प्रतिष्ठानले फिर्ता पठाएपछि तुलसीपुरले स्वाब काठमाडौ पठाउँदै

असार १८, २०७७


तुलसीपुर । बुधवार तुलसीपुरबाट संकलन गरिएको स्वाब राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले परिक्षण गर्न नमानेपछि बिहिवार काठमाडौ पठाउन लागेको छ । सरकारले निजी क्लिनिकलाई तोकेको प्रति व्यक्ति ५ हजार ५ सय शुल्क लिएर मात्रै चेक गर्ने प्रतिष्ठानले अडान लिएपछि स्वाब फिर्ता भएको हो । तुलसीपुर उपमहानगरपालिकाका कोभिड फोकल पर्सन विमल केसीले फिर्ता भएको स्वाब काठमाडौ पठाउन लागिएको जानकारी दिए ।


नगरप्रमुख घनश्याम पाण्डेले संघ र प्रदेशबाट पैसा ल्याएर काम गरिरहेको प्रतिष्ठानले स्थानीय तहसँग संकटको बेलामा पैसा माग्नु गलत भएको वताए । “संघ र प्रदेश पैसा दिइरहेको छ, अपुग भए त्यहाँ माग्न सकिन्छ यसरी प्रतिव्यक्ति गनेर पैसा मागेपछि हामीले कसरी थेग्न सक्छौ ” पाण्डेले भने । उनले प्रतिष्ठानको गैर जिम्मेवारीपनाको सिकार स्थानीय तह भएको पनि वताए । “संकटको घडीमा पैसाको कारण देखाएर पन्छिने अमानविय कुरा हो” नगरप्रमुख पाण्डेले भने ।


प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले प्रतिष्ठानले पैसाको अपुग भएको जानकारी गराएकाले स्वास्थ्य मन्त्रालय र सामाजिक विकास मन्त्रालय दुवैमा पत्राचार गरिएको पनि वताए । तुलसीपुर लगायत अन्य स्थानीय तहको पनि स्वाब परिक्षण फिर्ता गर्ने प्रक्रियामा रहेको स्थानीय तहहरुले जानकारी दिएका छन् ।

यसैविच प्रतिष्ठानमा यस विषयमा कुरा गर्न खोज्दा जिम्मेवारी व्यक्तिहरु सम्पर्कमा आउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस