कोभिड–१९ सँगै विद्यालय : सम्भव छ चलाउन ?

असार ११, २०७७

कोभिड महामारीका बीच स्कुल खोल्ने सम्बन्धमा चिकित्सा क्षेत्रका विज्ञहरू सम्बन्धित ठाउँको भूगोल, विद्यार्थी संख्या, रोगको संक्रमण स्तर, शिक्षक संख्या, पायक पर्नेजस्ता विषय हेरेर मोडालिटी बनाई विद्यालय खोल्न सकिने सुझाव दिन्छन् ।

कोभिड–१९ को महामारीसँगै सुरु भएको लकडाउन ८० दिनपछि ‘लकडाउन टू लुजडाउन’ को बाटोमा छ। धेरै अत्यावश्यकीय सेवामा सामाजिक दूरीलगायतका सुरक्षाका उपाय अवलम्बन गरेर सुचारु गरिँदै गर्दा शैक्षिक संस्था तत्काल नखुल्ने सेवाको सूचीमा पहिलो नम्बरमै छ।

यसबीचमा सरकारले २०७६ सालको विद्यालय तहको परीक्षण एसइई नगर्ने र आन्तरिक मूल्यांकनकै आधारमा कक्षा वृद्धि गर्ने, असार १ गतेदेखि रेडियो र टेलिभिजनबाट कक्षा सञ्चालनको निर्णयसमेत कार्यान्वयन आइसकेको छ। 

महामारीसँगै शिक्षण–सिकाइका सन्दर्भमा उत्पन्न समस्याको हलका लागि गरिएका यी निर्णयले अड्किएका विषयमा निकास त दिएको छ, तर समस्याको अल्पकालीन समाधान खोजिरहँदा महामारीको अनिश्चयकै बीचमा पठनपाठनलाई निरन्तरता दिन सकिन्न त भन्ने बहस पनि सुरु भएको छ। 

संक्रमण बढ्दै जाँदा सरकारले निरन्तर लकडाउन र बढ्दो जनदबाब थेग्न नसकेपछि सरकारले लकडाउन खुकुलो पारेको छ। विद्यालयका सन्दर्भमा यस्तो दबाब बढिनसकेको भए पनि छिटपुट रूपमा यस्तो अभ्यास भने सुरु भइसकेको छ।

झापाको शिवसताक्षी नगरपालिकास्थित शान्ति आधारभूत विद्यालयले भौतिक दूरी कायम गरेरै नियमित पठनपाठन सुरु गर्‌याे।

सरकारले तत्काल विद्यालय नचलाउने निर्णय गरे पनि विद्यालय र समुदाय मिलेर आलोपालो पद्धतिमा पठनपाठन सुरु गरेसँगै धेरै स्थानीय सरकार विद्यालय खोल्ने तयारीमा जुटेका छन्। 

सरकारी योजना तथा नीतिअनुसार शैक्षिक संस्थालाई नियमित गर्ने कुरा प्राथमिकतामा नपरे पनि अभिभावक र समुदायको कोभिडसँगै शैक्षिक संस्था खोल्ने विकल्पमा सोच्न सकिन्छ?

सम्भावना कति छ ?

‘अहिले हाम्रा अधिकांश शैक्षिक योजना र कार्यक्रम हामी कोभिडलाई नियन्त्रणमा राखेपछि सामान्य अवस्थामा फर्किन सकिन्छ भन्ने सोचमा आधारित छन्,’ शुक्रराज सरुवा रोग अस्पतालका विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, ‘अब हामीले विद्यालय र सबै क्षेत्रमा कोभिडसँगै कसरी बाँच्ने भन्ने योजना पनि बनाउँदै गर्नुपर्छ।’ 

बुटवलस्थित आम्दा अस्पतालका बालरोग विशेषज्ञ डा. सन्तोष पोखरेलले अहिले देखिएको कोरोना महामारीबाट बालबालिकालाई जोगाउन सकिने पर्याप्त आधार भएको भन्दै स्कुल सञ्चालन गर्न सकिने बताउँछन्।

डा. पोखरेलले कोभिड–१९ मात्र संक्रमण विद्यालयहरूबाट ज्यादै न्यून मात्र फैलिने अध्ययनहरूले देखाएको बताए।

‘सन् २०२० मे महिनामा रसेल भिनरले प्रकाशन गरेको खोजमा सार्स, मर्सलगायत कोरोना भाइरसले चीन, हङकङ र सिंगापुरमा महामारीको रूप लिँदा विद्यालय प्रभाव नगन्य थियो,’ उनले थपे, ‘कोभिड–१९ को सुरुआतमै विद्यालय बन्द गरिएका छन् त्यसमा पुनर्विचार गर्न सकिन्छ।’ 

‘यही प्रजातिका सार्स, मर्स भाइरस आउँदा गरिएको अध्ययनले स्कुल खोल्दा र नखोल्दा माहमारीको ग्राफमा खासै फरक नपरेको देखाएको छ,’ उनी भन्छन्, ‘कोरोनाले भन्दा धेरै बढी बालबालिका निमोनिया, झाडापखाला र कुपोषणले मरिरहेका छन्।’

अहिलेको भाइरसको जोखिम बढी मात्रामा जेष्ठ नागरिक र दीर्घरोगीमा भएको भन्दै कलकारखाना, सपिङ मलहरू खुला राखेर खुला वतावरण व्यवस्थापन गरेर खोल्नुपर्ने पक्षमा छन्।  

उनले भने, ‘विगतका महामारीमा भएका अध्ययनले पनि हङकङमा सन् २००७ मा विद्यालय खोल्दाको तुलनामा २००८ मा बन्द गरिँदा त्यहाँ स्वाइन फ्लू र हङकङ फ्लूको महामारीमा तात्विक परेको थिएन।’ 

‘सन् १९८४ देखि २००६ सम्म फ्रान्सको तथ्यांक हेर्दा पनि विद्यालय बन्द गरेर महामारी रोक्ने कुरा साबित गर्न सकेन,’ उनले जानकारी गराए। तत्काल स्कुल खोली नहाले पनि ढिलोचाँडो त्यसको विकल्प नसोची नहुनेमा अधिकांश विज्ञ सहमत छन्।

किन चाहिन्छ विकल्प?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सन् २०१९ को अन्त्यमा चीनको उहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९) सन् २००२-०३ मा देखिएको सोही समूहको सार्सजस्तो तत्काल हराउने प्रकृतिको नभएको बताइसकेको छ। यसले तत्काल संक्रमणको दर कम भएर सरकारले विद्यालयलाई सामान्य अवस्थामा चल्न दिने हो भने पनि रोगको जोखिम सधैं रहिरहन्छ। 

यस्तो अवस्थामा रोग सर्नबाट जोगिने कम्तीमा सार्वजनिक स्थलमा उपस्थित हुँदा मास्कको प्रयोग अनिवार्य गर्ने, १ देखि २ मिटरसम्म व्यक्तिगत दूरी कायम गर्ने र कुनै साझा ठाउँ वा कुनै वस्तु चलाएपछि बारम्बार हातधुने वा सेनिटाइजर प्रयोग गर्नुपर्छ। 

सामान्यतः भाइरसको प्रकृति बढीमा दुई वर्षमा समुदायमा नहराउने भएर (सिजनल फ्लू) को रूपमा रहने वा दुई वर्षको अन्तरालमा आफैं हराएर-कमजोर भएर जाने हुन्छ। समुदायभित्रै सिजनल फ्लूको रूपमा रहँदा पनि खोप नबन्दासम्म हामीमाथि कोरोनाको जोखिम रहिरहन्छ। 

अर्को शब्दमा भन्दा भाइरसमा हाम्रो सामान्य जीवनमा फर्किन सक्ने दुई तरिका हुन्छ। एउटा भाइरससँग अधिक जनसंख्याको एक्सपोजर भई सामूहिक प्रतिरक्षा (हर्ट कम्युनिटी) बन्ने र दोस्रो खोपको विकास।

कोभिड–१९ को खोप निर्माणका लागि संसारमा अहिले भइरहेको प्रयासहरूले सार्थकता पाए भने पनि खोप विकास हुने र आम देशका जनसंख्यासम्म पहुँच पुग्न कम्तीमा एकदेखि डेढ वर्ष लाग्नेछ। ‘पहिलो विकल्प हाम्रो देशमा भित्रिएको र फैलिइरहेको महामारीलाई नियन्त्रणमा राख्ने र विस्तारै सामान्य जीवनमा फर्किने हो,’ ग्रान्डी अस्पतालका संक्रामक तथा सघन उपचार विशेषज्ञ डा. प्रभात अधिकारीको भनाइ छ।

हर्ट कम्युनिटी बन्नका लागि जनसंख्याको ६० प्रतिशत भाइरससँग एक्सपोजर भएर उनीहरूसँग प्रतिरोध क्षमता (एन्टिबडी) बनिसकेको हुनुपर्छ। धेरै देशहरूले मृत्यदर बढी भएका वृद्धवृद्धा वा दीर्घरोगी, गर्भवती, बालबालिकालाई जोगाउने विकल्पसहित लकडाउन खुकुलो पार्दै जान्छ। यो तरिकाबाट सधैं सोचेअनुसारको अवस्था नआउन सक्छ।

डा. अधिकारीले अहिलेको अवस्थामा कम्तीमा हटस्पट वा इपी सेन्टरहरूमा सबै कुरा बन्द भएता पनि रोगका जोखिम नभएका क्षेत्रमा सबैखालका वैकल्पिक योजना बनाउनुपर्ने बताए। ‘अहिलेको महामारी नियन्त्रण गरे पनि अन्तर्राष्ट्रिय उडान र सीमानाका खुल्नासाथ नयाँ ठाउँमा संक्रमण बढ्ने भइरहन्छ,’ उनले भने, ‘यसका लागि भाइरस प्रभाव जारी रहँदा त्यसबाट बच्ने आनीबानी, व्यवहार, संस्कार बनाउँदै सोहीअनुसारका संरचना पनि बनाउने दिशामा पनि सोच्नुपर्छ।’ 

अहिले राम्रो र पर्याप्त पूर्वाधार, राम्रो चेतनास्तर र अन्य तयारी गर्नसक्ने धेरै विकसित देशहरूले शैक्षिक कार्यक्रम जारी राखेका छन्। 

के छन् विकल्प?

लकडाउन वा भाइरसको जोखिम रहिरहने जुनसुकै अवस्थामा पनि हामीले स्कुल सञ्चालनका लागि विभिन्न विकल्पबारे सोच्ने र आवश्यकताअनुसार तयारी बढाउँदै जानुपर्ने विज्ञहरू बताउँछन्। 

तत्कालका लागि समय शैक्षिकसत्र ढिला गरेर वा वैकल्पिक विधिबाट घरैबाट सिकाइ गर्ने बाटो खोजिराखे पनि स्कुल सञ्चालनका सन्दर्भमा भूगोल, विद्यार्थी संख्या, रोगको संक्रमण स्तर, शिक्षकको संख्या, पायक पर्नेजस्ता विषय हेरेर मोडालिटी बनाउन चिकित्सा विज्ञहरूको सुझाव छ। 

कोभिड–१९ नियन्त्रण आएपछिको अवस्था वा जारी रहेकै अवस्थामा सुरक्षित स्थानका विद्यालय खोल्ने मोडलमा जाँदा पनि डब्लुएचओले निर्धारण गरेका सुरक्षित विधिको परिपालनाका मार्गनिर्देशनभित्र रहेरै विद्यालय चल्न सक्छन्। 

जसका लागि मास्कको अनिवार्य प्रयोग, व्यक्तिगत दूरी (कम्तीमा २ मिटर) र कुनै साझा ठाउँमा छोएपछि अनिवार्य हातधुने वा स्यानिटाइजरको प्रयोग गरिएकै हुनुपर्छ। तीबाहेक सार्वजनिक जमघटमा हुने प्रत्येक व्यक्तिले कोरोना कसरी÷कसरी सर्नसक्छ भन्नेमा यथेष्ट जानकारी हुनुपर्छ।

विज्ञहरू विद्यालय सञ्चालन गर्दा गेट, ढोका, डेस्कबेन्च शौचालय, बस्ने ठाउँजस्ता कुरामा पनि कडाइका साथ प्रोटोकल बनाउने र सानो–सानो समूहबाट अभ्यस्त गर्दै लान सुझाउँछन्। 

‘सुरुमा महामारी कन्ट्रोलमा हुनुपर्छ अर्थात् कन्ट्रोलमा भएको वा जोखिम कम र जोखिम बढी भएको क्षेत्रको म्यापिङ चाहिन्छ,’ डा. अधिकारी भन्छन्। त्यसका लागि सबैभन्दा सावधानी अपनाउनुपर्ने तथ्य भनेको जोखिमको मापन र घटाउने सावधानीबिनै विद्यालय खोल्दा संक्रमण समुदाय र जोखिम समूह- घरमा सुरक्षित बसेका जेष्ठ नागरिक र अन्य रोग भएका)सम्म फैलिन मद्दत पुग्न सक्छ। जसले संक्रमण र मृत्युदर दुवै बढाउँछ।

विद्यालय खोल्ने अवस्थामा पनि ठूलो संख्यामा संक्रमण देखिएका क्षेत्रमा शिक्षक, कर्मचारीदेखि विद्यार्थीमा रोगको अवस्था परीक्षण आवश्यक पर्नसक्छ। ‘नियमित रूपमा विद्यालय जान थालेपछि भने बालबालिकाको स्वास्थ्यलाई नजिकबाट निगरानी गरिनुपर्छ,’ डा. पुन भन्छन्, ‘घर, बाटो वा यातायातदेखि विद्यालयको प्रवेश, कक्षाकोठा, सामाजिक दूरी, शौचालय तथा उचित स्यानिटाजेसन समेत उच्च सावधानीसाथ फलो गरिनुपर्छ।’

यी सबै कुराको व्यवस्थापन गर्दा विद्यालय सञ्चालन खर्च अहिले भइरहेकाले नधान्ने अवस्था आउने विज्ञहरू बताउँछन्। निजी तथा आवासीय विद्यालयका संगठन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरी पनि अहिलेका अधिकांश विद्यालयका कक्षाकोठा डेस्कबेन्चका आकार, धारा, शौचालयको संख्याकै आधारमा भाइरसको अस्तित्वसँगै विद्यालय चलाउन कठिन छ। 

वागमती प्रदेशको मुख्यमन्त्री कार्यालयका सचिव डा. हरि लम्साल उपलब्धता र आवश्यकताको यकिन गरेर समुदाय र स्थानीय सरकारसँगको सहकार्यमा सम्भव हुनसक्ने देख्छन्। ‘प्राथमिक तहका बालबालिकालाई घरैमा राखेर सिकाउने ढाँचा र ठूला कक्षाका विद्यार्थीलाई विद्यालयमा आलोपालो प्रणालीमा बोलाउने एउटा विकल्प हुनसक्छ,’ उनले सुझाए। 

यस्तो अवस्थामा रोजेको वा पहिला पढिरहेको विद्यालय नै चाहिनेभन्दा पनि समुदायमा रहेको विद्यालयवरपरका बालबालिकालाई पढ्ने, पढाउने विकल्पमा जानुपर्ने विज्ञहरू बताउँछन्। चिकित्सकहरू पनि टाढाको विद्यालयमा यातायात प्रयोग गर्ने भनेको अतिरिक्त जोखिम हुने भएकाले वरपरकै विद्यालयमा समुदायस्तरमै सिकाइको ढाँचा ल्याउनुपर्ने बताउँछन्। 

विज्ञहरू सीमित संख्याबाहेक परम्परागत रूपमा चलिरहेका  विद्यालयहरूले सबै विद्यार्थी एकै समयमा महामारीको नयाँ परिस्थितिलाई थेग्न नसक्ने बताउँछन्। ‘एउटै कक्षाको आलोपालो, एउटै कक्षामा पनि विद्यार्थीको आलोपालो गर्ने, सुरुमा ठूला कक्षाका विद्यार्थीमात्रै विद्यालयमा उपस्थिति गराएर जोखिमको ज्ञानसहित व्यवहार परिवर्तनमा अभ्यस्त गराउँदै विस्तारै अघि बढ्न सकिन्छ।’

डा. अधिकारी त साना कक्षाकोठा भएका ठाउँमा एउटै कक्षाका विद्यार्थी बोलाउँदा पनि आधाबाहिर र आधाभित्र राखेर पढाउने विकल्प खोज्न सकिने बताउँछन्। 

डा. लम्साल अहिले स्थानीय सरकारले साना बालबालिकालाई सहरी क्षेत्रमा अनलाइनबाट कक्षा सञ्चालन गरेजस्तै प्रविधिले साथ नदिएको ठाउँमा घरघरमै शिक्षक पठाएर सहयोग गर्न सकिन्छ। ‘ठूला कक्षाका हकमा अवस्था र क्षमता हेरेर आलोपालो गर्र्ने र विद्यालय आएको दिनमा उचित रूपमै सुरक्षा सावधानीको परिपालनाबाटै कोभिडसँगै शैक्षिक गतिविधि सञ्चालन गर्र्न सकिन्छ,’ डा. लम्साल थप्छन्। 

तयार छौं त हामी?

सरकारले कोभिडकै बीचमा शिक्षण सिकाइलाई सहजीकरणका लागि जेठ १८ गते वैकल्पिक प्रणालीबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशका २०७७ जारी गरेको छ। 

निर्देशिकाअनुसार शिक्षा तथा मानवस्रोत विकास केन्द्रले लकडाउनकै बीच असार १ देखि रेडियो टेलिभिजनबाट पठनपाठन सुरु गरेको छ। महानिर्देशक डा. तुलसी थपलियाले भाइरसको महामारी तथा लकडाउनका कारण विद्यालय तत्काल खुल्न सम्भव नभएकाले शिक्षण सिकाइलाई वैकल्पिक विधिबाट सञ्चालन गर्न खोजिएको हो।

केन्द्रले रेडियो टेलिभिजन नहुने घरका बालबालिकाका लागि सिकाइका लागि उपयोगी हुने गरी पाठ्यपुस्तक तयार गरेको र उनीहरूसम्म पुर्‌याउने जनाएको छ। 

महानिर्देशक थपलियाले अहिलेको योजना कोभिड महामारी जारी रहँदाका लागि भएको भन्दै रोगको संक्रमण अवस्था हेरेर पछिका लागि बेग्दै ‘पोस्ट कोभिड’ योजना बनाउने बताए।

निजी तथा आवासीय विद्यालयको संगठन (प्याब्सन)का अध्यक्ष टीकाराम पुरीले दीर्घकालीन रूपमा कोभिडसँगै सुरक्षित तरिकाले शिक्षण संस्था सञ्चालन निकै चुनौतीपूर्ण रहेको बताए। 

‘अहिले भएका १० हजारभन्दा बढी निजी विद्यालयमध्ये ५ प्रतिशतमात्रै संरचनाका हिसाबले भौतिक दूरीलगायतका सबै पक्ष व्यवस्थित गर्नसक्ने अवस्थामा छन्,’ उनले भन्छन्, ‘कोभिडसँगै बाँच्ने र चल्ने योजना बनाउँदा त पुनर्संरचना नै गर्नुपर्ने हुन्छ।’ 

पठनपाठन सुरु गरेको झापाको शिवसतासीको शान्ति आधारभूत विद्यालयका प्रधानाध्यापक विष्णु भट्टराईले स्वास्थ्यका मापदण्ड अपनाउन सम्भव हुने अवस्था हेरेर विद्यार्थी र शिक्षक उपस्थिति निर्धारण गर्नुपर्ने बताउँछन्। ‘धेरै सरकारी विद्यालयमा विद्यार्थीको संख्या नै कम छ र सामाजिक दूरी पनि कायम राख्न सकिने अवस्था छ भने कम्तीमा ठूला विद्यार्थीलाई विद्यालयमै उपस्थिति गराएर सुरुवात गर्न सकिन्छ,’ भट्टराई भन्छन, ‘अहिले योजना बनाएर काम गर्दै जाँदा त्यसले कोभिडसँगै बाँच्ने ज्ञान र व्यवहार विकास गर्छ।’

आयोमेलबाट

प्रतिक्रिया दिनुहोस