जटही नाकामा मंगलबार बिहान एक जना नेपालीकाे मृत्यु

जेठ १४, २०७७

नेपाल फर्किदै गर्दा एक जना नेपालीको मृत्यु भएको छ । धनुषाको शहीद नगरपालिका ९ निवासी विरेन्द्र गुरमैता यादवको जटही नाकामा मंगलबार बिहान मृत्यु भएको हो ।

करिब २ सय जना नेपाली भारतबाट आएर जटही नाकामा रोकिएका थिए । यही भिडमा अस्वस्थ भएपछि ३० वर्षीय गुरमैताले आफ्ना परिवारलाई चाँडो आइदिन फोन गरेका थिए । उनको फोन आएलगत्तै उनका भाइ धीरेन्द्रसहित परिवारका ४ जना राति नै जटही पुगेका थिए ।

‘एम्बुलेन्स खोज्न राति दुई घण्टा लाग्यो र एम्बुलेन्स लिएर राति ११ बजे नै जटही पुग्यौं,’ मृतकका भाई धिरेन्द्रले बताए, ‘तर एम्बुलेन्सलाई दाजु भएतिर छिर्न दिइएन ।’

सिमा पारि रहेका दाजुलाई लिन पैदल जाने प्रयास गरेपनि प्रहरीले जान नदिएको बताए । समयमै जान नसक्दा दाजुको मृत्यु भएको भाइ धिरेन्द्रको भनाइ छ ।

विरेन्द्र कामको लागि ४ महिनाअघि भारतको गुजरात गएका थिए । लकडाउनका रोजिरोटी खोसिएपछि उनले नेपाल र्फकिनु पर्ने भयो । परिवारका सदस्यहरुका अनुसार उनी १७ दिनअघि गुजरातबाट नेपालका लागि हिँडेका थिए ।
फर्किने क्रममा बाटोमा उनले खाने कुरा नपाएर उनले ज्यान गुमाउनु परेको परिवारजनको भनाइ छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पनि विरेन्द्रको मृत्यु भएको पुष्टि गरेका छन् । अब उनको शवलाई ल्याएर स्वाब संकलन गरिने र अन्य व्यवस्थापनको बिषयमा छलफल गर्ने उनले जनाए ।

उनको मृत्यु भएपछि सीमामा भारततर्फ जम्मा भएकाहरु आक्रोसित हुँँदै नेपालतर्फ ढुंगामुढा गरेका छन् । ढुंगामुढाबाट ज।१ त १२१३ नम्बरको एम्बुलेन्समा समेत क्षति पुगेको छ ।

प्रमुख जिल्ला अधिकारी निरौलाले सीमामा जम्मा भएकाहरुलाई ल्याउनका लागि गाडी पठाउने तयारी भइरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस