नेपालमा १ सय ६८ किलोकी महिलाले जन्माइन् स्वस्थ शिशु

असार १४, २०७७

नेपालमा १ सय ६८ किलो तौल भएकी काठमाडौं निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छन्।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा असार १० गते काठमाडौं कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत् २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन्।

वरिष्ठ स्त्री रोग तथा बाँझोपन विशेषज्ञ एवं ल्याप्रोस्कोपिक सर्जन डा. नुतन शर्मा नेतृत्वको टोलीले सफलतापूर्वक ती महिलाको शल्यक्रियामार्फत् बच्चा निकालेको हो।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ।

डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करिब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो।

असाधारण तौल र शारीरिक बनावटका कारण निकै कठिन भए पनि उच्च सावधानीपूर्वक ती महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको डा. शर्माले बताइन्।

सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत् प्रसूति गराउनु आफैंमा निकै कठिन हुने चिकित्सकहरूको भनाइ छ।

नेपालकै प्रसूति इतिहासमा १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रियामार्फत् प्रसूति गराइएको पहिलो रेकर्ड भएको अस्पतालको दाबी छ।

डा. शर्माले सुरूआती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन्।

‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ’, डा. शर्माले भनिन्,‘जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ।’

प्रतिक्रिया दिनुहोस