नेपालगञ्जमा कोरोना संक्रमित देखिएसँगै तुलसीपुरका नाकामा कडाई

बैशाख २०, २०७७

तुलसीपुर । नेपालगञ्जमा कोरोना संक्रमित देखिएसँगै तुलसीपुर उपमहानगरपालिकाले नेपालगञ्जबाट आउने नाकामा कडाइ गर्ने भएको छ । नेपालगञ्जबाट आउने मुख्य नाकामा रुपमा रहेको फुलवारीको दमारगाउँमा चौविसै घण्टा कडा चेकजाँच गरिने भएको हो ।


कोरोना विपद् व्यवस्थापन समितिको आयोजनामा भएको वैठकमा खाद्यान्न, पेट्रोलियम पदार्थ, एम्बुलेन्स लगायतका सवारीहरुलाई कडा चेकजाँच गर्ने निर्णय गरेको कार्यवाहक नगरप्रमुख नवराज लामिछानेले वताए । उनले सवारी चालक र सहचालकले सुरक्षा विधि अनिवार्य रुपमा पालना गरेको भए मात्रै प्रवेश गर्न दिइने पनि वताए । “मेडिकल या एन १९ मास्क प्रयोग भएको या नभएको साथै अन्य सुरक्षा विधि पुरा गरेको या नगरेको सबै चेकजाँच गरेर मात्रै प्रवेश दिइनेछ ” जनस्वास्थ्य शाखाका अधिकृत विमल केसीले जानकारी दिए ।

वैठकले गोठीखोला, वालापुर र वेलझुण्डीमा पनि चेकजाँच गर्ने निर्णय गरेको हो । “बाहिरबाट आउन हरेकलाई शंका लागेमा क्वारेन्टाइनमा राख्ने व्यवस्था समेत गरिनेछ ” केसीले वताए । उनले क्वारेन्टाइन र सामुदायिक क्वारेन्टाइनलाई थप व्यवस्थित वनाएर अगाडी वढाउने निर्णय भएको जानकारी दिए ।

यसैविच वैठकमा नेपालगञ्ज जाने एम्बुलेन्समा कडाइ गरिने पनि निर्णय गरिएको छ । “चालकले अनिवार्य पिपिइ लगाएको र विरामीसँग पार्टेसन गर्नुपर्ने छ ” जनस्वास्थ्य शाखाका प्रमुख ओमप्रकाश न्यौपानेले जानकारी दिए । विरामीले पनि २ जनाभन्दा वढि कुरुवा लैजान नपाउनुका साथै अस्पतालमा वसेर आएकालाई होम क्वारेन्टाइनमा राख्ने निर्णय गरिएको पनि प्रमुख न्यौपानले जानकारी दिए ।

अबदेखि नेपालगञ्ज जाने र त्यहाँबाट आउने हरेकको रेकर्ड राखिने पनि भएको छ । कार्यवाहक नगरप्रमुख लामिछानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सुरक्षाकर्मी, एम्वुलेन्स चालक र अन्य सरोकारवालको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस