जुम्ल्याहा बच्चा जन्माउने महिलाको ज्यान यसरी जोगियो

डायरी

बैशाख २७, २०७७

शुक्रवार साँझ ७ वजे तुलसीपुर उपमहानगरपालिका कोरोना विपद् व्यवस्थापन समितिका फोकल पर्सन विमल केसीको तारन्तार फोन आएको थियो । “क्वारेन्टाइनमा रहेकी महिलाको तत्काल उद्दार गर्नुपर्ने भयो नगरप्रमुखको सचिवालयको तर्फबाट तपाईले केही सहयोग गर्नुपर्ने भयो ” हतासपूर्ण आवाज सुनेपछि केही ठूलो संकटको आँकलन गरेर म हतार हतार राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पुगे ।

 महिलाको आफन्त जे भनेपनि उपमहानगरपालिकाबाट खटिएका कर्मचारी मात्रै थिए ।

अघिल्लो दिन क्वारेन्टाइनमा आएकी तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १३ फुलवारीकी अनिता यादवलाई सुत्केरी व्यथाले च्यापेपछि मध्यान्ह १२ वजे क्वारेन्टाइनबाट त्यहाँ ल्याइएको रहेछ । शरीरमा रगतको मात्रा कम भएको र अपरेसन गरेर बच्चा निकाल्नु पर्ने भएपछि तत्काल नेपालगञ्ज लैजानका लागि चिकित्सकले सुझाएका रहेछन् । नेपालगञ्ज लैजाने भनेपछि सबै हतास देखिन्थे ।

किनभने उक्त महिलाको आफन्त जे भनेपनि उपमहानगरपालिकाबाट खटिएका कर्मचारी मात्रै थिए । १२ वजे अस्पताल ल्याएकी महिलाका आफन्तलाई खबर गर्दा पनि कोही नआएपछि कर्मचारीले मात्रै कसरी नेपालगञ्ज लैजाने सबै चिन्तामा थियौ । उनको अप्रेसन गर्दा हस्ताक्षर गर्ने आफ्नो मान्छे समेत थिएन ।

अन्ततः नेपालगञ्ज नै लैजाने भनेपछि विपद् व्यवस्थापनको नेतृत्व गर्नुभएको शाखा अधिकृत भिमप्रकाश खत्रीलाई मैले वडाका जनप्रतिनिधिलाई खवर गर्नका लागि आग्रह गरे । अध्यक्षको फोन लागेन , उर्जावान वडा सदस्य विनोद पाण्डेले फोन उठाए । उनले नेपालगञ्ज जानका लागि तयार रहेको पनि जानकारी दिए । तर फोन राखेको आधा मिनेटमै उनको श्रीमतिको फोन आयो “ उहाँ जान सक्नुहुन्न आफै मिलाउनु, नेकपाको नेता मोहन पौडेललाई भन्नु” पाण्डेले हो मा हो मिलाए ।

कर्मचारी मात्रै भन्दा पनि वडामा जानेको वुझेको एक मानिसलाई लैजानका लागि मैले सल्लाह दिए र सोही अनुसार गर्भवति महिलाको छोरी, श्रीमान र मोहन पौडेललाई लिनका लागि पुनः गाडी पठाइयो । (पहिलो पटक गाडी पठाउँदा उनी आउन मानेन्) गाडी लिन जाने वित्तिकै यता नगरप्रमुख घनश्याम पाण्डे र चिकित्सकसँगको परामर्श पछि स्त्री रोग विशेषज्ञ डाक्टर विनोद सिंह प्रादेशिक अस्पताल मै सुत्केरी वनाउनका लागि राजी भए । यसमा मेडिकल सुपेरिटेन्डेन्ट डा. सर्वेेश शर्माले विशेष भुमिका वहन गरेका थिए ।

अपरेसन त गराउने तर गर्भवती महिलाको रगतको मात्राको कमी भएका कारण तत्काल ओ पोजेटिभ ग्रुपकाे २ पोका ताजा व्लड चाहिने भयो । आधा घण्टाभित्र कसरी ताजा व्लड ल्याउनु ? हामीलाई अर्को आपत थियो । स्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने, महिला शाखाकी माया श्रेष्ठ, महिला अधिकारकर्मी दिपा धिताल लगायतको समुहलाई अर्को चिन्ता थपियो । हामी कसैको पनि व्लड ग्रुप मिलेन ।  स्वास्थ्य शाखाका कर्मचारी विष्णु गिरीको व्लड ग्रुप मिलेकाले उनले तत्काल एक पोका दिए ।

अर्को पोकाका लागि मैले फेसवुकमा सहयोगको याचना गरेर राखे । तुलसीपुर नगर जेसिजका कार्यक्रम निर्देशक दामोदर न्यौपानले अर्को पोका रगत दिए । तथापि फेसवुकमा राख्ने वित्तिकै दर्जनौ रक्तदाताहरुले रगत दिन तयार रहेको भनेर सम्पर्कमा आएका थिए ।

सुत्केरी भएको अवस्थामा साथ दिने एक्लो मान्छे पनि अनिताको साथमा थिएन ।

महिलाका श्रीमान ९ वजेतिर अस्पताल आए । उनको आफ्नो भन्ने श्रीमान र बच्चा मात्रै रहेछन् । यो भन्दा अगाडि उनका २ छोरा र २ छोरी रहेछन् । अलि ठूली भनेकी जेठी छोरी कामका लागि भारतमा रहिछन् भने अरु सबै १० वर्ष मुनिका मात्रै छन् । तर श्रीमानको अवस्था निकै नाजुक थियो । श्रीमतीलाई सहारा दिनका लागि वोलाइएका श्रीमानलाई हामीले सहारा दिएर वसाउनुपर्ने अवस्था थियो । मादक पदार्थ सेवन गरेर उनी केही पनि थाहा नपाउने भएका थिए । उनलाई श्रीमतीको चासो र चिन्ता केही पनि थिएन ।

सुत्केरी भएको अवस्थामा साथ दिने एक्लो मान्छे पनि अनिताको साथमा थिएन । निकै कारुणीय दृश्य थियो त्यो । तर पनि युवा नेता मोहन पौडेलले सबै सम्हाल्ने वताएका थिए । गर्भवति महिलालाई रगत चढाउने तयारी गर्दा गर्दै “नर्मल ” नै उनको वच्चा जन्मियो । उनले जुम्ल्याहा नानीहरु जन्माइन । सबैको अनुहारमा खुसी थियो । साच्चै समयमै उद्दार गरेर अस्पताल ल्याउन सकिएकाले एउटी आमाको ज्यान वचेको थियो । नानीहरु जन्मने वित्तिकै केयौ दिनदेखि भोकै ,प्यासै र हिड्दै आएकी अनिताको अनुहार एकाएक उज्यालो भयो ।

जनस्वास्थ्य निरिक्षक विमल केसीको छोराको जन्मदिन परेको थियो । त्यही अवसर छोपेर उनले दुई नानी र सुत्केरी आमालाई कपडा किनिदिए । विपद् व्यवस्थापन शाखाका अधिकृत भिमप्रकाश खत्रीले व्यक्तिगत पहलमा सबैको खानाको व्यवस्था गरिदिए ।

यसरी ल्याइएको क्वारेन्टाइनमा

गर्भवति अनिता यादव चार महिना अगाडी भारतको विलौनी माइतीमा काम गर्न गएकी थिइन् । जड्याहा श्रीमानले साह्रै दुख दिन थालेपछि उनी त्यहाँ गएकी थिइन् । “रातदिन मारेपछि के गर्नु र ?” उनले सुनाइन् ।

तर उनको सुत्केरी हुने अन्तिम महिना चल्दै गर्दा त्यहाँबाट उनलाई घर फर्काइदिए । तागत हुँदा सम्म जसको घरमा काम गरिन् , जहाँ गइन त्यसैले नै जान भनेपछि हेलै गर्ने, पिट्ने र खान नपाइने भएपनि आफ्नो घर सम्झनु वाहेक उनीसँग के नै विकल्प थियो र ?

लकडाउनको समय घर आउँने कसरी ? नेपालगञ्जमा निकै कडाइ गरिएको थियो । उनी गाउँतिरको बाटो हुँदै हिडेर २ दिनमा घरमा आइन । उनी आउने वित्तिकै स्वास्थ्य शाखालाई भारतबाट आएको महिला भनेर गाउँलेले खवर गरे । “घरभित्र पनि पस्न पाएकी थिइन” उनको श्रीमान तिलकराम यादवले भने ।

स्वास्थ्य शाखाका कर्मचारीहरुले विहिवार राती नै उनलाई क्वारेन्टाइनमा राखे । शुक्रवार विहान व्यथाले च्याप्न थालेपछि उनलाई प्रादेशिक अस्पतालमा ल्याइएको थियो ।

अबको चिन्ता

घरमा वस्ने ठाउँ छैन श्रीमान यस्तो छन् कसरी पाल्ने यिनी थपिएका दुइजना ?”

अनिताका श्रीमानलाई काम गरेको पैसाले उनी आफैलाई पनि खान पुग्दैन । उनी हरेक समय नशामा हुन्छन् । २ छोरा र १ छोरी घरमा छन् । ठूलो छोरी काम गर्न भारतमा गएकी छिन् । घरमा खानको लागि केही पनि छैन । वच्चाहरु साना भएकाले स्याहार्ने पनि कोही छैन । दाङ्गमा वस्न थालेको १५ वर्ष जति भएपछि उनीहरुका यहाँ आफन्तीहरु छैनन् ।

“के गरेर हुर्काउने हो ? एकैपटक दुइवटा जन्मिए” अनिता यादवको अनुहारमा उदासी दौडिरहेको छ । वच्चा जन्मन थालेपछि उनलाई बन्दको अवस्थामा पनि घरमा पठाउने माइतीले सहयोग गर्लान् भन्ने कत्ति पनि आशा छैन । “ घरमा वस्ने ठाउँ छैन श्रीमान यस्तो छन् कसरी पाल्ने यिनी थपिएका दुइजना ?” उनले निकै उदाश भएर भनिन् ।

एकातिर अभावको पिडा सँगै अर्कातिर गाउँलेहरुको अपमान पनि उनले सहनुपर्नेछ । “इण्डियाबाट श्रीमती आएकी छ भनेपछि सबै गाउँलेहरुले हामीलाई गाली गर्न थालेका छन्” तिलकराम ले भने ।

सहारा दिए डा. किशोरले

जन्मिएका दुबै नानीहरुको तौल निकै कम भएपछि उनीहरुलाई एनआइसियुमा राखेर उपचार गर्ने भयो । स्वास्थ्य शाखाबाट उनलाई जानकारी हुने वित्तिकै उनी सहयोगका लागि राजी भए । “ल्याउनुहोस् सबै उपचार मैले गर्दछु” डा. खत्रीले भने । उनकै पहलमा अहिले आमा र दुई छोरीको उपचार भइरहेको छ । “धन्न क्वारेन्टाइन भनेर अस्पताल ल्याएर बाँचियो नत्र गाउँ मै ज्यान जाने रहेछ” अनिता यादवले झनै डरलाग्दो कुरा पनि थपिन् “ जँगलमै हिड्दा हिड्दै वच्चा जन्मेको भए ”

प्रतिक्रिया दिनुहोस