हाम्राे जीवन शैली र ओजाेन तह

बैशाख २७, २०७७

 

ओजोन तह बाट सिर्जित समस्याहरूलाई कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो रहेको छ।

हाल कोरोना भाईरसका कारण देश लकडाउनमा छ । आजका दिनसम्म आइपुग्दा सवारीसाधनहरू अत्यन्तै न्यून चलेका छन् भने सर्वसाधारणहरू पनि घरमा नै बसिरहेका छन् । त्यतिमात्र होइन कोरोनाको जोखिमलाई मध्यनजर गर्दै मानवीय गतिविधि,कलकारखाना, यातायातहरू पनि पूर्णरुपमा ठप्प छन् । जसको कारण ठूलो मात्रामा वायु प्रदूषणमा गिरावट आएको छ । कोरोना कहर तथा त्यसबाट मानव का लागl सिर्जित समस्याले प्रकृति र ओजोन तहमा सकारात्मक प्रभाव  पारेको  देख्न पाईन्छ ।

ओजोन भनेको अक्सिजनको तीनवटा एटम मिलेर बनेको एउटा मोलेक्युल हो । ओजोन तह प्राकृतिक रूपले पृथ्वीको स्ट्राटोस्फेयरमा समुद्री सतहबाट १५ देखि ५० किलोमिटरको दूरीमा रहेको हल्का निलो रंगको वायुमण्डलको ९० प्रतिशत ओजोन ग्यासको तह हो । सन् १९१३ मा ओजोन तहको बारेमा फ्रान्सको दुईजना भौतिकशास्त्रका वैज्ञानिकहरू चाल्र्स र हेनरीले पत्ता लगाएका थिए ।

ओजोन होल भनेको नै ओजोन तहमा कमी हुनु बुझिन्छ ।

जब सूर्यको प्रकाश अर्थात् परावैजनी विकिरणले अक्सिजनको अणुलाई विखण्डन गरी अक्सिजनको परमाणुमा परिवर्तन गरिदिन्छ तब विखण्डित ती अक्सिजनका परमाणुले फेरि अक्सिजनका अणुसँग प्रतिक्रिया गरी ओजोन ग्यासको निर्माण हुन पुग्छ । ओजोन तह छाता जस्तै हुन्छ जस्तो कि छाता ले घाम पानी बाट हामीलाई बचाउछ त्यसै गरि ओजोन तहले पनि सूर्यबाट निस्केको हानिकारक परावैजनी किरणलाई सोस्ने (फिल्टरको) काम गर्दछ । जसको फलस्वरुप खतरनाक किरणहरु पृथ्वी को सतहसम्म आउन सक्दैन ।

हाम्रो वायुमण्डलमा झण्डै तीन अर्ब मेट्रिक टन परिमाणमा ओजोन रहे पनि यसको हिस्सा समग्र वायुमण्डलको शून्य दशमलव ००००६ प्रतिशत मात्र हुन आउँछ ।  वायुमण्डलमा ओजोन औसत ३०० डवसन युनिट हुनु राम्रो मानिन्छ । वायुमण्डलमा ओजोनको औषत मात्रा २२० डवसन युनिटभन्दा कम हुनु नै ओजोन होल भन्ने गरिन्छ । ओजोन होल भनेको नै ओजोन तहमा कमी हुनु बुझिन्छ ।

सूर्यबाट आउने पारावैजनी विकिरणहरु ओजोन तहमा क्षयीकरणका कारण पृथ्वी सम्म आइपुगेमा विभिन्न किसिमका समस्या हरु निम्त्याउछ।जस्तो कि छालाको क्यान्सर, आँखाको रोग, सानसाना रुखविरुवाको विकासमा नकारात्मक असर, मुटुको रोग, श्वासप्रश्वास सम्बन्धी रोग, जलमा पाइने प्राणी (माछा) माथि पनि असर, जैविक विविधता संरक्षणमा असर, मानिस तथा जनावरहरूको स्वास्थ्यमा पर्ने प्रतिकूल असर पार्दछ। यसाे भयो भने रुखबिरुवाहरू बाँच्ने दरमा कमी आएर कार्बनडाइअक्साइड  कम हुन्छ । फलस्वरूप पृथ्वीको तापक्रममा नाटकीय तवरले वृद्धि भई जलवायुमा परिवर्तन हुन जान्छ ।

क्लोरिनको एउटा परमाणुले एक लाख ओजोनका अणुलाई नष्ट गर्ने क्षमता राख्छ ।

ओजोन तहको क्षयीकरण वैज्ञानिक प्रक्रियाको कारण हुने गर्दछ । यसमा मानिस नै बढी जिम्मेवार देखिन्छ किनभने मानिसले विलासी जीवन व्यतित गर्न आवश्यक पर्ने उपकरणहरू जस्तै रेफ्रिजेरेटर, एयरकन्डिसनजस्ता उपकरणहरु प्रयोग गर्दा निस्कने क्लोरोफ्लोरो कार्बन, हाइड्रोक्लोरोफ्लोरो कार्बन र वातावरणीय प्रदूषण, वन विनाश, अवैज्ञानिक खेतिप्रणाली, उद्योग कलकारखानाको विकास आदिका कारणले क्षयीकरण हुँदै गइरहेको छ ।

चरम मात्रामा उत्पादित क्लोरोफलोरो कार्बन ले सूर्यको किरण संग प्रतिक्रिया गरि  क्लोरिनमा परिवर्तन हुने गर्दछ । क्लोरिनले ओजोनको अक्सिजनसँग प्रतिक्रिया गरी ओजोन ग्यास मोलेक्युललाई परिवर्तन गरी ओजोन तह घटाउने काम गर्दछ । क्लोरिनको एउटा परमाणुले एक लाख ओजोनका अणुलाई नष्ट गर्ने क्षमता राख्छ । क्लोरोफ्लोरो कार्बनको आयु १५० वर्ष हुन्छ ।

वायुमण्डलमा जति बढी क्लोरोफ्लोरो कार्बन भयो र ओजोन ग्याससँग जति बढी रसायनिक प्रतिक्रिया भयो त्यति नै बढी ओजोन तह क्षयीकरण हुने गर्दछ ।एक वैज्ञानिक अध्ययन अनुसार ओजोन तहमा १० प्रतिशतले कमी भएमा मानिसमा छालाको क्यान्सर हुने सम्भावना ३० प्रतिशतले बढ्दछ ।ओजोन तहको क्षयिकरणमा अविकसित मुलुकभन्दा विकसित औद्योगिक मुलुक नै यसमा बढी जिम्मेवार रहेका छन।

नेपालमा पनि यसको असरले कृषि, वन,हिमनदी, जलसम्पदा,उर्जा तथा जैविक विविधतामा क्षेत्रमा यसको  असर देखिएको छ।

मानवबाट सिर्जित समस्या का कारण पृथ्वी को उत्तरी र दक्षिणी धुर्बमा ओजोन तहमा प्वाल हरु भएको बैज्ञानिक हरुले जनाएका छन।दक्षिणी ध्रुबको ओजोन तहमा बन्ने प्वालहरुको कारण क्लोरिन तथा ब्रोमिनसहितका रसायन हुने गरेका छन् । तर उत्तरी ध्रुबमा बनेको प्वालको कारक भने भूमरी रहेको र आकार पनि सानो रहेको वैज्ञानिकले बताएका छन् ।

अहिले सो प्वाल पनि पहिले देखिएको भन्दा सानो हुँदै जानु खुशीको खबर रहेको वैज्ञानिकले । विश्व मौसम विज्ञान संगठन (डब्ल्यूएमओ) का अनुसार सन् २००० पछि अन्टकार्टिकामा ओजोन प्वाल एकदेखि तीन प्रतिशतले घटेको छ । तर, डब्ल्यूएमओका अनुसार अन्टार्कटिकाको ओजोन तहमा प्वाल पूरा रूपले बन्द हुन कम्तिमा सन् २०५० सम्म कुर्नुपर्ने हुन्छ ।

हालैका केही तथ्यांकहरुको अध्ययनबाट नेपालमा ओजोन तहको बारेमा जानकारी पाएका घरपरिवारको संख्या जम्मा ५ प्रतिशतको हाराहारीमा मात्रै छ । नेपालमा पनि यसको असरले कृषि, वन,हिमनदी, जलसम्पदा,उर्जा तथा जैविक विविधतामा क्षेत्रमा यसको  असर देखिएको छ।ओजोन तहका कारण हुने जलवायु परिबर्तन ले बर्षा मा पारेको प्रभाव ले खेती प्रणाली लाईनै परिवर्तन गरिदिएको छ।

यसका कारण नयाँ नयाँ रोग तथा कीराहरुको प्रकोप, माटो तथा स्थानअनुकूलको उत्पादनमा पनि कमी आउनु जस्ता समस्याहरु हुन थालेका छन् । यसबाट कृषि उत्पादनमा प्रत्यक्ष असर पारेको देखिएको छ।यसका साथै हिउँ पग्लिने क्रममा अनियमितता आउँदा समेत उच्च पहाडी भेगमा कृषिबालीमा नोक्सानि हुन गएको छ ।जलवायु परिवर्तनलाई नियन्त्रणमा राख्न नसकिए नेपालजस्ता गरिब देशहरुमा खाद्यसंकट तथा मूल्यवृद्धि र जलविद्युतमा पनि भविष्यमा संकट नआउला भन्न सकिन्न्न।

प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने निम्नस्तरका जनताको जीवनस्तरमा पनि सुधार हुन जानेछ।

सन् २००४ मा प्रकाशित प्रतिवेदनलाई आधार मान्ने हो भने अहिले विश्वमा उत्सर्जन हुने करिव ६० प्रतिशत कार्बन डाइअक्साइड वनजङ्गलले सोस्ने गर्दछ। यसबाट के देखिन्छ भने विश्वमा यसको प्रभाव घटाउनका लागि हामीले सकेसम्म बढी वनजङ्गल बढाउने प्रयत्न गर्नुपर्छ। ओजोन तह बाट हुने असरलाई न्यूनीकरण गर्न र यसलाई लाभमा परिणत गर्नका लागि बहृत् रूपमा वृक्षारोपणको अभियान चलाउनुपर्छ। प्रत्येक घर र कार्यालयमा कम्तीमा एउटा रूख मात्रै रोप्न सक्ने हो भने निम्नस्तर का जनता को जीवनस्तर मा पनि सुधार हुन जानेछ।

त्यसैगरी, सडकको दायाँ-बायाँका किनारामा वृक्षारोपण गर्नुपर्छ। त्यसो गर्न सकियो भने गाउँ र सहरको शोभा मात्र बढ्दैन, मानव स्वास्थ्यका लागि आवश्यक अक्सिजन पनि उत्पादन हुन जानेछ।साथै देशभरि नै वातावरण मैत्री सार्वजनिक यातायात प्रणालीको गरी प्रत्येक घरमा ऊर्जा बचतको प्रविधि लागू गरिनुपर्दछ र सम्पूर्ण उद्योगलाई कम कार्बन उत्सर्जन गरेको सुनिश्चित गर्न नियमन गरिनुपर्दछ।

यसैगरी विद्यालयको सम्पूर्ण तहमा वातावरण शिक्षाको पाठ्यक्रम समावेश गर्नु र भएका पाठ्यक्रमको अद्यावधिक र स्तरीकरण गरिनु जरूरी छ। त्यसैले आजैदेखि ऊर्जाको रूपमा पेट्रोलियम पदार्थको उपयोगमा कमी ल्याई वैकल्पिक ऊर्जाजस्तै जलविद्युत्, सौर्यशक्ति, बायोग्याँसको उपयोगमा वृद्धि गर्न आवश्यक छ। तसर्थ ओजोन तहबाट सिर्जित समस्याहरूलाई कमी ल्याउन स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा साझा प्रयासको खाँचो रहेको छ।

लेखक गोरखा मावि तुलसीपुरका विज्ञान संकाय संयोजक हुन्

प्रतिक्रिया दिनुहोस