सिकाईका अनेक रङ्ग

विष्णु भण्डारी  |  असार १६, २०७७

बालबालिका स्वभावैले जिज्ञासु र चञ्चले हुन्छन् ।विद्यालय , अभिभावक र शिक्षकले जस्तो वातावरण र सिकाई दिइयो सोही अनुरुप उनीहरुको पनि आकार त्यस्तै बन्दै जान्छ। परिवार र विद्यालयमा उनीहरुले विभिन्न माध्यमबाट सिकिरहेका हुन्छन।

क्युबन (Cubon, 1968) का अनुसार मानिसका ज्ञानेन्द्रिय मार्फत सिक्ने तरिका फरक फरक हुन्छन् : १ प्रतिशत स्वाद लिएर, १.५ प्रतिशत छोएर, ३.५ प्रतिशत सुँघेर , ११ प्रतिशत सुनेर  र  ८३ प्रतिशत देखेर सिक्ने गर्दछन् । उनका अनुसार कस्तो किसिमबाट सिकियो भने सम्झन सकिन्छ भन्ने कुरामा सम्झने तरिकापनि फरक फरक हुन्छ । १० प्रतिशत पढेर, २० प्रतिशत सुनेर, ३० प्रतिशत हेरेर, ५० प्रतिशत सुनेर र हेरेर, ७० प्रतिशत भनेर र ९० प्रतिशत भनेर रगरेर सिकेको कुरा सम्झन सक्छन् ।

तसर्थ शिक्षकले कक्षा कोठामा पनि सोही अनुरुप शिक्षण सिकाई संचालन गर्नुपर्दछ। कक्षा कोठामा विभिन्न  जात, धर्म,वर्ग,संस्कृति र सोचका विद्यार्थीहरु हुन्छन। उनीहरुको सोच , प्रकृति र मनोविज्ञान बुझेर पठनपाठन गर्नु शिक्षकको दायित्व हुन आउँछ। हरेक बालबालिका विशिष्ट हुन्छन् । साथै उनीहरुको सिक्ने तरिका पनि विशिष्ट हुन सक्छ ।

“शिक्षकले भन्छ बालकले बिर्सन्छ,पढाउँछ -सम्झन्छ र जब समावेश गरिन्छ सिक्छ ।”

त्यसैले, हरेक बालबालिकालाई उनीहरुको आवश्यकताको आधारमा सहयोग गर्ने तथा सिक्ने अवसर प्रदान गर्नुपर्दछ । जसले, बालबालिकालाई आफै बुझेर पढ्ने, सिक्ने तथा आत्मविश्वासका साथ कक्षामा सहभागिताका लागि प्रोत्साहित गर्दछ ।

बेन्जामिन फाङ्क्लिन बालकको सिक्ने शैली र प्रभावको बारेमा यसो भन्छ्न–“शिक्षकले भन्छ बालकले बिर्सन्छ,पढाउँछ -सम्झन्छ र जब समावेश गरिन्छ सिक्छ ।” त्यस्तै कन्फ्युसियसका अनुसार “सुन्छ-बिर्सन्छ,हेर्छ– सम्झन्छ र गर्छ- बुझ्छ/सिक्छ ।”

विद्यार्थीहरुलाई ब्याख्यान,कथा, कविता, भाषण र गीत संगीतको माध्यमबाट पढाउनु पर्दछ ।


हवन्ड गार्डनर (१९८३) ले बहुवौद्दिकताको नमुनामा बालकले आठ तरिकाले : साङ्केतिक, दृष्यात्मक- क्षेत्रीय ,शाब्दिक – भाषिक, तार्किक – गणितीय, शारीरिक – गतिशील, अन्तरवैयक्तिक,  प्राकृतिक जस्ता बहुवैद्दिक क्षमता विकास गर्दछ भनेका छन् ।


सिकाइका विविध तरिकाबारे चर्चा गरौं ।

१) श्रवण सिकाइ शैली (Auditory learning style )


बालबालिका जसले पढेर, लेखेर, देखेर भन्दा सुनेर बढी सिक्छन् त्यस्ता सिकारुलाई श्रवण सिकारु भनिन्छ ।त्यस्ता बालबालिकाहरु ध्वनि र संगीत बढी रुचाउँछन् ।यस्ता बालबालिकाले व्याख्यान, भाषण, टेप, रेकर्ड, गीत आदिको माध्यमबाट ज्यादा सिक्छन् । उनीहरु ध्वनि, लय, आरोह, अवरोह, संगीत, पिच, मिटरप्रति ज्यादै संवेदनशील हुन्छन् । उनीहरु दृश्य चित्रभन्दा ध्वनि सोच्दछन् । सोचाईको तह र चरण हुन्छ । उनीहरु भाषिक पकड र मौखिक परीक्षामा अब्बल हुन्छन् ।
अनुसन्धानका अनुसार यस्ता बालबालिकाको   दायाँपट्टिको मस्तिष्क बढी  सक्रिय हुन्छ। 

यस वर्गका विद्यार्थीहरुलाई ब्याख्यान,कथा, कविता, भाषण र गीत संगीतको माध्यमबाट पढाउनु पर्दछ । शब्द खेल र छन्दको उपयोग गरी भाषाको अभ्यास गराउनु पर्दछ।अक्षरलाई औलाले देखाई कराएर पढ्न लगाउनु पर्दछ। विद्यार्थीलाई मौखिक सोध्ने र भाषण गर्न लगाउनु पर्दछ। विद्यालयमा छलफल, वादविवाद, ब्याख्या, अन्तरक्रिया जस्ता कार्यक्रमहरु गर्नु पर्दछ। पढेका कुराहलाई गीत बनाएर पढाउने र पढ्न लगाउनु पर्दछ।साना बच्चाहरुलाई राइम पढ्न लगाउनु पर्दछ।यस्ता बच्चाहरु पछि गएर समाजमा निर्धक्क बोल्न सक्ने हुन्छन् ।

२) दृश्यात्मक सिकाइ शैली (Visual learning style) :


 सुनेर,लेखेर,पढेर भन्दा देखेर बढी सिक्ने सिकारु नै भिजुअल सिकारु हुन र त्यस्तो सिकाइ नै भिजुअल लर्निङ हो भने शैली चाहिँ दृश्यात्मक सिकाइ शैली हो । यो सिकाई सबैभन्दा बढी चलनचल्तीमा आएको प्रक्रिया हो। यो सिकाइ दायाँ मस्तिष्कबाट हुने गर्दछ।

पढाउने बेला तस्विर देखाएर के बुझ्याै,यसको बारेमा लेख भन्ने जस्ता वाक्यहरु प्रयोग गर्दै पढाउनु पर्छ।

यस्तो प्रकारका बालबालिकालाई नक्सा, चित्र, ग्राफ,भिडियो, फिल्म,दृश्यात्मक पद्धतिबाट सिकाउँदा प्रभावकारी हुन्छ । बालकले ज्यामिती, अंकगणित, जीवविज्ञान, भुगोल जस्ता दृश्य हुने विषयहरु सजिलै बुझ्न सक्नेहुन्छन। उनीहरु परिकल्पनात्मक दृश्यचित्र सम्झिने र सुनेको भन्दा देखेको कुरालाई तुरुन्त प्रशोधन गर्ने प्रकृतिका हुन्छन् ।

आँखामा आँखा मिलाएर कुरा गर्न रुचाउने र सूचना जानकारीहरुलाई हेरेरै सजिलै मस्तिष्कमा सन्चय गर्दछन्।यस्ता खालका बालबालिकालाई अध्यापन गर्दा  शिक्षकले फोटो, चार्ट, डायग्राम, नक्सा, समय रेखा जस्ता दृश्य सामग्री देखाएर शिक्षण गर्नुपर्दछ।बोलेर पढाउनु भन्दा  भिडियो, फिल्म, डकुमेन्ट्री, एनिमेटेड स्टोरी, भिजुअल स्टोरीहरु देखाएर शिक्षण गर्दा विद्यार्थीले सजिलै बुझ्ने हुन्छन् । भाषाका हिज्जे, शब्दार्थ, ब्याकरण जस्ता कुराको शिक्षण गर्दा दृश्यात्मक रुप शब्दचित्र,वाक्यचित्र,फ्ल्यास कार्डको प्रयोग गर्नु पर्दछ।

मस्तिष्क म्यापिङ,मस्तिष्क मन्थन र भिजुअलाइजिङ्का अभ्यासहरु गराउनु पर्दछ। विद्यार्थीलाई अध्ययन गर्दा अन्डरलाइन गरेर पढ्न लगाउनु पर्दछ।पढाउने बेला तस्विर देखाएर के बुझ्याै,यसको बारेमा लेख भन्ने जस्ता वाक्यहरु प्रयोग गर्दै पढाउनु पर्छ।

३) प्रयोगात्मक सिकाइ ( Kinesthetic learning):
यो सिकाइ समुहका बालबालिकाहरु कक्षा कोठालाई प्रयोगशाला बनाई सिक्न मन पराउँछन् । काम गर्न मनपराउने,गरेर, छोएर,घुमेर र शारीरिक क्रियाकलापबाट बढी सिक्ने सिकारुलाई किनेस्थेटिक सिकारु र त्यस्तो सिकाइलाइ किनेस्थेटिक सिकाइ भनिन्छ । यस्ता सिकारुहरु हात,शरीर ,स्पर्श र सम्पूर्ण शरीर मार्फत सिक्न मन पराउँछन् ।

सानो मस्तिष्क र मोटर क्र्टेक्सले शारीरिक गतिलाई संचालन र नियन्त्रण गरिरहेको हुन्छ । यस सिकाइ शैली अन्तर्गत अभ्यास गर्ने,कलाको प्रदर्शन गर्ने,हाउभाउ र कार्यबाट सिक्ने गरेर सिक्ने क्रियाकलापहरु पर्दछ्न । यस्ता सिकारुले सुनेर,देखेर भन्दा शारीरिक गतिविधि, हात खुट्टाको प्रयोग,स्पर्श, बासना र कार्यबाट बढी सिकाई हासिल गर्दछन् ।

बोलेर पढाउनु भन्दा ग्राफ, चित्र, नक्सा, चार्ट मार्फत पढाउनु पर्दछ।

यस्ता सिकारुहरु पछि गएर नर्स, धावक, संगीतकार, सर्जन, खेलकुद विज्ञ, खेलाडी,कलाकार, डान्सर,शारीरिक शिक्षा शिक्षक, मेकानिक्स, डकर्मी अभिनेता ,इन्जिनियर आदि बन्न सक्छन् । यो सिकाई वास्तबमा प्रयोग गर्नु पर्ने सिकाई हो।जुन जीवनोपयोगी सिकाई पनि हो। विद्यालयमा शिक्षकशिक्षिकाले अभ्यास, आराम र प्रयोगलाई प्राथमिकता दिनु पर्दछ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत गणित दौड, हिज्जे दौड, खेल, डान्स ,लडिबुढी गर्ने,विभिन्न शारीरिक आसनमा सुतेर,उठेर,बसेर अवस्था परिवर्तन गर्ने जस्ता कार्यमा जोड दिनुपर्दछ।कक्षा कोठा र बाहिर प्रोजेक्ट वर्क,फिल्ड वर्क,सामुदायिक सर्वेक्षण,इन्टन्सिप,साइमल्टेसन,खेल विधि,प्रदर्शन ,प्रस्तुतीकरण, डान्स, गायन,अभिनय ,सक्रिय शारीरिक क्रियाकलापबाट गर्ने तर्फ जोड दिनुपर्दछ।

बोलेर पढाउनु भन्दा ग्राफ, चित्र, नक्सा, चार्ट मार्फत पढाउनु पर्दछ।यो सिकाईले विद्यार्थीलाई गतिशील र सोचनीय बनाउँछ।यो ग्रुपका विद्यार्थीलाई कक्षाकोठामा भन्दा कक्षा बाहिरको पढाईमा ध्यान दिनुपर्दछ।

४) शाब्दिक सिकाइ शैली (verbal learning style)


यो समुहका बालबालिकाहरु लेखेर बोलेर सिक्ने गर्दछन् ।शब्दहरु बोलेर, लेखेर, पढेर बढी सिक्ने सिकारुलाई शाब्दिक सिकारु र यस्तो सिकाइलाई शाब्दिक सिकाइ र शैलीलाई शाब्दिक सिकाइ शैली भनिन्छ । यो कार्य मस्तिष्कको कन्चट र निधारको खण्डसँग बढी सम्बन्धित हुन्छ ।

ग्राफ,चित्र, नक्सा तथा गणितीय तथ्यांकहरुको समेत भाषिक ब्याख्या तथा विश्लेषण गर्न लगाउनु पर्दछ।

उनीहरुसँग उत्तम खालको स्मरण क्षमता हुन्छ । यस्ता सिकारुहरु फरकफरक भाषाको अध्ययनमा रुचि राख्छन्  र पढेर आनन्दित हुन्छन् । कथा, कविता, नाटक, उपन्यास, लेख लेख्न मन पराउने र लेखेर आनन्दित हुने हुन्छ्न । भाषा विषयहरु: नेपाली, अङ्ग्रेजी, हिन्दी, उर्दु आदिको सिकाइमा यो शैली अति प्रभावकारी मानिन्छ ।

यो सिकाई समुहका बिद्यार्थीहरुलाई धेरै जसो नोट लेख्न र पढ्न लगाउनु पर्दछ। समुहमा छलफल गराई  प्रस्तुति गर्न लगाउनु पर्दछ। स्व अध्ययनपछि कक्षामा साथीहरूलाई पढाउन लगाउनु पर्दछ। पुनः पढ्न र लेख्न  पुनः  लगाई प्रशस्त अभ्यास गराउनुका साथै नोटको सारांश बनाउन लगाउनु पर्दछ ।अवधारणा सम्झन शब्द सुची वा वाक्य सुची बनाउन लगाउनु पर्दछ।

पर्यायवाची, अनेकार्थी, उल्टो अर्थ दिने शब्द तथा सङ्क्षिप्त शब्दसूची पढ्ने लेख्ने अभ्यास गर्ने सम्झिन लगाउनु पर्दछ । ग्राफ,चित्र, नक्सा तथा गणितीय तथ्यांकहरुको समेत भाषिक ब्याख्या तथा विश्लेषण गर्न लगाउनु पर्दछ।

५) तार्किक सिकाइ शैली (logical learning style)
यो समुहका बालबालिकाहरुले गणित ,विज्ञान लगायत सबै विषयहरु तार्किक तरिकाले सोचेर पढ्ने र बुझ्ने अनि समाधान गर्ने कोसिश गर्दछन् ।तर्क, कारण, जिज्ञासा मन पराउने,प्रमाण बिना विषयवस्तु नमान्ने र पुष्टिको आधार लिने र सिकाइ ग्रहण गर्ने सिकारुलाई तार्किक सिकारु र त्यस्तो सिकाइ शैलीलाई तार्किक सिकाइ शैली भनिन्छ ।

हाम्रो तार्किक सोचलाई मस्तिष्कको तालुको खण्डको देब्रे पाटोले नियन्त्रण र निर्देशन गरेको हुन्छ। यस्ता सिकारुले तुलनात्मक रुपमा जटिल गणनाहरु गर्नुको साथै चेस, चेकर, बुद्दिचाल, बाघचाल, तासजस्ता गेमहरु खेल्न मन पराउँछन् ।

प्रयोगात्मक क्रियाकलाप गराउनु पर्दछ ताकि सोच्न सक्ने कलाको विकास होस् ।

त्यही आधारमा उनीहरुको सिकाइ प्रबन्ध मिलाउने कार्य विद्यालयले गर्न उपयुक्त हुन्छ ।यस समुहका विद्यार्थीहरुलाई पाठको मुख्य सन्देश  बुझाउने र आफै ब्याख्या गर्न लगाउनु पर्दछ।तथ्यहरु र तथ्यांकहरुको संकलन गर्न लगाउनु पर्दछ ।

विशिष्ट उद्देश्यको निर्माण गरी प्रगतिको अभिलेखीकरण गर्न लगाउनु पर्दछ। समालोचनात्मक सोच, तार्किक सोच, केन्द्रीकृत सोच, विकेन्द्रित सोच, मस्तिष्क मन्थन, अन्तरक्रिया, कारणात्मक प्रणालीका सिद्धान्तको ज्ञान र प्रयोगको व्यापक अभ्यास गराउनु पर्दछ। प्रयोगात्मक क्रियाकलाप गराउनु पर्दछ ताकि सोच्न सक्ने कलाको विकास होस् ।

यस्ता खालका विद्यार्थीहरु कक्षामा न्यून हुन्छ्न् ।उनीहरु गफ गरेको मन पराउँदैनन् । एकलकाटे स्वभावका हुन्छन् । समुहमा भन्दा पनि एकल पढाई नै उपयुक्त हुन्छ।

६)सामाजिक सिकाइ शैली (social learning style )


यो समुहका बालबालिकाहरु समूह बनाएर पढ्न रुचि राख्ने खालका हुन्छ्न। समुहमा बस्न रुचाउने, साथी सङ्गी बनाउने, समूह समुहको छलफल र अन्तरक्रिया र सामाजिकीकरणबाट बढी मात्रामा सिकाइ हासिल गर्ने सिकारु सामाजिक सिकारु र त्यस्तो सिकाइ शैलीलाइ सामाजिक सिकाइ शैली भनिन्छ ।

सामाजिक मेलमिलाप,सामाजिक उतरदायी र सहानुभूतिको भावना जागृत गराउनु पर्छ।

निधारको खण्ड र कंचटको खण्डले धेरै जसो हाम्रो सामाजिक क्रियाकलापलाई संचालन गरेको हुन्छ । यस्ता सिकारुहरुले समुदायका मुख्य समस्याहरुमा बढी चासो दिने र समस्या समाधानका उपायहरुमा छलफल गर्ने गर्दछन् । गाउँ घर र समाजमा मिलेर बस्छन् र एक अर्कोलाई मद्दत गर्छन् ।यो समुहका विद्यार्थीहरुलाई एक आपसमा मिलेर सहयोगात्मक भावनाका साथ सिक्न सिकाउन लगाउनु पर्दछ।

सिकाइमा वृद्धि गराउन भूमिका प्रदर्शन ,अन्तरक्रिया र प्रस्तुतीकरणमा जोड दिनु पर्दछ।सिकाइमा कोओडिनेसन गर्ने र भाषिक अन्तरक्रिया कार्यक्रममा भाग लिन दिनुपर्दछ।समाजका समस्या समाधानमा सरिक गराउनु पर्दछ।अरुको विवरणको ज्ञान लिन, अन्तर्वार्ता,सर्वेक्षण र प्रश्नवलीको प्रयोग गर्न लगाउनु पर्दछ। सामाजिक मेलमिलाप,सामाजिक उतरदायी र सहानुभूतिको भावना जागृत गराउनु पर्छ। बाल क्लब, रेडक्रस, स्काउट, हेल्पिङ ग्रुप,इको क्लब,रोटरी जस्ता सामाजिक सस्थामा सहभागी गरेर त्यसको माध्यमबाट सिक्ने वातावरण तयार गरिदिनु  पर्दछ।यो समुहका विद्यार्थीहरु कक्षा कोठा भन्दा बाहिरको सिकाईबाट बढी सिक्न सक्छन् । 

७) स्व:केन्द्रित  सिकाइ शैली( Interpersonal learning style)


एक्लै बस्न रुचाउने,स्व-अध्ययन र एक्लै कार्य गरी बढी सिक्ने सिकारु स्व:केन्द्रित सिकारु हो भने त्यस्तो सिकाइ शैलीलाई स्व:केन्द्रित सिकाइ शैली भनिन्छ । यस्तो सिकाइलाई मस्तिष्कको निधारको खण्ड, तालुको खण्ड र लिम्बिक प्रणालीले निर्देशित र नियंत्रित गरेको हुन्छ। यो समुहका विद्यार्थीले आफ्नो भावना, चाहना र आकाक्षा अनुसार सिक्न प्रयत्न गर्छन् ।

आफ्ना सबल र दुर्वल पक्ष पत्ता लगाई समय समयमा स्व:मूल्यांकन गराउनु पर्दछ।

उनीहरु के हुन् र के गर्न सक्छन् भनेर सोची बस्छन् । उनीहरु स्व-ब्यवस्थापन, स्वनिर्णय र स्व-प्रतिकृयामा अब्बल हुन्छ्न । त्यसैले शिक्षकले उनीहरुका यस्ता शैलीलाई मध्यनजर गर्दै ब्याक्तिगत सिकाइ सहजीकरणको कार्य गर्नुपर्छ। यस समुहका विद्यार्थीहरुलाई शान्त र सुविधाजनक ठाउँमा अध्ययन गर्न लगाउनु पर्दछ ।

अगाडि सिकेको कुरा र नयाँ कुरा बिच सम्बन्ध पत्ता लगाउने  र सिक्न लगाउनु पर्छ ।आत्मनिर्देशित कार्य गराउनु पर्दछ।आफ्ना सबल र दुर्वल पक्ष पत्ता लगाई समय समयमा स्व:मूल्यांकन गराउनु पर्दछ।

८. प्राकृतिक सिकाइ शैली (Natural learning style)


 यस्ता सिकारुहरु प्राकृतिक बोटबिरुवा, जनावर चट्टान, पहाड, हिमाल घुम्न र धारणा बनाउन र रमाउन मन पराउँछन् । उनीहरु प्राकृतिक मनोरम दृश्य, पर्यावरण, जैविक विविधता, पारिस्थितिक प्रणाली र त्यसको सन्तुलनमा आफुलाई आनन्द मान्छन् र त्यसैबाट सिक्छन् ।

बालकको सिकाइ शैली प्राकृतिक हुने हुँदा शिक्षकले पुस्तकरुपी बालकको पाना पानाको अध्ययन गर्नु पर्छ र उसको जो शैली छ त्यही अनुसारको सहजीकरण गर्नुपर्छ ।यो समुहका विद्यार्थीहरुलाई प्रकृतिमा भएका कुराहरुलाई  प्रत्यक्ष अवलोकन ,प्रयोग र परिक्षण गर्न दिनुपर्दछ। जीवनको आवश्यकता अनुसारको ज्ञान दिने वातावरणको सिर्जना गर्नु पर्दछ।

वनस्पति र जीवजन्तूको पहिचान गरी वर्गीकरण गर्न लगाउनु पर्दछ। क्षेत्र भ्रमण, अवलोकन तथा तथ्यांकको अभिलेखीकरण जस्ता सिकाइका पद्धतिको प्रयोग गर्न लगाउनु पर्दछ।

एउटा असल शिक्षक र विद्यालयले आजका बालबालिका भोलिका भविष्य र समाजका दरिला खम्बा हुन भन्ने कुरालाई आत्मसात गर्दै सिकाई क्रियाकलापलाई समय सापेक्ष बनाउदै लग्नुपर्दछ।


यसरी हरेक बालबालिका विशिष्ट हुन्छन् साथै उनीहरुको सिक्ने तरिका पनि विशिष्ट हुन सक्छन् । त्यसैले, हरेक बालबालिकालाई उनीहरुको आवश्यकताको आधारमा सहयोग गर्ने तथा सिक्ने अवसर प्रदान गर्नुपर्दछ । जसले, बालबालिकालाई आफै बुझेर पढ्ने, सिक्ने तथा आत्मविश्वासकासाथ कक्षामा सहभागिताका लागि प्रोत्साहित गर्दछ ।  कक्षाकोठामा बालबालिकाहरुलाई अन्य साथीहरुसँग पनि सिक्नका लागि (पियर लर्निंग) प्रोत्साहित गर्नुपनि सहभागिता बढाउने दृष्टिले महत्वपूर्ण मानिन्छ । उनीहरुलाई छलफल गर्दै रमाउँदै सिक्न दिनुपर्दछ ।

एउटा असल शिक्षक र विद्यालयले आजका बालबालिका भोलिका भविष्य र समाजका दरिला खम्बा हुन भन्ने कुरालाई आत्मसात गर्दै सिकाई क्रियाकलापलाई समय सापेक्ष बनाउदै लग्नुपर्दछ। शिक्षकले विद्यार्थीलाई दुनियाँ पढाउनु पर्छ । भौतिक, आध्यात्मिक, राजनीति, सामाजिक मूल्य–मान्यता, नैतिकता, सीप, संस्कार, भूगोल आदिबारे ज्ञान दिन आवश्यक छ । अहिलेको सिकाईले बालबालिकामा  दीर्घकालीन असर राख्दछ भन्ने कुरा कहिल्यै भुल्नु हुदैन।

प्रतिक्रिया दिनुहोस