टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

असार २०, २०७७

प्युठानमा चुनढुङ्गा बोकेको टिपर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको खप्रेङ खोलाबाट दाङको कालाकाटे स्थित शुभश्री अग्नि सिमेन्ट उद्योगका लागि चुनढुङ्गा बोकेर आउँदै गरेको ना ७ ख ८९३८ नम्बरको टिप्पर शनिबार बिहान दुर्घटनामा परेको हो।

दुर्घटनामा परी टिपर चालक नौबहिनी ६ पिपलटारीका ३० बर्षीया रोशन थापा र सहचालक अन्दाजी बर्ष २७ का जोगबहादुर पुनको मृत्यु भएको प्यूठानका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्किले जानकारी दिनुभयो।

भालुवाङ प्यूठान सडकखण्ड अन्तर्गत सरुमारानी गाउँपालिका वडा नम्बर ६ मोतिपुरस्थित भीरबाट झण्डै ५ सय मिटर तल माडी नदीमा टिपर खसेको जनाइएको छ । अहिले घटनास्थलमा प्रहरी पुगेर र उद्धारको काम भइरहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस