पहिरोले दुई घर बगाउँदा पर्वतमा पाँच जनाको मृत्यु, चार बेपत्ता

जेठ ३२, २०७७

मुसलधारे वर्षापछि पर्वतको कुस्मा नगरपापिलका ३, दुर्लुङको ढकालबारीमा शनिबार साँझ पहिरोले दुई घर बगाउँदा पाँच जनाको मृत्यु भएको छ । अरु चार जना बेपत्ता छन् ।

मृत्यु हुनेमा दिपा थापा, कमला विक, तुलबहादुर थापा, मीनकुमारी थापा र विविशा थापा रहेका छन् । तुलबहादुर र मीन कुमारी श्रीमान श्रीमती र विविशा उनीहरुकी नातिनी हुन् । अझै चार जना हराइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

शनिबार साँझ ६ बजेदेखि कुश्मामा मुसलधारे वर्षा भएको थियो । त्यसपछि घरभन्दा माथिबाट आएको पहिरोले दुई घर बगाएको कुस्मा नगरपालिका वडा नं. ३ का अध्यक्ष तेजप्रसाद उपाध्यायले जानकारी दिए ।

मृत्यु भएकामध्ये तीन जनाको शव हिंजो साँझ र २ जनाको शव आज विहान भेटिएको थियो । घटनास्थलमा नेपाली सेनाका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार तथा हराइरहेकाहरुको खोजीकार्य गरिरहेका छन् ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले ३१ जेठमा सूचना जारी गर्दै म्याग्दी, पर्वत र वाग्लुङ्गमा भारी बर्षा गराउने मौसम प्रणालीको विकास भएको जनाएको थियो । महाशाखाले त्यहाँका स्थानीयलाई सचेत हुन पनि भनेको थियो ।

“म्याग्दी र पर्वत क्षेत्रमा विकास भएको मौसमी प्रणाली अहिले निस्कृय भइसकेको छ,” मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने “गण्डकी प्रदेशमा विकास भएको मौसम प्रणाली काठमाडौंसम्म आइपुग्यो, काठमाडौंमा ठूलो वर्षा नभए पनि पहाडी क्षेत्रमा धेरै वर्षा भयो ।”

पर्वतमा मापन केन्द्र नभएका कारण कति मिलिमिटर वर्षा भयो भन्ने विवरण महाशाखासंग छैन । तर, स्थानीयहरुको भनाईका आधारमा पहिरो गएको क्षेत्रमा ‘क्लाउड बर्स्ट’ भएको हुनसक्ने श्रेष्ठले बताए । ‘क्लाउड बर्स्ट’ हुँदा गाग्रोले खन्याएजस्तो ठूलो वर्षा हुन्छ ।

महाशाखाका अनुसार अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा भारी वर्षा गराउने मौसम प्रणाली विकास भइरहेको छ । प्रदेश नं. १ र २ मा आज साँझ र राति भारी वर्षाको सम्भावना छ । मौसमविद् श्रेष्ठका अनुसार सो क्षेत्रमा भारी वर्षा गराउनसक्ने बादलको विकास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस