नेकपाको सचिवालय बैठक सुरु, प्रचण्डको आसन परिवर्तन

बैशाख २०, २०७७

काठमाडौं, वैशाख २० : सत्तासीन दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ ६ बजेदेखि सचिवालयको बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आसन पनि परिवर्तन गरिएको छ।

यसअघि सचिवालयका अन्य सदस्यहरुकै लाइनमा बस्दै आएका अध्यक्ष प्रचण्डलाई शनिबारको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीकै छेउको कुर्सीमा बस्ने व्यवस्था गरिएको छ। दुवै पार्टीको समान हैसियतका अध्यक्ष भएपनि यसअघिका बैठक संयुक्त अध्यक्षतामा बसेपनि अध्यक्ष प्रचण्डलाई सचिवालयका अन्य सदस्यहरुकै लहरमा राख्ने गरिएको थियो।

बुधबार बसेको सचिवालय बैठकमा प्रचण्डले आसनका विषयमा पनि कुरा उठाएका थिए।

पछिल्लो समय पार्टीभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीलाई राजीनामा दिन चौतर्फी दबाब दिइएको छ। बुधबारको सचिवालय बैठकमा अध्यक्ष प्रचण्डसहित वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र  प्रवक्ता नारायाणकाजी श्रेष्ठले राजीनामा दिन प्रधानमन्त्री ओलीलाई भनेका थिए।

पछिल्लो समय पार्टीभित्र प्रधानमन्त्री ओलीको कार्यशैलीलाई लिएर विवाद हुँदै आएको छ। शनिबारको सचिवालय बैठकले पार्टीभित्रको आन्तरिक समस्या समाधानको प्रयास गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस