गुल्मीका कोरोना संक्रमितको मृत्यु, मृत्यु हुनेकाे संख्या १९ पुग्याे

जेठ ३२, २०७७

फाइल फाेटाे

बुटवल – गुल्मीका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धुर्कोट गाउँपालिका वडा नम्बर ४ जैसिथोकका ३६ वर्षिय पुरुषको मृत्यु भएको हो ।

तम्घास अस्पतालका डा. कविराज भुसालका अनुसार जेठ १२ गते संक्रमण पुष्टि भएका उनलाई थप उपचारका लागि जेठ १३ गते तम्घासस्थित आइसोलेशनमा ल्याईएको थियो । उनी दुई वर्षदेखि क्यान्सर र पायल्सको रोगी थिए ।

जेठ २ गते भारतबाट आएर उनी धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित पाञ्चायन माविको क्वारेन्टिनमा बसेका थिए ।

थप उपचारको लागि बुटवल लैजानुपर्ने बताए पनि उनी आफैले बुटवल जानका लागि अस्वीकार गरेको रेसुङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

नेपाली सेनाले राति नै उनको शव धुर्कोट गाउँपालिका–४ जैसिथोकस्थित एक जंगलमा व्यवस्थापन गरेको छ ।

यो सँगै गुल्मीमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । यसभन्दा पहिले मदाने गाउँपालिकाका ४१ बर्षिया पुरुषको रूपन्देहीमा उपचारका क्रममा मृत्यु भएको थियो ।

नेपालमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस