दाङमा पहिलाेपटक तेस्राे मुलुकबाट आएका व्यक्तिमा काेराेना पाेजेटिभ

असार ३०, २०७७

तुलसीपुर । दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका पाँच जनामा कोरोना संक्रमण देखिएको छ। उनीहरू पाँचै जना बबई गाउँपालिका निवासी हुन्।

बाँकेको भेरी अस्पतालमा मंगलवार गरिएको पिसिआर परिक्षणका क्रममा उनीहरूमा कोरोना संक्रमण देखिएको हो। संक्रमित बबई गाउँपालिका वडा नम्बर ६ का ४३ र ३८ वर्षीय, वडा नम्बर २ का २४, वडा नम्बर ३ का २८ र वडा नम्बर ४ का  ४२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको बबई गाउँपालिका अध्यक्ष भवनेश्वर पौडेलले जानकारी दिए। संक्रमित मध्य चार जना कुवेतबाट र एक जना दुवईबाट आएका रहेका छन्।

‘करिव १३/१४ दिन पहिले कुवेत र दुवईबाट आएर उनीहरू क्वारेन्टाइनमा बसेका थिए,’ गाउँपालिका अध्यक्ष पौडेलले भने,‘आज पिसिआर परिक्षणका क्रममा ५ जनामा कोरोना पुष्टि भएको हो।’ कोरोना संक्रमण देखिएका पाँचै जनालाई उपचारका लागि कोरोना विशेष अस्पताल बेलझुण्डी लगिएको बबई गाउँपालिकाका अध्यक्ष पौडेलले बताए।

उनका अनुसार पदमपुर क्वारेन्टाइनमा तेश्रो मुलकबाट आएका ५५ जना छन्। उनीहरू पनि त्यही क्वारेन्टाइनमा बस्दै आएका थिए। दाङमा पहिलो पटक तेश्रो मुलुकबाट आएका नागरिकमा कोरोना संक्रमण देखिएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन्।

‘यो भन्दा पहिले भारतबाट आएकाहरुमा कोरोना संक्रमण देखिएको थियो, भारत भन्दा बाहिरबाट आएकाहरुमा कोरोना देखिएको थिएन,’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘आज पहिलो पटक तेश्रो मुलुकबाट आएका व्यक्तिहरुमा पनि कोरोना देखिएको छ।’ योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ६ सय ३१ जना पुगेको छ। दाङमा कोरोनालाई जितेर चार सय ७९ जना घर फर्किएका छन्।

प्रतिक्रिया दिनुहोस