एमसीसीका आलोचकलाई प्रधानमन्त्रीले भने – कागले कान लग्यो भन्दैमा पछि पछि दगुर्ने ?

असार ०४, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) का आलोचकहरुले सम्झौता पढ्दै नपढी टिप्पणी गरेको बताएका छन् ।

राष्ट्रियसभाको बैठकमा बिहीबार बजेट छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले हल्लाकै भरमा विरोध गरेको टिप्पणी गरे ।

‘कहाँ पढ्छन्, के पढ्छन् अचम्म लाग्छ । कागले कान लग्यो भनेपछि …दुख्यो दुखेन पनि वास्ता नगर्ने  छ कि छैन पनि नछाम्ने’ उनले भने ।

उनले आलोचकहरुलाई एक पटक सम्झौता पढ्न आग्रह गरे । एमसीसीका विषयमा हल्लाको पछि लाग्ने र जसरी पनि विरोध गर्ने प्रवृत्ति देखिएको प्रधानमन्त्री ओलीले बताए ।
‘कि विकास हुन आट्यो भन्ने चिन्ता हो ? यो यो देशमा विकासका लागि अनुदान आयो भन्ने चिन्ता हो ?’ उनले भने ।

महाकाली सन्धि ठीकै देख्छु

प्रधानमन्त्री ओलीले महाकाली सन्धिमा हस्ताक्षर गर्नेहरुले नै पछि विरोध गरेको बताएका छन् । उनले २०५३ सालमै आफूले यस सन्धिमा बबन्डर गर्नुपर्ने विषय केही नभएको टिप्पणी गरेको बताएका छन् ।

‘एक जमानामा महाकाली सन्धिको सन्दर्भमा यति ठूलो बबन्डर, आँधी हुरी मच्चियो । म आश्चर्यचकित भएँ । मैले भनेँ म त त्यस्तो केही देख्दिन, यहाँ ठीकै देख्छु’ उनले भने ।

भारतसँग महाकालीसन्धिमा हस्ताक्षर गर्ने बेलामा तत्कालिन एमाले प्रतिपक्षी दलको हैसियतमा सहभागी भएको भन्दै भारतले ३÷४ पटक सोधेको र नेपाल पक्षले सहमति जनाएको उनले बताए ।

‘हामी सरकारका नभएका पार्टी पनि त्यहाँ उपस्थिति थियौं । हाम्रो नेतृत्व वर्ग त्यहाँ उपस्थिति थियो ।

सही गरुँ त, ठीक छ, तपाईहरु प्रतिपक्षीको पनि मन्जुर छ भन्दा मञ्जुर छ’ उनले भने ‘प्रणव मुखर्जीले हस्ताक्षर गर्ने बेलामा कलम समातेपछि ‘तु मे साइन करुँ’ भनेर सोधेका थिए, ह ह ठीक हे किजिए भनेपछि उनले साइन गरे ।’

त्यतिबेला ठीक छ भन्नेहरु पनि पछि बुरुक्क उफ्रिएको ओलीले टिप्पणी गरे ।

देश चलाउने, नीति नियम र कानून बनाउने तहका मान्छेले देशलाई सर्वोपरी राखेर विचार गरे बोल्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस