प्रेरणाको मुल फुटाउने गुरु

वसन्त आचार्य  |  असार २१, २०७७


“गिरती अज्ञानं इति गुरु” अर्थात अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने गुुरु । वैदिकाल देखि नै शिक्षाको क्षेत्रमा महा उत्सवका रुपमा रहेको यस दिनमा गुरुहरुलाई शिष्यहरुले पुज्ने समेत गर्दछन् । कथन अनुसार द्वापर युगको अन्त्य तिर चारबेद अठार पुराण, भगवान गीताको सम्पादन आजकै दिनमा समाप्त गरी वेदव्यासले आफ्ना शिष्यलाई दर्शन दिएकाले आजको दिनलाई गुरुपूर्णिमाका रुपमा मनाउने चलन रहेको छ । गुरुपुर्णिमाको विशेष अवसर पारेर भगवान गौतम वृद्धले पनि ज्ञान र उपदेश वाँड्न प्रारम्भ गरेकाले वौद्ध धर्मावलम्विहरुले पनि यसलाई विशेष अवसरका रुपमा मनाउने गर्दछन् । इश्वर र मातापिता सरह मानिने गुरुप्रति शिष्यको आस्था र सम्मानलाई प्रगाढ वनाउनमा एकवर्षपछि आउने यो पर्वले निकै महत्वपूर्ण भुमिका निर्वाह गरेको छ ।


संस्कृत साहित्यमा गु को अर्थ अन्धकार र रु को अर्थ हटाउने भन्ने हुन्छ यसरी दुई शब्दको संयोजनवाट वनेको गुरु शब्दको खास अर्थ उज्यालो भविष्य निर्माण गर्ने भनेर वुझ्ने गरिन्छ । गुरु जसले ज्ञानको भण्डार वोकेर विद्यार्थीका माझमा वाँड्ने गर्दछन् । जो सँग मान्छेलाई परिवर्तन गर्न सक्ने शक्ति रहेको हुन्छ । वास्तवमै वैदिककालको कुरालाई मान्ने हो भने सृष्टिलाई समृद्ध पार्नमा गुरुहरुकै मुख्य योगदान रहेको मान्न सकिन्छ । अहिले पनि समाजका ज्ञानको चेतना जगाउनमा गुरुहरुको महत्वपूर्ण भुमिका रहेको छ । तथापि गुरु र शिष्य विचमा रहेको सम्वन्धका वारेमा भने खुसी रहनुपर्ने अवस्था रहेको छैन । दुवैमा विस्तारै हराउदै गएको दायित्ववोध नै यसको एक प्रमुख कारण हो ।

नेपालको सन्दर्भमा अहिले शिक्षण पेशा सवैभन्दा निम्न पेशाका रुपमा रहेको छ र यसको साख विस्तारै ओरालो पनि लागिरहेको छ ।

विख्यात नाटककार शेक्सपियरले भनेका छन् “ तिमी मलाई आफ्नो साथीको वारेमा वताउ म तिमीलाई तिम्रो वारेमा वताउने छु ” एउटा मान्छे कस्तो हुने भन्ने सन्दर्भमा उसको संगतमा निर्भर रहनुपरे जस्तै विद्यार्थी, समाज र राष्ट्र कस्तो हुने भन्ने कुरा पनि शिक्षकमा निर्भर रहने गर्दछ । शिक्षक विद्यार्थीका लागि ऐना जस्तै हो । शिक्षक जस्तो हुन्छ विद्यार्थी पनि उस्तै रहने गर्दछ । अन्य पेशामा लागेको मान्छे खराब भयो भने ऊ स्वयम् खराव हुन्छ तर शिक्षण पेशामा लागेको मान्छे खराव भयो भने सारा प्रणाली नै खराव हुन्छ । अहिले पनि समाज शिक्षकलाई आदर्श मानेर चल्ने गर्दछ । शिक्षकले गरेका हरेक क्रियाकलाप सहि हो भन्ने सोच विद्यार्थीको दिमागमा रहेको हुन्छ । यसर्थ पनि शिक्षक हरेक पल परीक्षाको घडिमा हुन्छ ।

पाईलापाईलामा उसको नैतिकताको नापतौल भईरहेको हुन्छ । विकसित देशमा शिक्षकलाई सम्मान र सुविधाको उच्चतम श्रेणीमा राख्नुको मुख्य कारण यो पनि हो । शिक्षक देश र समाजका निर्माता पनि हुन् भने विनासकर्ता पनि हुन् । जीवनको एक मोडमा भेटिएका शिक्षकको प्रभाव जीवनको अन्त कालसम्म रहेको हुन्छ । विडम्वना नेपालको सन्दर्भमा अहिले शिक्षण पेशा सवैभन्दा निम्न पेशाका रुपमा रहेको छ र यसको साख विस्तारै ओरालो पनि लागिरहेको छ ।

विद्यार्थीलाई नैतिकताको पाठ पढाएर नथाक्ने शिक्षक आफु कति नैतिकवान छु भनेर नियाल्नु आवश्यक छ ।

शिक्षाविद् पावेलले विद्यार्थीलाई विरुवा, शिक्षकलाई मालि र विद्यालयलाई बगैचाका रुपमा चित्रित गरेका छन् । यी तिनै पक्षको समुचित समिश्रणवाट ज्ञानको प्रसार सहज हुने कुरामा उनले जोड दिएका छन् । विद्यार्थीका दायित्व र कर्तव्यका वारेमा कुरा गर्ने शिक्षक वर्गले पनि दायित्व र कर्तव्यका वारेमा चासो लिनु आवश्यक छ । विद्यार्थीलाई नैतिकताको पाठ पढाएर नथाक्ने शिक्षक आफु कति नैतिकवान छु भनेर नियाल्नु आवश्यक छ ।

रातदिन भट्टीमा व्यतित गरेर होस् या अन्य अनैतिक काम गरेर होस् कतिपय शिक्षकले विद्यार्थीको श्रद्धाको अवमुल्यन गरिरहेका छन् । विडम्वना त्यहि एकाध शिक्षकको प्रभावले कतिपय असल शिक्षकहरुमा समेत नकारात्मक प्रभाव परिरहेको छ ।

विद्यार्थीले आफुले शिक्षक प्रति गरेको व्यवहारको मूल्यांकन गरेर नै शिक्षक पेशामा आवद्ध नहुने प्रण गरेको हो ।


साता दिन अगाडीको कुरा हो भर्खरै एस.इ.इ‍‌ उत्तीर्ण गरेर उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुसँग एक कार्यक्रममा सहभागि हुने अवसर प्राप्त भएको थियो । विद्यार्थीहरुलाई “शिक्षक वन्न चाहने को को छ” भन्ने प्रश्न गर्दा कुनै पनि विद्यार्थीको हात हावामा उठेन सवै विद्यार्थी चुपचाप थिए । गुरुपूर्णिमाको पुर्वसन्ध्याको यो घटनाले विद्यार्थीहरुले किन शिक्षकको मर्यादा राम्रो सँग गरिरहेका छैनन् भन्ने कुराको पुष्टि हुन्छ । शिक्षक जव विद्यार्थीको आदर्श वन्न सक्तैन तव सम्म विद्यार्थीले शिक्षकलाई कुनै पनि प्रकारले ह्रदयवाट श्रद्धा गर्न सक्तैनन् । अहिले पनि समाजमा केही गर्न नसक्ने र सम्पूर्ण उपाय सकिएपछिको जागीरका रुपमा शिक्षणलाई लिने गरिन्छ ।

राम्रो शिक्षक वनेर आफ्नो र देशको भविष्यको उज्यालो मुहार कोर्छु भन्ने सोच निकै न्युनमा मात्र रहेको छ । अनि अहिले जति शिक्षक छन् त्यसमा मनले खाएर यो पेशा रोजेकाहरुको संख्यात्मक बाहुल्यता निकै कम रहेको छ । शिक्षण पेशा मजवुरीको पेशाका रुपमा लिने प्रचलनले अहिले हामी कहाँ विद्यमान छ । विद्यार्थीले आफुले शिक्षक प्रति गरेको व्यवहारको मूल्यांकन गरेर नै शिक्षक पेशामा आवद्ध नहुने प्रण गरेको हो ।

शिक्षकप्रतिको विद्यार्थीको श्रद्धा र सम्मानको साख किन घटिरहेको छ ? यसको वारेमा सवैले दिमाग खर्चनु आवश्यक छ । किनकी यो कुरा श्रद्धा र सम्मानमा मात्र निहित नरहेर देशको भावि जनशक्ति निर्माणसँग पनि जोडिएको छ । जसरी सफा मुलवाट निस्केको पानी सफा हुन्छ उसै असल शिक्षकले मात्र असल विद्यार्थी निर्माण गर्न सक्दछ ।


शिक्षकमा हुनुपर्ने पेशागत गुण धेरै हुन सक्तछन् तर प्रमुख कुरा शिक्षकले विद्यार्थीको मनोविज्ञानलाई समात्न सक्ने हुनु आवश्यक छ । एक कार्यक्रममा शिक्षाविद् विद्यानाथ कोईरालाले भन्नु भएको थियो “ शिक्षक कहाँ एउटा पढ्न मन नगर्ने, सधै अनुत्तीर्ण हुने र मन्द वुद्धिको विद्यार्थी आयो भने सोच्नुस् तपाईका लागि त्यो सवैभन्दा ठूलो अवसर हो ” वास्तवमा अहिले शिक्षकमा पनि देखिने कमजोरी भनेकै यहि हो ।

अहिले पनि नाम चलेका कलेजमा पढ्नका लागि निकै तिक्ष्ण वुद्धि भएको र राम्रो अंक ल्याएको अनिवार्य हुने प्रचलन छ । के मन्द वुद्धि , पढाईप्रति कम रुचि भएकालाई राम्रो वनाउनमा नाम चलेका शैक्षिक प्रतिष्ठानहरुले सक्तैनन् ?

शिक्षक राम्रा विद्यार्थीलाई पढाउन नपाएकोमा उदासिन हुन्छ तर नराम्रो भनिएका विद्यार्थीलाई उचित मार्गमा ल्याउन भने उसमा आत्मविश्वास पाउन सकिदैन । शिक्षक राम्रो र नराम्रो छुट्याउने दसी वन्नु कत्तिको उचित हो ? विख्यात वैज्ञानिक अल्बर्ट आईन्स्टाईनलाई सात वर्षको उमेरमा मन्द वुद्धि भएको र पढ्न नजान्ने भनेर शिक्षकहरुले विद्यालयमा प्रवेश रोक लगाएका थिए, नोवेल पुरस्कार प्राप्त कृति वार एण्ड पिसका लेखक लियो टाल्सटायलाई पढाईमा साह्रै अनिच्छुक विद्यार्थी भनेर शिक्षकहरुले कलेजमा निकै हेला गर्ने गर्दथे,विश्वविख्यात मुर्तिकार रोदिनलाई कमजोर र महामूर्ख भनेर शिक्षकहरुले विद्यालयमा भर्ना गर्न मानेका थिएनन् । यसरी शिक्षकका नजरमा कमजोर र मुर्ख सावित व्यक्तिहरु विश्वमै अब्बल वनेर दरिए ।


विद्यार्थीमा प्रेरणाको मुल फुटाउने शिक्षकहरुवाट नै विद्यार्थीलाई कमजोर सावित गरेर सम्भावनाको दियो निभाईदिने काम भईरहेको छ । जसले गर्दा अँध्यारोवाट उज्यालो तर्फ होईन उज्यालोबाट अँध्यारोतर्फ विद्यार्थीको भविष्यलाई अवतरण गराउनमा कतिपय शिक्षकहरु केन्द्रित रहेका छन् र कमजोरलाई सुधार्ने भन्दा पनि राम्रो विद्यार्थीलाई मात्र राम्रो वनाउने संस्कारको अहिले विकास हुदै गएको छ । अहिले पनि नाम चलेका कलेजमा पढ्नका लागि निकै तिक्ष्ण वुद्धि भएको र राम्रो अंक ल्याएको अनिवार्य हुने प्रचलन छ । के मन्द वुद्धि , पढाईप्रति कम रुचि भएकालाई राम्रो वनाउनमा नाम चलेका शैक्षिक प्रतिष्ठानहरुले सक्तैनन् ? यसरी विद्यार्थीमा आशाको ज्योति सल्काएर असल वनाउन सकिन्छ भन्ने सोच किन शिक्षकहरुमा पलाउन सकेको छैन ? अनि कसरी हुन्छ शिक्षको सम्मान र श्रद्धा ?

विद्यार्थीहरुले पनि भविष्य निर्माणकर्ता शिक्षक प्रति गहिरो श्रद्धा भाव र स्नेह राख्नुपर्दछ अन्यथा एकदिनलाई उत्सव मनाएर यो केही पनि हुने छैन ।


गुरु शब्दको महिमालाई पनि अहिले निकै हल्का रुपमा प्रस्तुत गर्न थालिएको छ । वैदिककादेखि संसारलाई उज्यालो पार्ने अभिभाराका साथमा पाएको गुरु नामलाई अहिले गाडी चलाउने चालकलाई गरिने सम्वोधनसँग जोडिएको छ । हो, उनीहरुको पनि आफ्नै प्रकारको विशिष्टता होला तर गुरु शब्दको विशिष्टतालाई त्यसले भने अबमुल्यन गरेको छ


गुरु पुर्णिमाको सार्थकताका लागि एकदिन उत्सव मनाएर भन्दा पनि शिक्षक र विद्यार्थीका विचमा निरन्तर सुमधुर सम्बन्ध कायम गरेर अगाडि वढ्नु मुख्य कुरा हो । सम्मान खोज्नका लागि सम्मान गर्न लायक व्यक्तित्व पनि निर्माण गर्नु आवश्यक छ । शिक्षकहरुले आत्ममूल्यांकन गरेर विद्यार्थीहरु प्रतिको सम्वन्धका वारेमा विचरणिय हुनु आवश्यक छ । विद्यार्थीहरुले पनि भविष्य निर्माणकर्ता शिक्षक प्रति गहिरो श्रद्धा भाव र स्नेह राख्नुपर्दछ अन्यथा एकदिनलाई उत्सव मनाएर यो केही पनि हुने छैन । एक चिनिया भनाई छ मलाई पारि जानका लागि पहाडले छेकेको होईन आफ्नै जुत्ता भित्रको सानो ढुंगाले गर्दा हो । हामी शिक्षकहरुले पनि आफु भित्रको ढुंगा फालेर मात्र श्रद्धाको पहाड चढ्न खोज्ने कि ?

प्रतिक्रिया दिनुहोस