कसरी हुर्काउने बालबालिका

असार २५, २०७७

छोरोछोरीलाई सकारात्मक वातावरणमा हुर्काउनु हरकोही अभिभावकको चाहना हुन्छ । यसमा बालबालिका अनि अभिभावकहरुले सामना गर्नुपर्ने चुनौति पनि फरकफरक छन् । 

पहिले त अभिभावकको छोराछोरीसँगको सम्बन्ध राम्रो हुन सबैभन्दा महत्वपूर्ण छ । बाबुआमाले छोराछोरीसँग कस्तो सम्बन्ध राख्छन् त्यही अनुरुप उनीहरुको मानसिक स्वास्थ्य, आत्मनियन्त्रण र समाजिक अन्र्तक्रियाको क्षमता पनि प्रभावित हुने थुप्रै अध्ययन तथा अनुसन्धानहरुले पुष्टि गरिसकेका छन् ।  

अध्ययनहरुले अभिभावकहरुलाई छोराछोरीसँग राम्रो सम्बन्ध राख्न प्रोत्साहन गरेका छन् । बालबालिकालाई सकारात्मक शैलीमा हुर्काउनु भनेको एउटा त्यस्तो विधि हो जहाँ छोराछोरीमाथि कडाइ गर्नु र उनीहरुलाई जे मन लाग्यो त्यही गर्ने छुट दिनुका बीच सन्तुलन राख्नुपर्ने हुन्छ । उदाहरणका लागि दाजुबहिनी आपसमा पिटापिट गरिरहेका छन् भने उनीहरुमाथि सिधै जाइलाग्नुको सट्टा धैर्यतापूर्वक नियन्त्रणमा लिएर दुवैसँग उनीहरुले कस्तो अनुभव गरिरहेका छन् भनेर कुरा गरि, अन्त्यमा सबै मिलेर एकसाथ समस्याको समाधान खोज्न सकिन्छ । र यसलाई नै ‘पोजेटिभ प्यारेन्टिङ’ भनिन्छ । 


इलिनिओसमा अवस्थित मनोविश्लेषक एमिली एड्लीनले ‘द आर्ट एण्ड साइन्स अफ मम’ भन्ने ब्लग लेख्ने गरेकी छन् । उनले अभिभावकहरुको पालनपोषणको यो विधिलाई ‘सहानुभूतिपूर्ण विधि’ को नाम दिएकी छन् । यसो गर्नाले बच्चाहरुको मनोभावप्रति पनि ध्यान पुग्छ । उनीहरुले महसुस गरिरहेका व्यवहारिक चुनौति सम्बन्धी हामीले केकस्तो प्रतिक्रिया दिन्छौँ, त्यसले नै छोराछोरीसँगको आजीवन सम्बन्ध निर्धारित गर्छ ।  

तर धेरै अवस्थामा यो तरिका अपनाउनु अभिभावकका लागि अधिक संघर्षपूर्ण बन्ने गरेको विज्ञहरु बताउँछन् । अभिभावकले बालबालिकालाई नकारात्मक भावनाबाट पूर्ण रुपमा जोगाउनुले पछि उनीहरुलाई जीवनको त्यो पक्ष बुझ्नमा कठिनाइ हुन सक्ने बताइएको छ । 

मानसिक स्वास्थ्यका लागि नकारात्मक र सकारात्मक दुवै भावना उत्तिकै महत्वपूर्ण मानिन्छ तर प्रायः मानिसहरु रोग र त्रासतर्फ मात्र केन्द्रित रहँदा के कुराले हामीलाई खुसी दिन्छ भन्ने बिर्सिरहेका छन् । यस्तोमा यो हुर्काउने विधिले अभिभावकलाई छोराछोरीको नराम्रो व्यवहारका लागि बारम्बार नकारात्मक प्रतिक्रिया दिनुको सट्टा तिनले राम्रो व्यवहार, राम्रो काम गरिरहँदा फेला पार्न प्रोत्साहन गर्छ । यसबाट बालबालिकाहरु पनि समस्या हेरेर मात्र क्रियाकलाप गर्न प्रेरित हुनेछन् । यसरी आज किताब, ब्लग पोस्टलगायत विभिन्न लेखहरुले सकारात्मक हुर्काउने शैलीको प्रशंसा गरिरहेको भेटिन्छ । 

तर यसका नराम्रा पक्ष पनि छन् जस्तै अमेरिकी संचारकर्मी बार्बरा एरेनरिचका अनुसार जतिखेर पनि सकारात्मक रहिरहँदा यसले वास्तविकता नकार्ने, जस्तोसुकै नराम्रो घटनामा पनि हाँसीखुसी रहनैपर्छ भन्ने तनावपूर्ण भाव जगाउन सक्छ भने आफूसँग भइरहेका गलत कुरामा पनि आफैँलाई मात्र दोष दिने प्रवृत्ति विकास गराउन सक्छ । 

यसकारण पनि मान्छेमा सबै किसिमका भावनाहरु आवश्यक रहेको बताइन्छ । जस्तै सकारात्मक भाव सम्बन्ध स्थापनाका निम्ति महत्वपूर्ण छ भने नकारात्मक भावले चाहिँ तर्कपूर्ण रुपमा सोच्न र योजना बनाउनमा मद्दत गर्दछ । जस्तै कहिलेकाहिँ अभिभावकबाट पनि गल्ती हुन सक्छ, जसले उनीहरुलाई दुःखी बनाउँछ र उनीहरुले छोराछोरीमा यसको रिस् निकाल्न सक्छन् जुन गलत हो तर यो हरेक मान्छेमा हुने साधारण गुण हो ।

यसरी सकारात्मक हुर्काउने शैलीको अर्को पक्ष भनेको नकारात्मकताबाट टाढा राख्दा बालबालिकाले भविष्यमा कुनै नराम्रो घटनाको सामना गर्नुपरेमा उनीहरुलाई परिस्थित बुझ्नमा र त्यसको प्रतिक्रिया दिनमा कठिनाइ हुनेछ । त्यसैले कहिलेकाहिँ आमाबाबुले आफ्नो चिन्ता र आक्रोश व्यक्त गरेको हेरेर मात्र पनि तिनले धेरै कुरा सिक्न सक्छन् । बालबालिकाहरु सानो छँदा मात्र यो कार्य कठिन लाग्छ, उनीहरु ठूलो भएपछि भने सबै बुझ्न सक्ने हुन्छन् र भनेको नमान्दा अभिभावकले कस्तो महसुस गर्छन् भन्ने पनि थाहा पाउन थाल्छन् । 

तर बालबालिकासँगको सम्बन्धमा सकारात्मकतालाई मात्र बढावा दिनुले विशेषगरी आमाहरुका लागि भने ठूलो भार हुन सक्छ । किनकी उनीहरुले अदृश्य रुपमा पहिले नै परिवारका लागि अनेकौँ कष्ट र कठिनाइ सहिरहेका हुन्छन् जसकारण आमाले नै सबै गर्नेछिन् भन्ने अपेक्षाले व्यक्तिगत रुपमा आमाहरुलाई संवेदनशील बनाउँछ । यस्तोमा कतिपय कुरामा धैर्यता राख्नु तिनको मानसिक स्वास्थ्यका लागि अधिक हानिकारक साबित हुनेछ ।  

त्यसैगरी बच्चाहरुलाई सम्झाउने कुरामा जस्तै बच्चाले घरको वा बाहिरकै कुकुरलाई पनि हिर्काइरहेको हामीले फेला पार्यौँ भने उसलाई त्यसो नगर भनेर गाली गर्नुको सट्टा कुकुरबाट केही समय अलग राखि सो व्यवहार किन गलत हो  भनेर सम्झाउन सकिन्छ । तर यसको परिणाममा कुकुरले बच्चालाई टोक्न पनि सक्ने हुँदा पोजेटिभ प्यारेन्टिङ सधैँ उचित नहुन पनि सक्छ । तरपनि अभिभावकहरुले बालबालिकाको दीर्घकालीन भविष्यलाई हेरेर सकेसम्म धौर्यता र शान्ति अपनाएरै सबै समस्या समाधान गर्नु प्रभावकारी हुन सक्छ ।  
 

प्रतिक्रिया दिनुहोस