भारतमा कोरोना संक्रमित ५२ हजार नाघे

बैशाख २५, २०७७

भारतमा बुधबारसम्म कोरोना भाइरस संक्रमितको संख्या ५२ हजार नाघेको छ। ११ दिनको अवधिमा यो संख्या दोब्बर भएको हो।

योसँगै भारतमा अर्थतन्त्रलाई असर नपार्ने हिसाबले सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णयले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढाएको छ।

बुधबार मात्र भारतमा ३ हजार ४ सय ९० नयाँ संक्रमित फेला परेका छन् भने ९८ जनाको मृत्यु भएको छ।

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ६७ पुगेको छ। यस्तै संक्रमणका कारण १ हजार ७ सय ११ जनाको ज्यान गएको छ।

पछिल्लो १० हजार संक्रमित तीन दिनको अवधिमा भेटिएका हुन्।

भारतमा संक्रमित संख्या २० हजार देखि ३० हजार पुग्न सात दिन लागेको थियो भने त्यो संख्या ३० देखि ४० हजार पुग्न जम्मा पाँच दिन लाग्यो।

यस्तै संक्रमित संख्या १० हजार पुग्न झन्डै ४३ दिन लागेको थियो।

भारतमा पहिलोपटक जनवरी महिनामा ३ जनामा कोरोना पुष्टि भएको थियो।

पछिल्लो पाँच दिनमा त्यहाँ औसतमा २ हजार ९ सय जनाको दरले नयाँ संक्रमित थपिदैं गएका छन्।

महाराष्ट्र, गुजरात र दिल्ली कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्।

महाराष्ट्रमा बुधबार १ हजार २ सय ३३ नयाँ केस पुष्टि भएसँगै त्यहाँ संक्रमित संख्या १६ हजार ७ सय ५८ पुगेको छ।

महाराष्ट्रलाई गुजरातले पछ्याइरहेको छ। त्यहाँ बुधबारसम्म संक्रमित संख्या ६ हजार ६ सय २५ पुगेको छ।

बुधवार दिल्लीमा ४ सय २८ नयाँ संक्रमित भेटिएका छन्। अब त्यहाँको कुल संक्रमित संख्या ५ हजार ५ सय ३२ भएको छ।

भारतमा शनिबारसम्म १० लाख बढीको कोरोना परीक्षण गरिएको छ।

अप्रिल १ सम्म भने ३८ हजार ९ सय १४ जनाकाे परिक्षण भएको थियो। भारतीय स्वास्थ्य मन्त्रालयले चाँडै नै परीक्षण दर दैनिकी १ लाखमा पुर्याउने जनाएको छ। ‍

प्रतिक्रिया दिनुहोस