दाङमा वडाध्यक्ष र स्वास्थ्य स्वयंसेविकासहित ७६ जना कोरोना संक्रमित थपिए

असार १०, २०७७

दाङमा बुधबारमात्रै हालसम्मकै बढी ७६ जनामा कोरोना संक्रमित भेटिएका छन्।

यो संख्या जिल्लामा हालसम्मकै उच्च हो। योसँगै दाङमा कोरोना संक्रमितको संख्या ३ सय ८० जना पुगेको छ। त्यसमध्ये ९३ जना उपचारपछि घर फर्किएका छन्।

दाङका दश स्थानीय तहमध्ये सबभन्दा धेरै पहाडी पालिका बंगलाचुलीमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन्। यो पालिकामा जिल्लामा भारतबाट घर फर्किएकाहरूको संख्या पनि सबैभन्दा धेरै छ।

रोल्पासँग सीमाना जोडिएको जिल्लाको दुर्गम पहाडी गाउँपालिका बंगलाचुलीमा मात्रै संक्रमितको संख्या १३१ पुगेको छ।

यहाँ हालसम्म २१ जना उपचारपछि घर फर्किएका छन्। बंगलाचुलीमा बसेका प्युठानका एक युवाको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुधबार गरिएको परीक्षणमा बंगलाचुली गाउँपालिकामा ४२ जना र घोराही उपमहानगरपालिकामा ३४ जनामा संक्रमण फेला परेको हो।

बंगलाचुली गाउँपालिकाको वडा नं. २ मामात्रै बुधबार ४२ जनामा संक्रमण फेला परेको छ।

गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले दिएको जानकारी अनुसार त्यसमा वडाध्यक्ष र एक जना महिला स्वास्थ्य स्वयंसेविकामा पनि संक्रमण फेला परेको छ।

यसअघि पनि बंगलाचुलीमा अर्का एक जना वडाध्यक्ष र वडा सदस्यलाई संक्रमण फेला परेको थियो।

त्यस्तै, घोराही उपमहानगरपालिकामा पनि थप एक जना वडाध्यक्षलाई सोमबारमात्रै संक्रमण फेला परेको थियो। योसँगै जिल्लामा संक्रमित हुने जनप्रतिनिधिको संख्या ४ पुगेको छ। त्यसमा तीन जना वडाध्यक्ष र एक जना वडा सदस्य छन्।

योसँगै जिल्लामा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या भने १३ पुगेको छ।

असार ५ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक चिकित्सकसहित चार जनामा कोरोना संक्रमण फेला परेको थियो।

प्रतिष्ठानकी उपकुलपति डा.संगीता भण्डारीले एक चिकित्सक, दुई नर्स र एक जना स्वास्थ्यकर्मी गरी चार जनामा असार ५ गते संक्रमण फेला परेको हो।

त्यसअघि दाङमा अरु ८ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो। जिल्ला कोरोना फोकल पर्सन कमल चन्दका अनुसार योसहित जिल्लामा संक्रमित हुने स्वास्थ्यकर्मीको संख्या १३ पुगेको छ।

घोराहीमा मात्रै ५ स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको छ। अघिल्लो बिहीबार मात्रै घोराही उपमहानगरपालिका वडा नं. १० का ३२ वर्षीय स्वास्थ्यकर्मीमा संक्रमण फेला परेको थियो।
मंगलबार राजपुर गाउँपालिकामा २५ वर्षीया ल्याब असिष्टेन्टमा संक्रमण भेटिएको थियो।

यसअघि घोराही वडा नं.४ को स्वास्थ्य चौकीमा कार्यरत ३१ र ५७ वर्षीया दुई महिला स्वास्थ्यकर्मीमा संक्रमण देखिएको थियो।

त्यस्तै घोराही वडा नं. २ रामपुरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत ४६ वर्षीय एक पुरूष र वडा नं. ३ को सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा कार्यरत ४८ वर्षीय एक अर्का पुरूषमा पनि कोरोना संक्रमण देखिएको छ।

यसअघि राप्ती गाउँपालिकाका १ र लमही नगरपालिकाका थप १ जनामा पनि कोरोना संक्रमण फेला परेको थियो।

संक्रमित स्वास्थ्यकर्मी तथा चिकित्सक बिरामीको रेखदेख र उपचारमा खटिँदै आएकाहरू हुन्।

बुधबार बंगलाचुलीमा वडाध्यक्ष र स्वास्थ्यकर्मीबाहेक फेला परेका अन्य सबै संक्रमित छिमेकी देश भारतबाट आएर क्वारेन्टिनमा बसेकाहरू रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले बताए।

उनका अनुसार बुधबार एक ५ वर्षीय बालक र ७ वर्षीया बालिका पनि संक्रमण फेला परेको छ। उनीहरू अभिभावकसँगै भारतबाट आएकाहरू हुन्।

बुधबार घोराही उपमहानगरपालिका वडा नं. १ मामात्रै २५ जनामा संक्रमण फेला परेको छ। उपमहानगरका स्वास्थ्य संयोजक नारायण घर्तीका अनुसार घोराही वडा नं. ४ मा ४ जना, वडा नं. ५ का ४ जना र घोराही १५ मा थप एक जनामा कोरोना संक्रमण भेटिएको छ।

घर्तीले सेतोपाटीलाई दिएको जानकारी अनुसार त्यसमध्ये १८,२२ र २३ वर्षीया ३ जना महिला छन्।

प्युठानमा नयाँ १० जना संक्रमित थपिए

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणको नतिजा अनुसार बुधबार प्युठान जिल्लामा थप दश जना नयाँ संक्रमित फेला परेका छन्।

उनीहरू सबै माण्डवी गाउँपालिका हुन्। जहाँ वडा नं. १ मा २ जना, वडा नं. २ का ३ जना, वडा नं. ३ मा २ जना, वडा नं. ४ मा २ र वडा नम्बर ७ मा १ जना नयाँ संक्रमित फेला परेको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस