नागरिक व्यवस्थापनमा जनप्रतिनिधिको खटाई

जेठ १०, २०७७

 

तुलसीपुर । वुधवारदेखि वडा नम्वर ६ का जनप्रतिनिधि वर्षात भण्डारीको मोवाइल छिनछिनमा वजिरह्यो “हामी कृष्णनगर नाकामा वसेका छौ, जंगल छ खाने केही छैन बचाउनुपर्यो ” आफ्नै वडाका मानिसले विलाप गर्न थालेपछी उनले हतार हतार नगरप्रमुखलाई खबर गरे ।
नगरप्रमुखबाट अनुमति लिएर कर्मचारी केशव डाँगीको समन्वयमा विहिवार उनी पास वनाएर त्यता लागे ।

“त्यहाँ पुगेपछि निकै वेहाल देखियो अवस्था” उनले भने । राती २ वजे दाङ्ग आइपुगेका भण्डारीले रक्षाचौरमा वनाइएको क्वारेन्टाइनमा सबैलाई ओरालेर घर मात्रै के पुगेका थिए । फेरी अर्को समुहको फोनले उनको मोबाइल वज्न थाल्यो ।

“राती भएकाले समन्वय गर्न सकिएन तर विहानैबाट समन्वय गरेर गाडी पठाइएको छ ” भण्डारीले पहल गरेर गाडी फेरी शनिवार कृष्णनगर गएको छ । “उनीहरुलाई गाडी लिन पठाएर यता मावि सेन्टरमा क्वारेन्टाइन निर्माणका लागि खट्नुपरेको छ ” भण्डारीले जनप्रतिनिधिको जिम्मेवारी पुरा गर्न पाउँदा खुसी लागेको वताए ।

“वडाको कुनै पनि नागरिकले दुख नपाओस् भन्नका लागि जनप्रतिनिधि र कर्मचारी निरन्तर खटेका छौ ” वडाध्यक्ष नवराज लामिछानेले वताए ।
उनीमात्रै होइन तुलसीपुर उपमहानगरपालिका भित्रका जनप्रतिनिधिहरुलाई आफ्ना वडाका मानिस ल्याउन भ्याइ नभ्याई छ ।

भारतबाट आउने नेपालीहरु नाकामा अलपत्र अवस्थामा रहेका वेला जनप्रतिनिधिले गाडी लिएर आएको देख्दा उनीहरु हर्षविभोर हुने गरेका छन् । “वल्ल देशको माया पाए जस्तो भयो ” भरत चौधरीले भने । भारतमा अलपत्र रहेका उनी जनप्रतिनिधिको रोवहरमा तुलसीपुर क्वारेन्टाइनमा आएर वसेका छन् ।

तुलसीपुर उपमहानगरभित्र करिव २ हजार नागरिक आउने आँकलन गरिएको छ । उपमहानगरपालिकाले सबैलाई क्वारेन्टाइनमा राख्नका लागि काम अगाडि वढाएसकेको प्रवक्ता सुर्यवहादुर डाँगीले जानकारी दिए । “सबैलाई अनिवार्य क्वारेन्टाइनमा राखेर स्वाब परिक्षण पश्चात मात्रै घरमा पठाइने छ ”प्रवक्ता डाँगीले भने ।

प्रतिक्रिया दिनुहोस