सावधान ! मास्क नलगाउँदा जरिवाना परिएला

असार ३०, २०७७


तुलसीपुर । तपाई घर बाहिर निस्कदै हुनुहुन्छ भने ख्याल गर्नुहोस् तपाईसँग मास्क त छ नि ? मास्क नलगाएर नै बाहिर कतै जाँदै हुनुहुन्छ भने तपाई प्रहरीको फन्दामा पर्नुहुनेछ । अर्थात तुलसीपुरमा मास्क नलगाएर हिड्नेलाई जरिवाना गरिने भएको छ । नागरिकलाई मास्क लगाउने बानी पार्नका लागि तुलसीपुर उपमहानगरपालिकाले साउन १ गतेदेखि यो नियम कडाइका साथ लागु गर्न थालेको छ ।


तुलसीपुर उपमहानगरपालिका विपद् व्यवस्थापन समितिको वैठकमा यस्तो निर्णय गरिएको हो । “मास्क नलगाउनेलाई १ सय जरिवाना गरेर मास्क दिइनेछ” नगरप्रमुख घनश्याम पाण्डेले भने । उनले लकडाउन खुकुलो पारेसँगै बजारमा भिडभाड बढेको र मास्क नलगाउँदा संक्रमण फैलन सक्ने कुरालाई मध्यनजर गरेर यस्तो निर्णय गरिएको वताए ।


विपद् व्यवस्थापन समितिका संयोजक नवराज लामिछानेले जरिवाना गरिएको रकम उपमहानगरपालिकाको कोरोना विपद् कोषमा जम्मा गरिने पनि जानकारी दिए । संक्रमण नफैलियोस् भन्नका लागि यस्तो निर्णय गरिएको पनि लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस