इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु कोरोना संक्रमणको खतरामा

जेठ २०, २०७७

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयमा कार्यरत एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

इजरायलका प्रधानमन्त्रीको कार्यालयले यो जानकारी दिएको हो । यद्यपि ७० वर्षीय प्रधानमन्त्री नेतन्याहु ती संक्रमित कर्मचारीको सम्पर्कमा थिए कि थिएनन् भन्ने जानकारी भने दिइएको छैन ।

प्रधानमन्त्री कार्यालयबाट जारी विज्ञप्तिमा यसबारे अनुसन्धान जारी रहेको उल्लेख छ । त्यसपछि संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुलाई आवश्यक दिशानिर्देशन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसअघि दुई पटक प्रधानमन्त्री नेतन्याहुले कोरोना संक्रमणको खतरा सामना गरिसकेका छन् । गत मार्च महिनामा उनका सल्लाहकारमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अप्रिल महिनामा तत्कालीन स्वास्थ्यमन्त्रीमा कोरोना परीक्षण गरिएको थियो, यद्यपि उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार इजरायलमा हालसम्म १७ हजार १ सय ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ सय ८५ जनाको मृत्यु भएको छ । पछिल्ला दिनहरुमा इजरायलमा संक्रमणको दर बढिरहेको छ ।

प्रतिक्रिया दिनुहोस