प्रतिष्ठानले विहिबारबाट फेरी सबै सेवा सुचारू गर्ने

जेठ ०७, २०७७

जेठ, ७ । दाङकाे घाेराहीमा रहेकाे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालबाट प्रदान हुँदै आएकाे  अन्तरंग र बहिरंग सेवा काेराेनाका बिरामीकाे उपचार गर्नु पर्ने भन्दै बन्द गरेपछि सेवाग्राहीबाट भएकाे चर्को विरोध र दवावपछि अन्ततः पछि हट्दै भोलिबाट नियमित सेवा सुचारु गर्ने भएको छ ।

प्रतिष्ठानले कोरोनाका विरामी राख्ने र अन्तरंग तथा बहिरंग सेवा रोक्ने निर्णय विज्ञप्तिमार्फत सार्वजनिक गरेलगत्तै जनस्तर तथा सरोकार सम्वद्ध संघसंस्थाबाट चर्को बिरोध भएको थियो ।

बुधबार बेलुकी प्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रसाद देवले विज्ञप्ति जारी गर्दै यसअघिको निणर्यमा पुनर्विचार गर्दै कोरोनाका विरामी आइसोलेसनमा भर्ना नहोउञ्जेलसम्म भोलि बिहीबारबाट नियमित रूपमा सेवा प्रदान गरिने जानकारी गराएका छन् ।

हिजो विज्ञप्ति जारी गर्दै प्रतिष्ठानले सेवा रोक्ने जानकारी गराए लगत्तै विभिन्न संघसंस्था तथा नागरिकहरुबाट लकडाउनका बेलामा भएको असहज परिस्थितीमा नियमित सेवा सुचारु गर्न व्यापक दवाव दिएका थिए । दाङ जिल्ला उद्योग वाणिज्य संघ, नागरिक समाज दाङ, घोराही उपमहानगरपालिका वडा नम्बर १५ को कार्यालयले सेवा सुचारु गर्न तथा कोरोनाका विरामी भर्ना गर्नु पर्ने भए वैकल्पिक व्यवस्थापनमा जुट्न अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस