क्वारेन्टाइन व्यवस्थापनमा खटिएकी डोटीकी मेयरलाई श्वासप्रश्वासमा समस्या, काठमाडौं लगियो

जेठ ३०, २०७७

दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीको श्वासप्रश्वासमा समस्या आएपछि उपचारार्थ  नेपाली सेनाको हेलिकोप्टरद्वारा काठमाडौं लगिएको छ । 

उनी भारतबाट फर्किएका नागरिककलाई क्वारेन्टाइन राख्न सक्रिय हुँदै आएकी थिइन्। उनलाई एक हप्ताअघिदेखि श्वासप्रश्वासमा समस्या आएको उनका परिवारले जनाएका छन्। अर्धचेत अवस्थामै उनलाई आज बिहान काठमाडौं लगिएको बताइएको छ।

चिकित्सकको सल्लाहअनुसार घरमा आराम गरिरहेकी नगरप्रमुख मलासीलाई बिहीबार राति एकाएक  श्वासप्रश्वासमा निकै समस्या आएपछि  काठमाडौं लगिएको उनका स्वकीय सचिव रवीन्द्र जोशीले बताए।

उनले भने, ‘क्वारेन्टाइन व्यवस्थापन गर्ने क्रममा उहाँलाई समस्या देखिएको थियो, धनगढी गएर उपचार गर्दा चिकित्सकले आराम गर्न सल्लाह दिएका थिए, गए राति एकाएक स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज काठमाडौं लगिएको हो।‘

नगर प्रमुख मलासी उच्च रक्तचापसम्बन्धी औषधि सेवन गर्दै आएकी उनका श्रीमान् कृष्ण मलासीले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस