बंगलाचुलीले टिप्पर संचालनमा रोक लगायाे

असार ०६, २०७७

कमिरेचौर,५ असार । बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई संचालनमा रोक लगाएको छ ।

कोरोना भाईरस (कोभिड–१९) ले संसारलाई अस्तव्यस्त पारिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका पनि त्यसको मारमा परिरहेको अवस्थामा टिप्परहरु संचालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै टिप्पर संचालनमा रोक लगाएको हो ।

लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिकासंग कुनै सम्पर्क सहमति बिनै शुक्रबार संयौ टिप्परहरु गाउँपालिका पठाएको थियो । त्यस लगतै आफुहरुलाई स्वाथ्यमा चुनौति थपिने भन्दै स्थानीयले टिप्परहरु संचालन गर्न नहुँने भन्दै सडकमा आएर टिप्परहरु रोकेका थिए ।

बंगलाचुली गाउँपालिकाले पनि यसप्रकारको कार्यले स्थानिय जनतामा मानसिक तथा मनोबैज्ञानिक असर पर्ने भन्दै संचालनमा रोक लगाउने भएको हो ।

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले शुक्रबार एक विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका संग कुनै पनि प्रकारको सम्पर्क समन्वय नै नगरी उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बंगलाचुली प्रवेश गराएको हुँदा यस प्रकारको कदमको घोरभत्सना गर्नु भएको छ ।

विज्ञप्तिमा भनिएको छ,नागरिकहरु बसेको ४० र ५० मिटरको दुरिबाट एकै पटक सयौँ टिप्परहरु गुडाउँदा स्थानिय र क्वारिन्टिनमा बसेका जनसमुदायको मानसपटलमा नकारात्मक तथा मनोबैज्ञानिक असर पर्ने हुँदा यस कार्यलाई पुर्णरुपमा बन्द गर्न समेत हामी अनुरोध गर्दछौँ ।साथै बंगलाचुली गाउँपालिकाको अर्को निर्णय नहुँदा सम्मका लागि उद्योगका कुनैपनि टिप्परहरुले चुनढुङ्गा ढुवानी गर्न पुर्णरुपमा रोकलगाईएको व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँद छौँ ।

बंगलाचुली गाउँपालिकासंग कुनै सहमति बिनै गाउँपालिका प्रवेश गरेका दर्जनौ टिप्पर तथा टिप्पर चालकहरुलाई बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा पठाईएको छ । उनीहरुलाई १४ दिनसम्म बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा राखेकाे बताईएको छ ।

प्रतिक्रिया दिनुहोस