गरी सुरक्षा सम्बन्धी ऐन कानुन बनाउने र लागु गर्ने रणनितिक लक्ष्य भित्रको कार्यनीतिहरुका रुपमा अंगिकार गरीएको छ ।तर सीमा रक्षाका निम्ती सेनाको भुमिकाको विषयमा ऐनमा कुनै व्यवस्था गरीएको छैन ।

बलियो पर्खालले असल छिमेकी जन्माउँदछ अमेरिकी कविले भन्नु भए झै सीमाना व्यवस्थापन संम्बन्धमा अन्तरराष्ट्रिय अभ्यासहरु के कस्तो छ केलाउनु पर्ने हुन्छ । विश्वमा रहेका सीमानाव्यवस्थापन प्रणालीहरुलाई हेर्दा मुख्यतः तीनवटाप्रणालीहरु रहेको पाईन्छ । पहिलो खुला सीमा प्रणाली अमेरिका र क्यानडा, नेपाल र भारतका बिचमा रहेको छ ।

दोस्रो सीमा प्रणाली विवाद नरहेको देशहरुमा पासपोर्ट भिसा देखाएर अध्यागमन अधिकारीको जाँचबुझबाट यात्रुको आवागमन र प्रत्यागमन गर्ने गरीन्छ । कतिपय देशहरु बीच सीमानामा तारजाली र पर्खाल लगाएर आफनो सीमाना संरक्षण गरिएका छन् । भारतले बंगलादेश, म्यानमार, पाकिस्तानबीच तारजाली लगाएर सीमाना सुरक्षा गरेको छ ।तेस्रो बन्द सीमा प्रणाली विल्कुलै आफनो देशमा प्रवेश नै गर्न नदिने प्रतिबन्ध लगाईएका पर्दछन । उत्तर कोरीया र दक्षिण कोरियाको बीचमा सीमानै बन्द रहेको छ ।

अन्र्तराष्ट्रिय सीमा विवादहरुलाई हेर्दा अन्तराष्ट्रिय सीमानामा भूमि विवाद भएको अवस्थामा तारजाली वा दिवाल उठाएर सीमाना व्यवस्थापन गरिएको देखिन्छ । दक्षिण कोरिया र उत्तर कोरिया, कुवेत र ईराक, साउदी अरविया र इराक, उज्वेकिस्तान र किर्गिस्तान, इजरायल र लेवनान, वेलीज र ग्वाटेमाला देशहरुले विवादित भुमी भएको कारणबाट तारजालीर पर्खाल लगाई सीमा व्यवस्थापन गरेका छन ।

सीमानामा तारजाली लगाउनुको मुख्य उद्देश्य गैरकानुनी आप्रवासन र आतंकबादी कृयाकलाप निषेध गर्नका लागी लगाईएको भनि तारजाली लगााउनुको बैधतालाई पुष्टी गरिएकोे छ । अमेरिका र मेक्सीको सीमानामा पर्खाल लगाईरहेको छ । सर्विया गणराज्य र इंगल्यान्डबीच दिवाल उठाएर सीमाना व्यवस्थापन गरेको देखिन्छ । तसर्थ तारजाली र दिवाल लगाउनु वैधता मानिएको छ ।

नेपालको संविधान, कानुन र नीतिमा सीमा संरक्षणका आधारहरु पर्याप्तछैनन् । मौलिक हकको कार्यान्वयन संवन्धमा प्रदत्त हकको प्रचलनको लागि आवश्यकता अनुशार राज्यले संविधान प्रारम्भ भएको तीन वर्ष भित्र कानूनी व्यवस्था गर्नेछ भनि संविधानमा व्यवस्था गरिएको भएता पनि सार्वभौमसत्ता, अखण्डता र सीमानाको सुरक्षा संवन्धी विशेष कानून बन्न सकेको छैन । सुगौलि सन्धि पश्चातपनि नेपाल भारत सीमानामा सवै पिलर गाड्न सकिएको अवस्था छैन । नेपालको सीमाना अध्यावधिक गर्न नसकिएको अवस्था छ । भारतले जंगे पिलर आफूखुसी गाड्ने र नेपाली भुमिलाई आफनो भूमि हो भनि दावी गरेको कारणबाट सीमा नक्सालाई निष्कर्षमा पु्याउन सकिरहेको अवस्था छैन ।

अमेरीकी सेक्यूरीटी फेन्च एम्ट २००६ ले अमेरीका र मेक्सीको बीच काँडेतार एवं पर्खाल लगाउने भनिएको छ । त्यसैगरी सीमाना सुरक्षाको लागी बिशेष कानून सीमाना सुरक्षाबल ऐन, १९६८ बनाई भारतले आफनो देशको संम्पूर्ण सीमाना सुरक्षा गरेको छ । जसरी भारतीय सीमा सुरक्षा बल –एसएसबी) ले आफ्नो उपयुक्त छुट्टै कानूनका आधारमा सीमा सुरक्षा गरिरहेको छ त्यसरी नै नेपालमा पनि विशेष प्रकृतिको सीमा सुरक्षा कानून आबश्यक छ ।

सीमा सुरक्षा प्रहरी बल जसले सीमा सुरक्षा, सीमामा हुने अपराधिक गतिविधीहरु, शक्तिहरुको प्रयोग, सीमा प्रहरीहरुद्वारा गरीने र सीमा प्रहरीहरुको परीचालन, नियन्त्रण र कार्यान्वयनको लागी रक्षा मन्त्रालय अन्तर्गत राज्य सीमा सुरक्षा कार्यान्वयन गर्न, एकीकृत सीमाना व्यवस्थापन गर्न सक्षम प्रशासनिक अधिकृतहरुको नियुक्ति हुने गरी कानून बनाइनु पर्दछ । सीमा संरक्षण संम्बन्धी अन्तराष्ट्रिय कानूनको अनुभवबाट नेपालले तत्काल सीमा सुरक्षा र संरक्षण संम्बन्धी कानून बनाउनु पर्ने आवश्यकता देखिएको छ ।राष्ट्रिय झण्डामा सूर्य र चन्द्र अंकित रहेको झण्डाको भाव जबसम्म सूर्य र चन्द्र रहन्छ तब सम्म नेपाल स्वतन्त्र र अखण्ड रहिरहनेछ ।हामी स्वाधिन राष्ट्र नेपालका नागरिक हाैत्यसैले हाम्रो जिवन भन्दा पनि प्यारो छ देश नेपाल ।

प्रतिक्रिया दिनुहोस