दाङ्गका पालिकाहरुमा प्रतिष्ठान आतंक

असार १, २०७७


तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले निशुल्क चेकजाँच गरिएको भनेको स्वाब परीक्षणको शुल्क माग गरेर दाङ्गका स्थानीय तहहरुमा पत्र पठाएपछि आतंक सृजना भएको छ । अहिलेसम्म चेकजाँच भएका सबैको स्वाब प्रतिव्यक्ति ५ हजार ५ सयका दरले रकम माग गरेर पठाएपछि पालिकाहरुमा आतंक सृजना भएको हो ।


“प्रदेश र संघले दिएको पैसा कहाँ गयो, आतंक सृजना गर्न यस्तो संकटको समयमा पैसा माग गरेर पत्र काट्नु गैर न्यायिक छ ” तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले वताए । उनले तुलसीपुरमा अहिलेसम्म चेकजाँच भएका १ हजार १२ जनाको एकमुष्ट ५५ लाख ६६ हजार रुपैया माग गरेर पत्र पठाइएको जानकारी दिए । त्यस्तै लमही नगरपालिकामा ४ सय ७१ जनाको २५ लाख, ९० हजार ५ सय रुपैया माग गरेर पैसा पठाइएको छ । नगरप्रमुख कुलप्रसाद केसीले अचानक पैसा तोकेर माग्नु जायज नभएको वताए ।


दंगिशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले संकटको समयमा सहयोग गर्नुको साटो मन लाग्दो तरिकाले रकम माग गरेर पत्र पठाउनु मानवताहिन कुरा भएको वताए । “हामीकहाँ ३ सय जनाको परीक्षण भएको थियो १६ लाख ५० हजार हुन्छ” अध्यक्ष चौधरीले भने । उनले पालिकाको तर्फबाट केही सहयोग गर्ने योजना वनाएको भएपनि आतंक सृजना गरेपछि केही पनि नगर्ने मनसायमा पुगेको वताए ।

प्रतिष्ठान स्रोतका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा यस्तो रकमको माग गरेर पत्र पठाइएको छ । स्थानीय तहहरुले संकटको समयमा प्रतिष्ठानले आतंक सृजना गरेको गुनासो गरेका छन् । प्रतिष्ठानले एकलौटी निर्णय गरेर स्वाब परिक्षण रोकेपछि यहाँका सबै स्थानीय तहहरुले जिल्ला बाहिर स्वाब परिक्षण गर्न पठाएका छन् ।

प्रतिक्रिया दिनुहोस