शिक्षामा अरू देशले के गर्दैछन् ?

जेठ ०५, २०७७

कोभिड–१९ संक्रमणका कारण विश्वका अधिकांश देशलाई विद्यालय सञ्चालन र पठन–पाठनमा समस्या परिरहेको छ । यतिबेला कतिपय उपाय र विकल्प प्रभावकारी देखिएका छैनन् । केही देशमा अनलाइनबाट पठनपाठन सञ्चालन गरिएको छ भने कतिपयले सामाजिक दूरी कायम गरेर विद्यालय नै खोलेका छन् । शिक्षाविद् केदारभक्त माथेमा विदेशमा के–कस्तो अभ्यास गरिएको छ, राम्रा कुराहरूको सिको नेपालले गर्न सक्ने बताउँछन् । ‘कहाँ–कहाँ राम्रा प्राक्टिस गरेका छन्, त्यसको अध्ययन गरौं, दूतावासमार्फत ती देशहरूबाट सहयोग लिऊँ,’ उनी भन्छन् ।दक्षिण कोरियाले आफ्ना विद्यार्थीहरूलाई उमेरअनुसारको तालिका बनाएर अनलाइन शिक्षण गरिरहेको छ ।

उसले ठूला बालबालिकाहरूको एकसाता पहिले र बाँकीको अप्रिल १६ बाट कक्षा सुरु गरेको हो । स्कुलबाहिर हुँदा पुस्तकालयमा स्वतन्त्र रूपमा अध्ययन गर्न चाहेका विद्यार्थीले पुस्तकालय अभावका कारण दु:ख मनाउ गरेका छन् । दक्षिण कोरियाको शिक्षा मन्त्रालयले १ लाख ७० हजार विद्यार्थीमा स्मार्ट उपकरणको पहुँच पुग्न नसकेको अनुमान गरेको छ । यद्यपि, स्थानीय सरकारले कम आय भएका विद्यार्थीहरूलाई उपकरण वा इन्टरनेट पहुँच आवश्यक पर्ने सहयोग गर्ने वाचा गरेका छन् । आफूहरूलाई राम्रो तालिम नदिइकनै भर्चुअल प्रक्रियामा जानुपरेकाले त्यहाँका शिक्षकहरू चिन्तित छन् ।

‘हामी कसरी प्राथमिक स्कुल स्तरमा टेक्निकल चुनौती सामना गर्न सक्छौं भन्ने कुरामा चिन्तित छौं । बालबालिकाहरू टाइप गर्न वा लग इन गर्ने तरिका पत्ता लगाउन सक्दैनन्, उनीहरूका बा–आमाहरू उनीहरूसँग हुँदैनन्,’ एक शिक्षिकाले त्यहाँको सञ्चारमाध्यमलाई बताइन् । त्यहाँको हालै भएको सरकारी सर्वेक्षणमा ६६ प्रतिशत अभिभावकले मात्र अनलाइन कक्षाको अवधारणालाई समर्थन गरेका छन् । बाँकी अभिभावक बालबालिकाको स्वास्थ्यका बारेमा चिन्तित देखिएका छन् ।

अमेरिकाले पनि अनलाइन कक्षालाई केन्द्रित गरेको छ । तर, त्यो त्यति प्रभावकारी हुन सकेको छैन । शिक्षकहरूलाई विद्यार्थीहरूको ठूलो संख्यामा कक्षा सञ्चालन गर्न चुनौती भइरहेको छ । धेरै विद्यार्थीहरू अझै पनि कम्प्युटर वा इन्टरनेटको पहुँचबाहिर छन् । त्यहाँ पनि लामो समय यस्तै अवस्था रहिरह्यो भने सामान्य अवस्थामा स्रोतको पहुँचबाट बञ्चित भएकाहरू बढी नै विभेदमा पर्ने खतरा हुने न्युयोर्कका द एजुकेसन ट्रस्टका कार्यकारी निर्देशक इयान रोजन ब्लमले सञ्चारमाध्यमलाई जनाए ।

यद्यपि, केही देशमा अनलाइन शिक्षा प्रभावकारी ढंगले सञ्चालन गर्ने प्रयास गरिएको छ र अन्य प्रक्रियाबाट अध्यापनलाई सहज बनाइएको छ । अर्जेन्टिनामा अप्रिल १ बाट शिक्षा मन्त्रालय र प्रेस तथा जनसम्पर्क सचिवालयले रेडियो र टेलिभिजनमार्फत सिकाइ सुरु गरेका छन् । ब्रोडकास्टिङमा शिक्षक र प्रस्तोता दुवै हुने व्यवस्था छ । विद्यार्थीहरूलाई टेलिभिजनबाट १४ घण्टा र रेडियोबाट ७ घण्टा अध्यापन गराइन्छ । टेक्नोलोजी र कनेक्टिभिटीको समस्या भएको विद्यार्थीका लागि ९ वटा नोटबुक प्याक तयार गरिएको छ । जुन शिक्षकहरूले घरमै उपलब्ध गराउँछन् । त्यसमध्ये २ वटा पूर्वप्रावि, ४ वटा प्रावि, २ वटा मावि तहका बालबालिका र एउटा परिवारलाई उपलब्ध हुन्छ ।

मोबाइल वा इन्टरनेटको सुविधा भएको बालबालिकालाई सोहीमार्फत पढाइ गराउने र उपलब्ध नहुनेहरूलाई सातामा एक पटक शिक्षक नै पुगेर डकुमेन्ट विद्यार्थीलाई बुझाउने अभ्यास भइरहेको छ ।

चीनमा अनलाइन एजुकेसन फरक ढंगले सञ्चालन गरिएको छ । सुरुमै इन्टरनेटको पहुँच कम भएको ठाउँमा प्रभावकारी बनाउन सरकारले इन्टरनेट प्रदायक संस्थालाई परिचालन गर्‍यो । विद्यार्थीलाई कुन विधिबाट सजिलो हुन्छ त्यही विधि छनोट गर्नु भनेर शिक्षकलाई सरकारले निर्देशन दियो । त्यहाँ सबै शिक्षकलाई अनलाइन शिक्षण विधिको गाइडलाइसमेत दिइएको छ भने अनलाइनमार्फत मनोसामाजिक परामर्शसमेत दिइने गरेको छ ।

अस्ट्रियाको शिक्षा मन्त्रालयको वेबसाइटमा सामग्री प्रस्तावहरूको एक ठूलो संख्या संकलन गरिएको छ । लर्निङ प्लेटफार्महरू जस्तै मुडल(अनलाइन लर्निङ पोर्टल) र एलएमएस प्रयोग भइरहेको छ, साथै माइक्रोसफ्ट र गुगलजस्ता कम्पनीहरूबाट क्लाउड समाधानका काम भइरहेका छन् । मन्त्रालयले बनाएको सामग्री प्लेटफर्म एडुथेकले घरको अभ्यास गर्न र उनीहरूको ज्ञानलाई गहिरो बनाउन सबै स्कुल स्तरका विद्यार्थीहरूलाई सामग्री प्रदान गरेको छ । हाल स्कुलका पुस्तकहरूका धेरै प्रकाशकहरू र प्रदायकहरूले उनीहरूको केही सामग्री नि:शुल्क प्रदान गरिरहेका छन् ।

स्थानीय तहमा बालबालिकालाई नि:शुल्क अनलाइन शिक्षा पनि प्रदान गरिएको छ ।

१८ मार्च २०२० देखि सार्वजनिक टिभी स्टेसनले सबै स्कुल स्तरहरूमा विद्यार्थीहरूका लागि विशेष शिक्षा कार्यक्रम प्रदान गरिरहेको छ । प्रत्येक बिहान ६ बजेदेखि ९ सम्ममा प्रि–स्कुल र प्राथमिक विद्यालयका बालबालिकाका लागि कार्यक्रम प्रसारण गरेको छ । वृत्तचित्रहरू, जानकारीमूलक खण्डहरू र स्पष्टीकरणात्मक भिडियोहरू साथै यो लक्षित समूहका लागि विशेष रूपमा डिजाइन गरेको छ ।

त्यहाँको सरकारले डिजिटल शिक्षण वातावरणको दक्षता सुधार गर्न थप प्रयासहरू गरिरहेको छ । हाल मन्त्रालयले दूरशिक्षाका लागि दिशानिर्देशहरू र शिक्षक तथा स्कुल प्रबन्धकका लागि एकल बिन्दुको रूपमा एक दूरी शिक्षा सेवा पोर्टलको अवधारणामा काम गरिरहेको छ । स्थानीय तहमा बालबालिकालाई नि:शुल्क अनलाइन शिक्षा पनि प्रदान गरिएको छ । मोबाइल, टेलिफोन तथा इमेलमार्फत मनोवैज्ञानिक परामर्श पनि दिने गरिएको छ ।

चिलीमा पनि डिजिटल माध्यमबाट नै पढाइएको छ । चिली शिक्षा मन्त्रालयको एक टोलीले विविध सामग्रीलाई अन्य देशहरूमा पनि स्कुलहरू बन्द हुने क्रममा उपलब्ध गराएको थियो । यी सामग्रीमध्ये केही ४ देखि १३ वर्षका बालबालिकाहरूका लागि नि:शुल्क भिडियोहरू समावेश छन् ।

विद्यालयमा भौतिक पूर्वाधार व्यवस्थापन र सामाजिक दूरी कायम गरेर मात्र सञ्चालन गरिएको त्यहाँका अधिकारीले बताए ।

कोलम्बियामा सुरुका दुई साताका लागि शिक्षकहरूलाई शैक्षिक योजना तयार गर्न समय दिइयो । उनीहरूले सोहीअनुसार तयारी पनि गरे । कोलम्बिया सरकारले शिक्षक र शैक्षिक संस्थाको समन्वयमा देशभरि प्राथमिकदेखि मध्य विद्यालयका विद्यार्थीहरूका लागि सार्वजनिक रेडियो र टेलिभिजन दुवै शैक्षिक कार्यक्रम प्रसारण गर्न पनि सुरु गर्‍यो । इन्टरनेट पहुँच भएको ठाउँमा सोहीअनुरूप तयारी गर्‍यो । शिक्षा मन्त्रालयले ८० हजारभन्दा बढी डिजिटल शिक्षण संसाधन, विभिन्न मोडल, खेल तथा भिडियो गेमलगायतका विविध सामग्री व्यवस्था गर्‍यो । इन्टरनेटमा पहुँच नभएका परिवारहरूका लागि सरकारले घरबाट सिक्ने व्यवस्थाको डिजाइन गर्‍यो ।

भियतनाममा भने सोमबारयता सामाजिक दूरी कायम गरेर विद्यालयहरू सञ्चालन हुन थालेका छन् । विद्यालयहरू खोल्ने भियतनामी सरकारको निर्णय दक्षिणपूर्व एसियाली देशले अप्रिलको अन्त्यमा सामाजिक दूरीको उपायमा सहज पारेपछि आएको थियो । विद्यालयमा भौतिक पूर्वाधार व्यवस्थापन र सामाजिक दूरी कायम गरेर मात्र सञ्चालन गरिएको त्यहाँका अधिकारीले बताए ।

विद्यार्थीहरूलाई १ मिटरको दूरीमा अलग रहन आदेश दिइएको छ र सबैले मास्क लगाउनुपर्ने अनिवार्य छ । तर, विद्यार्थीहरूमा आशंका र त्रास भने पूर्णरूपमा घटेको छैन । त्यहाँका विश्वविद्यालयहरू पनि एकपछि अर्को गर्दै सुरु हुन थालेका छन् । आधिकारिक परीक्षणका अनुसार भियतनाममा २ सय ७१ संक्रमणका केसहरू छन् र मृत्यु संख्या शून्य छ ।

बेलायतमा इन्टरनेट पहुँच र सुविधा भएका बालबालिकालाई इन्टरनेटबाटै पढाउने गरिएको छ । मोबाइल वा इन्टरनेटको सुविधा भएको बालबालिकालाई सोहीमार्फत पढाइ गराउने र उपलब्ध नहुनेहरूलाई सातामा एक पटक शिक्षक नै पुगेर डकुमेन्ट विद्यार्थीलाई बुझाउने अभ्यास भइरहेको छ ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस