बैकमा सामाजिक दुरी कायम गर्न प्रहरीले लगायो गोलो घेरा

जेठ २४, २०७७

तुलसीपुर । तुलसीपुरमा हप्तामा सबैदिन बैक सञ्चालन हुने भएपछि प्रहरीले सामाजिक दुरी कायम गर्न घेरा लगाउने कामकाे सुरूवात गरेकाे छ ।   ईलाका प्रहरी कार्यालय तुलसीपुरले यस क्षेत्रमा रहेका बैंकहरुमा बढि भिडभाड भएको गुनासो आइरहेका बेला  सांकेतिक चिन्ह लगाएको हो ।

यो चिन्हले बैंकमा हुने मानिसको भिडभाडलाई व्यवस्थापन गरि सामाजिक दुरी कायम गर्न सहयोग पुग्ने ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिए ।

‘कोरोनाको संक्रमण थपिने क्रम बढ्दै गएको छ । तर नागरिकहरु भने लापरवाही गरिरहेका छन्,’ प्रनि शर्माले भने – ‘यस्तो अवस्थामा कोरोनाको संक्रमण फैलिन नदिन बढि भिडभाड हुने ठाउँमा सामाजिक दुरी कायम गर्न चिन्ह लगाउने काम भएको छ ।’

प्रहरीले एक मिटर दूरीको फरकमा गोलाे घेरा लगाएको छ । त्यही घेरामा अभिएर सेवाग्राहीले सामाजिक दुरी कायम गर्दै सेवा लिनु पर्ने प्रहरी निरीक्षक शर्माले बताए । प्रनि शर्माले नागरिक सजग हुँदा प्रहरीलाई भन्दा पनि स्वंयम नागरिकलाई स्वास्थ्यमा सहयोग पुग्ने बताए ।

प्रहरीले २७ वटा बैंक र ६ वटा आइएमएमा सांकेतिक चिन्ह लगाएको छ । बैंकहरु बिहान १० बजेदेखि २ बजेसम्म मात्र संचालन हुने छन् । सामाजिक दुरी कायम गरे या नगरेको र जेष्ठ नागरिकलाई प्रथामिकता दिएको या नदिएको विषयमा पनि प्रहरीले छट्के अनुगमन गर्ने भएको छ ।
पछिल्लो समय ईलाका प्रहरी कार्यालय तुलसीपुरले यस क्षेत्रमा लकडाउनलाई कडाई गर्न विस्तारै व्यवस्थापकिय पक्षलाई कस्दै लगेको छ । पहिलो ध्यान व्यवस्थापनमा दिएको प्रहरीले त्यसपछि लकडाउनलाई पूर्ण कार्यान्वयनका लागि आवश्यक परे बल प्रयोग गर्ने अवस्थामा पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस