खुसीकाे कुरा ; काेराेनाकाे औषधि पत्ता लाग्याे ।

असार ०२, २०७७

बेलायतका अनुसन्धानकर्ताहरूले कोरोना भाइरसका गम्भीर बिरामीहरूको ज्यान जोगाउन सहयोग पुग्ने औषधि फेला पारेको दाबी गरेका छन्।

बिबिसीका अनुसार, सस्तो र व्यापक रूपमा पाइने ‘डेक्सामिथासोन स्टेरोयड’ ले भेन्टिलेटर वा अक्सिजनको सहायतामा बसेका कोरोना संक्रमित बिरामीहरूको मृत्युदर एकतिहाइ घटेको अनुसन्धानकर्ताहरूको दाबी छ।

यो औषधि दम, बाथ, छाला, फोक्सो र मस्तिष्क समस्याको उपचारमा प्रयोग हुँदै आएको छ। अनुसन्धानकर्ताहरूले यससम्बन्धी अनुसन्धान प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

अनुसन्धान क्रममा दुई हजारभन्दा बढी कोरोना संक्रमितलाई ‘डेक्सामिथासोन स्टेरोयड’ दिइएको थियो भने अन्य चार हजारभन्दा बढीलाई सामान्य उपचार गरिएको थियो। उक्त स्टेरोयड दिँदा केहीलाई खाना र केहीलाई नसाबाट दिइएको थियो।

यसरी उपचार सुरू गरिएको २८ दिनपछि भेन्टिलेटरको आवश्यकता पर्ने बिरामीको मृत्युदर ३५ प्रतिशत घटेको र अक्सिजन दिनुपर्नेको २० प्रतिशत कम भएको अनुसन्धानकर्ताहरूले बताएका छन्। धेरै सिकिस्त नभएका बिरामीमा भने असर नदेखिएको उनीहरूले जानकारी दिए।

‘यो अत्यन्त स्वागतयोग्य परिणाम हो,’ अक्सफोर्ड युनिभर्सिटीका एक अध्ययनकर्ता पिटर हर्बीलाई उद्धृत गर्दै बिबिसी लेख्छ, ‘अक्सिजन लिनुपर्ने बिरामीहरूले यसबाट लाभ लिएर बाँच्न सक्छन्। त्यसैले यो स्टेरोयड बिरामीको हेरचाहको मानक बन्न सक्छ।’

प्रमुख अनुसन्धानकर्ता प्राध्यापक मार्टिन ल्यान्ड्रेका अनुसार यो औषधिले भेन्टिलेटरमा उपचार गर्नुपर्ने आठ बिरामीमध्ये एक र अक्सिजन दिनुपर्ने २५ मध्ये एकको मृत्यु कम गरेको पाइएको छ। ‘यो उत्साहजनक नतिजा हो,’ उनले भने।

यो स्टेरोयड सस्तो र जहाँ पनि बनाउन सकिन्छ। विश्वभरि नै प्रयोगमा ल्याउन सकिने बताइएको छ।

यसले अहिलेलाई अक्सिजन वा भेन्टिलेटरमा रहेका बिरामीमा मात्र काम गरेको पाइए पनि धेरैको ज्यान जोगाउन सकिने अन्य औषधि पत्ता लगाउन मद्दत गर्ने बेलायती च्यारिटीका निक क्यामकले बताए।

कोरोना भाइरस लाग्दा कतिपय बिरामीमा रोग प्रतिरक्षा प्रणालीले धेरै आक्रमण गरेर शरीर सुन्निन सक्छ। यसलाई ‘साइटोकिन स्टोर्म’ भनिन्छ। यो स्टेरोयडले सुन्निन कम गर्छ।

चिकित्सकहरूले पहिल्यैदेखि कोरोना भाइरसका कारण सिकिस्त बिरामीमा स्टेरोयड प्रयोग गर्दै आएका थिए। विश्व स्वास्थ्य संगठनले भने सुरूमा यो स्टेरोयडले भाइरसलाई शरीरबाट निकाल्न ढिलाइ गर्ने भएकाले प्रयोग नगर्न सुझाव दिएको थियो।

(बिबिसी र एपीको समाचारमा आधारित।)

प्रतिक्रिया दिनुहोस