तुलसीपुरले सुरु गर्यो: दिनभरी काम, घर जाँदा माम र दाम

जेठ ०७, २०७७

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर ५ रानीजरुवा टोलकी पवित्रा विक दैनिक ज्यालादारी गरेर परिवारको गर्जो टार्थिन । लकडाउन पश्चात बाहिर निस्कन नपाएपछि उनको काम गर्ने क्रम रोकियो । कामसँगै जोडिएको माम पनि रोकियो । वडा कार्यालयले केही दिनलाई पुग्ने राहत दियो । पाँच जनाको परिवारलाई केही दिन त्यही राहतले थेग्यो । राहत सकियो तर लकडाउन सकिएन ।

उनी फेरी स्थानीय सरकारको ढोका ढक्ढक्याउन पुगिन् । पहिलोपटक खाद्यान्न मात्रै पाएकी विकले काम पनि पाउँने भइन् । ‘लकडाउन लम्विए पनि अब खान नपाएर मरिदैन जस्तो भएको छ ’ उनले भनिन् ।

तुलसीपुर बजारमा अहिले उनीहरुजस्ता दशौ मानिसहरु सामाजिक दुरी कायम गरेर पेन्ट गरिरहेको, सरसफाईका साथै फुल लगाइरहेका देखिन्छन् ।

उनको जस्तै भोगााई छ, सोही ठाउँ वस्ने निर्मला आचार्यको पनि । खाद्यान्न नहुँदा भोकै मरिन्छ की भन्ने त्रासका विचमा उनले काम पाएपछि सन्तोषको सास फेरेकी छिन् । ‘अब पाखुरा वजारेर काम गरिन्छ अनि पेटभरी खाइन्छ पनि ’ उनले खुसी व्यक्त गरिन् । लकडाउनले काम खोसेपछि मरिन्छ कि भन्ने चिन्ता अहिले दुर भएको पनि उनले वताइन् ।

तुलसीपुर बजारमा अहिले उनीहरुजस्ता दशौ मानिसहरु सामाजिक दुरी कायम गरेर पेन्ट गरिरहेको, सरसफाईका साथै फुल लगाइरहेका देखिन्छन् । दिनभरी उनीहरुले वजारमा काम गर्छन् अनि साँझ नुन, दाल, चामल, तेल र साबुन बोकेर घर जाने गर्दछन् । ‘कामको विवरण राखेर सोही अनुसारको राहत दिने गरेका छौ’ विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले जानकारी दिए ।

उनले एक परिवारबाट आएकालाई ५ दिनसम्म काम दिने व्यवस्था गरिएको समेत वताए । ३ दिन काम गरे बराबरको २५ किलो चामल, १ किलो दाल, १ किलो नुन, १ लिटर तेल र १ पिस सावुन दिने व्यवस्था व्यवस्था गरिएको पनि खत्रीले वताए ।

५ जना भन्दा बढि परिवार भएका मध्येबाट २ जनालाई कामको अवसर दिइने पनि उनले बताए । खाद्यान्न घरमा भएकाहरुलाई पैसा समेत दिइने पनि उनले जानकारी दिए ।

सुरक्षाका विभिन्न विधि अपनाउनुका साथै सामाजिक दुरी कायम गरेर काम गराइएको पनि अधिकृत मिश्रले जानकारी दिए ।

वडा कार्यालयको सिफारिसमा रोजगार प्रवद्र्धन शाखाले काम लगाउने गरेको छ । शाखाका अधिकृत गिरीराज मिश्रका अनुसार के काम गर्ने भन्ने वारेमा वडा कार्यालयले योजना वनाएको समेत जानकारी दिए ।

सबै वडाबाट गरेर ३ सय जनालाई काम दिने तयारी भइरहेको पनि उनले वताए । ‘फोरलेन सडकमा पनि काम गरिरहेका छन्’ अधिकृत मिश्रले जानकारी दिए । तुलसीपुर विकास प्राधिकरणको काममा समेत उनीहरुलाई लगाइएको प्राधिकरणका सदस्य विजय विकले जानकारी दिए ।
‘सडकमा वेस ओछ्याउने काममा उनीहरुले काम गरिरहेका छन् ’ सदस्य विकले जानकारी दिए ।

‘हामीले कार्यविधि समेत वनाएर काम अगाडि वढाएका छौ’ अधिकृत मिश्रले जानकारी दिए । उनले विभिन्न क्षेत्रबाट कामदारको समेत माग भइ आएको हुँदा उनीहरुलाई पनि उपलब्ध गराइने बताए । सुरक्षाका विभिन्न विधि अपनाउनुका साथै सामाजिक दुरी कायम गरेर काम गराइएको पनि अधिकृत मिश्रले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस