अर्घाखाँचीको क्वारेन्टिनमा एक पुरुषले गरे आत्महत्या

असार ०३, २०७७

अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्महत्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्महत्या गरेका हुन् ।

विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु निदाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झुण्डिएर आत्महत्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताए ।

उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो ।

उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए । उनी भारतबाट आएको २५ दिन भएको थियो । उक्त क्वारेन्टाइनमा २५ जना रहेका छन् ।

यसैबीच अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रयोगशालाले पीसीआर परीक्षण रिपोर्ट दिन ज्यादै ढिलाइ गर्दा यस्ता दुःखद् घटनाहरु हुन थालेको प्रतिक्रिया दिए । ‘समयमा रिपोर्ट नआउँदा मान्छेहरुमा नैराश्यता र नकारात्मक कुराहरु आउने समस्या भयो,’ प्रजिअ पौडेलले भने ।

प्रतिक्रिया दिनुहोस